ब्याच, माला र खादाबिनै सभा !

ब्याच, माला र खादाबिनै सभा !

पोखराः अतिथिले भरिभराउ मञ्च, घाँटी ढाकिने गरी माला र खादा, छातीमा ठुल्ठूला ब्याच, धेरै वक्ताको पट्यारलाग्दो भाषण ! औपचारिक कार्यक्रममा देखिने दृश्य हुन् यी । राजनीतिक पार्टीका सभा, सम्मेलनमा ‘बिरालो बाँध्ने' यस्तो परम्परा अझै हट्नसकेको छैन ।

मंगलबार पोखरामा भएको एउटा कार्यक्रम भने केही फरक देखियो । मञ्चमा एमाले उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, पूर्वसभामुख सुवास नेम्बाङ, गोकर्ण बिष्ट, योगेश भट्टराई, रवीन्द्र अधिकारीलगायत नेता थिए । उनीहरूको गलामा न घाँटीसम्म छोपिने माला थियो, न त खादाको खात ! कसैका छातीमा ब्याच पनि टाँसिएको थिएन ।

एमाले मातहतका २० जनवर्गीय संगठनको केन्द्रीय भेला तथा प्रशिक्षण कार्यक्रमको अन्तिम दिन मंगलबार पोखरा घोषणापत्र जारी गर्ने कार्यक्रममा उनीहरू सहभागी भएका थिए । माघ ९, १० र ११ गते भएको भेलाको ‘म्यान्डेट' थियो- औपचारिक कार्यक्रमलाई तडकभडकमुक्त बनाउने । भेलाको ‘म्यान्डेट' अनुरूप एमाले मातहतका जनवर्गीय संगठनले सभासम्मेलनमा ब्याच, माला र खादा प्रयोग नगर्ने भएका छन् । उनीहरूले २० बुँदे पोखरा घोषणापत्र जारी गर्दै औपचारिक कार्यक्रमलाई ‘भद्दा र खर्चिलो' नबनाउने प्रतिबद्धता जनाएका छन् ।

राजनीतिक पार्टीले मञ्चमा ठूलो संख्यामा अतिथिको भीड थुपार्ने तर दर्शकदीर्घा खाली हुने अवस्था उत्पन्न गर्ने पनि पुरानै रोग हो । तर एमालेका जनवर्गीय संगठनले भने प्रमुख अतिथि, सभाध्यक्ष र सीमित वक्तालाई मात्रै मञ्चमा राख्ने घोषणा गरेका छन् । घोषणापत्रमा भनिएको छ, ‘मञ्चमा ठूलो संख्यामा अतिथिको भीड थुपार्ने र आसनग्रहणमा मूल्यवान् समय खेर फाल्ने बोझिलो र खर्चिलो कार्यशैली सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।'


एमालेका जनवर्गीय संगठनले २० बुँदे पोखरा घोषणापत्र जारी गर्दै औपचारिक कार्यक्रमलाई ‘भद्दा र खर्चिलो' नबनाउने प्रतिबद्धता जनाएका छन् ।

घोषणापत्र सार्वजनिक गर्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले सीमित वक्तालाई मञ्चमा राखी आमन्त्रित अतिथिलाई दर्शकदीर्घामै राखेर कार्यक्रम सञ्चालन गर्ने नयाँ संस्कार विकास गर्न खोजेको बताए ।जिल्लामा हुने कार्यक्रममा सहभागी हुन पार्टी नेताहरू विमानमार्फत पुग्छन् । नेता पुग्नुअघि नै विमानस्थलमा हातभरि माला, फूल र खादा लिएर कार्यकर्ताको ठेलमठेल भइसकेको हुन्छ । नेताको चाप्लुसी गर्ने पुरानो परम्परा अझै कायमै छ ।

पोखरा भेलाबाट एमाले जनवर्गीय संगठन नेतालाई स्वागत गर्ने नाममा विमानस्थल र बसपार्कमा अनावश्यक भीड जम्मा हुन नदिन सहमत भएका छन् । ‘व्यक्तिगत रूपमा नजिकिने आधार खडा गर्ने, अनावश्यक सामीप्य दर्साउने र त्यसैलाई सम्मान तथा मर्यादा गरेको ठान्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सहमत छौं', घोषणापत्रमा उल्लेख छ ।

त्यसो त एमाले नेता रवीन्द्र अधिकारी आफूले पहिलेदेखि नै विमानस्थलमा कार्यकर्ताको लाम लाग्ने अभ्यासलाई प्रश्रय नदिएको बताउँछन् । उनी भन्छन्, ‘फूलमाला लिएर भेट्न गएको आधारमै व्यक्तिको मूल्यांकन गर्ने गलत अभ्यासलाई रोक्नुपर्छ ।' औपचारिक कार्यक्रमलाई खर्चिलो र बोझिलो नबनाउने पोखरा घोषणा कार्यान्वयनमा केही चुनौती देखिए पनि निरन्तर अभ्यास गर्दै जानुपर्ने उनको धारणा छ ।

‘सरल र आडम्बरबीच यसले ध्रुवीकरण ल्याउँछ', उनी भन्छन्, ‘अन्त्यमा सरलता नै अगाडि आउनेछ ।' पोखरा घोषणाले अनावश्यक तडकभडक गर्नेलाई ‘करेक्सन' गर्ने अधिकारी बताउँछन् ।  केन्द्रीय मोर्चा संगठन विभाग इन्चार्ज गोकर्ण बिष्टले भेलाले भद्दा समिति बनाउने गलत अभ्यासलाई अन्त्य गर्ने निर्णय गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.