ग्रामीण भेगका स्वास्थ्यचौकीमा औषधि अभाव
गोरखाः जिल्लाका ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा औषधि रित्तिएको छ । स्वास्थ्य चौकीका गोदाम रित्तिएपछि बिरामी जाँचेर औषधि किन्न मेडिकलतिर पठाउने गरेको आरुआर्बाङ स्वास्थ्य चौकीका प्रमुख राजकुमार रजकले बताए ।
अति आवश्यक केही औषधि भने छिमेकी स्वास्थ्य चौकीबाट सापट गरेर चलाउने गरेको उनले बताए । ‘औषधि छैन । हेल्थपोस्ट खोलेर बस्ने मात्रै हो', रजकले अन्नपूर्णसँग भने, ‘बिरामीले १० दिन खानुपर्ने औषधि दुई दिनका लागि दिएर पठाउँछु । बाँकी मेडिकलतिर किन्नु भन्ने गरेको छु ।'
छिमेकी स्वास्थ्य चौकीबाट सरसापट र ऐंचोपैंचो गर्ने गरेको भच्चेक स्वास्थ्यचौकीका प्रमुख सुरेश दवाडी बताउँछन् । ‘हाम्रोमा सिटामोल अभाव हुँदा केराबारीबाट पैंचो ल्याउँछौं । उता मेट्रो चाहियो भने हामीकहाँबाट लैजान्छन् ।
धेरै भयो यसरी नै ऐंचोपैंचोबाट चलिरहेको', दवाडी भन्छन्, ‘इलाका स्तरको त्रैमासिक बैठकमा पटकपटक औषधि अभावका बारेमा टिपेर लान्छन् तर औषधिको अभाव जस्ताको तस्तै छ ।' पाँच हजार ट्याब्लेट चाहिएको छ भने पाँच सयमात्र आपूर्ति हुँदै आएको उनले बताए ।
भूकम्पपछि बारपाक, लाप्राक, गुम्दा, उहिया, लापुलगायत गाविसमा फैलिएको छाला रोग औषधि अभावले नियन्त्रण हुन नसकेको लाप्राक स्वास्थ्यचौकीकी प्रमुख अनर्ता गुरुङले बताइन् ।
‘हावा, पानी र वातावरण फोहोर भएर होला छालाको रोग भूकम्पको बेलादेखि फैलिएको हो, अझै नियन्त्रण भएको छैन', उनी भन्छिन्, ‘चिसोले टाउको दुख्ने, रुघाज्वरो आउने बिरामी पनि आउँछन् । तर औषधि छैन । १० ट्याब्लेट दिनेलाई दुईवटा दिएर अरूचाहिँ मेडिकलमा किन्नू भनेर पठाउँछु ।'
औषधि नपाउँदा गाउँले रिसाएर फर्कने गरेको उनको अनुभव छ । ‘औषधि छैन भनेपछि बिरामी र उनीहरूका आफन्त रिसाउँछन्', उनी भन्छिन्, ‘जिल्लामै छैन भनेर सम्झाइबुझाइ गरेपछि चित्त बुझाएर फर्कन्छन् ।'
औषधि नभए पनि बिरामी जाँची प्रेस्किप्सन भने पूरै लेखेर पठाउने गरेको च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले बताए । ‘पूरा मात्रा औषधि दिनचाहिँ सक्दैनौं तर प्रेस्क्रिप्सनमा चाहिँ पूरै लेखिदिन्छौं', पाण्डेले भने, ‘औषधि उहाँहरूले प्राइभेट फर्मबाट किनेर लिनुहुन्छ ।'
दैनिक सरदर ६० जना बिरामी आउने स्वास्थ्यचौकीमा पारासिटामोल, डाइजिन, मेट्रो, जीवनजलजस्ता अति आवश्यक औषधि पनि सकिएको उनले बताए । ‘सिटामोल, डाइजिन, मेट्रोजस्ता नभै नहुने औषधिचाहिँ मसलन्द खर्चको पैसाले किनेर पनि चलाएको छु', उनले भने ।
औषधि आपूर्ति गराउने निकायको कमजोरीका कारण गाउँमा सिटामोल पनि नपाइने अवस्था आएको उनको निष्कर्ष छ । ‘हामी धेरै सानो निकायका मान्छे हौं । हाम्रो विश्लेषण अपुग हुनसक्छ तर औषधि आपूर्ति गराउने निकायको अक्षमताका कारण यो अवस्था आएको हो', पाण्डेले भने ।
