९० दिन पुग्ने इन्धन भण्डारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९० दिनलाई पुग्ने इन्धन भण्डारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा भएको भेटमा आपूर्ति र अर्थ मन्त्रालयसहित नेपाल आयल निगमका पदाधिकारीलाई पेट्रोलियम पदार्थको भण्डारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।
मन्त्रालय र आयल निगमका पदाधिकारीलाई ९० दिनलाई पुग्ने गरी पेट्रोल, ग्याससहितका पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम भण्डारणस्थल निर्माणका लागि आवश्यक वजेटको व्यवस्था गरिने पनि जानकारी गराएका छन्। प्रधानमन्त्रीले अमलेखगन्ज वा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य यथाशक्य सक्ने गरी काम अघि बढाउन समेत निर्देशन दिएका छन्।
छोटो समयमै जनतालाई राहत दिने गरी के गर्न सकिन्छ भन्ने विषयमा पहल गर्न समेत मन्त्रालय र निगमका अधिकारीलाई निर्देशन दिएका छन्।