टिपिपी सम्झौताबाट बाहिरियो अमेरिका
वासिङटनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ट्रान्स प्यासिफिक पार्टनरसिप (टिपिपी) व्यापार सम्झौताबाट औपचारिक रूपमा हटाएका छन् । ट्रम्पले १२ देशको व्यापार सम्झौताको वार्ता प्रक्रियाबाट बाहिरिने आदेशमा हस्ताइार गरेका छन् । उक्त सम्झौता पूर्वराष्ट्रपति बाराक ओबामाको निकै ठूलो अन्तर्राष्ट्रिय व्यापार परियोजना थियो ।
ट्रम्पले टिपिपीबाट अमेरिका बाहिरिने आदेशमा हस्ताक्षर गरेलगत्तै भने, ‘हामीले लामो समयदेखि यसका विषयमा कुरा गर्दै आएका थियौं । यो अमेरिकी श्रमिकका लागि निकै राम्रो अवसर हो ।' ट्रम्पले आफ्नो प्रचार अभियानमा यसलाई खारेज गर्ने वचन दिएका थिए । रिपब्लिकनका तर्फबाट सिनेटर जोन म्याकेनले भने यसलाई ट्रम्पको गलत निर्णय भनेर आलोचना गरेका छन् ।
ट्रम्पले निर्वाचन प्रचारका बेला टिपिपीको जस्तो मुक्त व्यापार सम्झौताबाट अमेरिकी श्रमिक र निर्माण क्षेत्रका लागि हानिकारक भएको जिकिर गर्दै आएका थिए । ट्रम्पले राष्ट्रपति बनेलगत्तै संरक्षणवादी व्यापार नीति लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
टिपिपी सम्झौता खारेजीबाट अमेरिकी व्यापार नीतिमा नौलोपन देखिने स्पष्ट भएको छ । ट्रम्प प्रशासनको पहिलो कारबाहीबाट अमेरिकाको व्यापार नीतिमा निकै परिवर्तन हुने संकेत मिलेको छ । उक्त सम्झौता ओबामाको कार्यकालमा सुरु भएको थियो । उक्त सम्झौता अमेरिकी कंग्रेसले पनि पारित गरेको थिएन । यो सम्झौताको रिपब्लिकन र केही डेमोक्र्याट सिनेटरले पनि विरोध गरेका थिए ।
सात वर्षको लामो छलफलपछि गत वर्ष फेब्रुअरी ४ तारिखमा न्युजिल्यान्डमा टिपिपी सम्झौतामा हस्ताक्षर गरिएको थियो । ट्रम्पका अनुसार यो सम्झौता अमेरिकी रोजगार र निर्माण क्षेत्रका विपक्षमा थियो । यसअघि राष्ट्रपति ट्रम्पले शपथ ग्रहणलगत्तै ओबामा केयरका विपक्षमा हस्ताक्षर गरेका थिए । यो सम्झौतालाई ओबामाले एसियामा अमेरिकी प्रभावको रूपमा व्याख्या गर्दै आएका थिए ।
ट्रम्पले सोमबार अमेरिकी कम्पनीका मुख्य कार्यकारी अधिकृत (सिइओ) सँग भेट गरेका थिए । उनले करमा ठूलो मात्रामा कटौती गरिने वचन दिएका छन् । उनले कतिपय अवस्थामा ७५ प्रतिशतसम्म कर कटौती गरिने आश्वासन दिएका छन् । उनले अमेरिकाका ठूला १२ वटा कम्पनीका सिइओसँग अमेरिकामा रोजगारी बढाउन आग्रह गरेका छन् ।
अमेरिकाभन्दा बाहिर लगेर उत्पादन गर्ने अमेरिकी कम्पनीलाई भने सीमा कर लगाइने स्पष्ट पारे । उनले भने, ‘हामीले मध्यम वर्ग र कम्पनी दुवैका लागि कर कटौती गर्दै छौं ।' उनले अमेरिकामा अधिक रोजगारका अवसर निर्माया गर्नुपर्नेमा जोड दिएका छन् ।
स्प्यानिस भाषाको वेबसाइट हटाइयो
अमेरिकी राष्ट्रपतिमा ट्रम्पको कार्यकाल सुरु भएसँगै ह्वाइट हाउसको स्प्यानिस भाषामा रहेको वेबसाइट हटाइएको छ । अमेरिकामा स्प्यानिस भाषीको ठूलो वर्चस्व रहेको छ । क्यानडा र ब्राजिल बाहेक दुवै अमेरिकी महादेशमा स्प्यानिस भाषको प्रभुत्व छ ।
ट्रम्पले उक्त वेबसाइट हटाउन लगाएपछि सोमबार स्पेनका मन्त्रीहरूले ट्रम्प प्रशासनको आलोचना गरेका छन् । यसअघि स्प्यानिस भाषामा रहेको ह्वाइट हाउसको वेबसाइट हटाएपछि उक्त पेज खोल्दा ‘तपाईंले खोल्न खोज्नु भएको पेज भेटिँदैन' भन्ने सूचना मात्रै आउने बनाइएको छ ।
स्पेनका मन्त्रीहरूले अमेरिकामा करिब पाँच करोडले स्प्यानिस भाषा बोल्ने र विश्वभर करिब ७० करोड मानिसले स्प्यानिस भाषा बोल्ने भए पनि उक्त वेबसाइट बन्द गरिनु आश्चर्यको विषय भएको बताएका छन् । स्पेनका संस्कृति मन्त्री इनिगो मेन्डेज डे भिगोले स्पेनी भाषाको वेबसाइट हटाइनु राम्रो नभएको बताउँदै भने, ‘यसले अमेरिकामा स्प्यानिस भाषाको प्रयोग न त रोकिने छ न यसको प्रसिद्धिमा नै कमी आउने छ ।'
‘कुनै पनि समाजमा हुने ज्ञान र भाषाको प्रयोगले उक्त देशको अन्य मुलुकसँगको सम्बन्ध अनि सांस्कृतिक सम्बन्ध थप मजबुत गराउन मद्दत गर्छ, । त्यसैले वेबसाइट हटाउने काम गलत भएको छ', डे भिगोले भने ।