मेडिकल मोटाए
सरकारीमा औषधि नभएपछि सरकारी स्वास्थ्यचौकीका कर्मचारीले बिरामीलाई निजी मेडिकलमा पठाउने गरेका छन् । ‘पाँच दिनका लागि दिनुपर्ने औषधि दुई दिनका लागि दिएर बाँकी औषधि मेडिकलबाट किनेर खानू भनेर पठाउँछु', आरुआर्बाङ स्वास्थ्य चौकीका प्रमुख रजक भन्छन्, ‘सिटामोल पनि छैन, जीवनजल पनि छैन । बिरामीलाई सीधै भन्छु, यहाँ छैन किनेर खानू ।'
भएको अलिअलि पनि जिल्ला जनस्वास्थ्य कार्यालयबाट नभै आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रबाट मागेर काम चलाएको उनले बताए । ‘जिल्लामा लेखेर पठाउँदा पाँच हजार माग गर्छु, दुई सयको एउटा बट्टा दिएर पठाउँछन् । एक महिनालाई पनि पुग्दैन ।'
अघिल्ला वर्षहरूमा वर्षमा २० हजार ट्याब्लेट सिटामोल ल्याउने गरेकोमा यो वर्ष पुगनपुग पाँच हजार ट्याब्लेट ल्याउन सफल भएको उनी बताउँछन् । गुम्दा र लापु गाविसका स्वास्थ्य चौकी भने गत वर्ष भूकम्पका बेला एनजीओ र आईएनजीओले दिएको औषधिले चलेका छन् ।
हाम्रोमा सिटामोल अभाव हुँदा केराबारीबाट पैंचो ल्याउँछौं । उता मेट्रो चाहियो भने हामीकहाँबाट लैजान्छन् । धेरै भयो ऐंचोपैंचोबाट चलिरहेको ।सुरेश दवाडी भच्चेक स्वास्थ्यचौकी प्रमुख
‘भूकम्पपछि आएका संस्थाले छाडेर गएको राहत औषधिले केही महिना त चल्यो । त्यसपछि अभावको अभावै छ । सधैं लेखेर पठाउँछु, औषधि आउँदैन', गुम्दाकी स्वास्थ्यकर्मी मन्दानी गुरुङ भन्छिन्, ‘एकफेर आफैं पनि गएकी थिएँ, जिल्लामा पनि रहेनछ । खै किन हो ? ' विशेषगरी गाउँमा अपर्झट हुने चोटपटक, घाउखटिरामा लगाउने र कोल्ड डायरियाको औषधिको समस्याले सताएको उनको अनुभव छ ।
एनजीओले दिएको औषधि पुर्याइपुर्याई चलाइरहेको लापु स्वास्थ्यचौकीका इन्चार्ज जितबहादुर गुरुङले बताए । ‘दिनमा कम्तीमा पनि १५ जना बिरामी आउँछन् । एकजनालाई १० ट्याब्लेट सिटामोल दिनुपर्छ । दिनमै सय ट्याब्लेट जान्छ । बल्लबल्ल महिनामा एकफेर जिल्ला जाँदा दुई सय पिस रहेको एउटा बट्टा दिएर पठाउँछन्, कसरी पुग्छ ? ' उनी भन्छन्, ‘गाउँले रिसाएर चौपट हुन्छ । सम्झाउँदासम्झाउँदा हैरान ।'
जिल्लाका ७५ वटै स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भए पनि कतिपय स्वास्थ्यकर्मी भने समस्या सुनाउन चाहँदैनन् । जिल्लाका हाकिमले थर्काएको भन्दै उनीहरू यथार्थ कुरा सुनाउन डराएका हुन् । ‘पत्रकारलाई भन्यो भनेर केही दिनअघि सबै इन्चार्जको भेलामा हाकिमसाबले यस्तो थर्काउनुभयो', एक स्वास्थ्यकर्मीले भने, ‘जे भन्नुपर्ने हो हाकिमसाबले नै भन्नुहुन्छ रे अबदेखि ।'
जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रमुख केदरराज पराजुली औषधि अभाव भएको अस्वीकार गर्छन् । उनी भन्छन्, ‘बाहिर हल्ला भएजस्तो चरम अभाव पनि होइन । पर्याप्त छ पनि म भन्दिनँ । एकदुई दिनभित्रै ठेक्काप्रक्रिया पूरा हुन्छ । त्यसपछि औषधि आपूर्ति सहज हुनेछ ।'