नेपाली क्रिकेटरलाई वाटमोरको प्रशिक्षण
काठमाडौं: नेपाली क्रिकेटरलाई अस्ट्रेलियन पूर्वक्रिकेटर तथा विश्वकप विजेता श्रीलंकाका पूर्वप्रशिक्षक डेभ वाटमोरले प्रशिक्षण दिने भएका छन्।
वाटमोरले बुधबारदेखि नेपाली क्रिकेटरलाई १५ दिने प्रशिक्षण दिने जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमा दिइयो। वाटमोरलाई नेपालमा ब्याट एन्ड बल फाउन्डेसन (बिटुएफ) नामक संस्थाले ल्याएको हो।
सोमबार नै वाटमोरले बिटुएफको पनि औपचारिक उद्घाटन गरेका छन्। नेपाली क्रिकेट विकासमा सहयोग पुर्याउने उद्देश्य राखेको बिटुएफले वाटमोरको प्रशिक्षणसँगै औपचारिक कामको थालनी गर्नेछ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को अनुमति र क्रिकेट खेलाडी संघ नेपालसँग सहकार्य गरी बिटुएफले वाटमोरलाई नेपाल ल्याएको हो । वाटमोर शुक्रबार नेपाल आएका हुन्। वाटमोरले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई दुई साता विशेष प्रशिक्षण दिनेछन्।
उनले दुई दिन नेपाली प्रशिक्षकसँग अन्तरक्रिया पनि गर्नेछन् । नेपाली क्रिकेट टोली अहिले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्यासँगको खेलका लागि तयारी गरिरहेको छ।
वाटमोरको प्रशिक्षणमा यू-१९ टोलीका खेलाडी पनि रहनेछन् । वाटमोरले नेपाल आउन पाउँदा अत्यन्तै खुसी लागेको बताए। 'विश्व क्रिकेटमा नेपाल एसोसिएट राष्ट्रहरूमध्ये उत्कृष्ट देश हो। यहाँ मैले आफ्नो क्षमता र अनुभव खेलाडीलाई बाँड्न पाउने कुराले धेरै उत्साहित भएको छु । नेपाल टेस्ट नखेल्ने देशमध्येको सरप्राइज टोली हो', वाटमोरले भने।
वाटमोरले अस्ट्रेलियाबाट सात टेस्ट र एउटा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। पूर्वअस्ट्रेलियन टेस्ट क्रिकेटर वाटमोरकै प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को विश्वकप जितेको थियो।
उनले पाकिस्तान, बंगलादेश र जिम्बावे तथा आईपीएलमा कोलकाता नाइट राइडर्सको प्रशिक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। वाटमोरको उपस्थितिमा ब्याट एन्ड बल फाउन्डेसनको सुरुआत गरिनु खुसीको क्षण भएको फाउन्डेसनका अध्यक्ष पारस शाक्यले बताए।