झुन्डिएको अवस्थामा भेटिएका वृद्धको मृत्यु शंकास्पद
विराटनगर : आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएका विराटनगर ४ पिपलचोकका ६० वर्षीय राधाप्रसाद घिमिरेको मृत्यु शंकास्पद बन्दै गएको छ।
पङ्खामा तन्नाको पासो लगाएर झुन्डिएको अवस्थामा घिमिरेको शव मंगलबार भेटिएको थियो। प्रहरीले घिमिरेको मृत्युलाई हत्या वा आत्महत्या यसै भन्न सकिने अवस्था नभएको बताएको छ ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले दुवै हात र खुट्टामा चोट रहेको अवस्थामा शव भेटिएकाले मृत्यु शंकास्पद बनेको छ । ‘दुवै हात र बायाँ खुट्टामा चोट छ,’ थापाले भने, ‘घटनास्थल रगतले लतपतिएको भएकाले हत्या हो की आत्महत्या भन्न सक्ने अवस्था छैन ।’
डिएसपी थापाका अनुसार शव पोष्टमार्टमको रिपोर्ट नआएसम्म घटनाबारे केही भन्न सक्ने अवस्था छैन् । घिमिरेको शव पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा लगिएको छ ।
घटनास्थलबाट प्रहरीले एउटा डायरी बरामद गरेको छ । डायरीमा छोराबुहारीसँग सम्बन्ध राम्रो नभएको उल्लेख गरिएको प्रहरीले जनाएको छ । घिमिरेका एकमात्र छोरा, बुहारीसँगै विराटनगरको मधुमारास्थित ससुराली बस्दै आएका छन् ।
प्रहरीलाई स्थानीयले दिएको जानकारी अनुसार केहीदिन अघि छोराबुहारीसँग घिमिरेको झगडा भएको थियो । त्यसलगत्तै छोरा आफ्नी श्रीमतीसहित ससुरालीमा बस्दै आएका छन् ।
श्रीमती भारतको सिलिगुडीमा उपचाररत रहेको र छोरी अष्ट्रेलियामा रहेका कारण वृद्ध घिमिरे मात्र घरमा एक्लै बस्दै आएका थिए । उनी जिल्ला मालपोत कार्यालयका अवकाश प्राप्त नायब सुब्बा हुन् ।