एउटै कोठामा डेढ सय विद्यार्थी

एउटै कोठामा डेढ सय विद्यार्थी

बैतडीः मणिलेक मावि मेलौलीका कक्षा ११ का छात्र जयराज ओझा कक्षाकोठाबाट पटकपटक भित्रबाहिर गर्छन् । कक्षाकोठामा शिक्षकले पढाउँदा पनि उभिएर सुन्नुपर्ने बाध्यता छ उनलाई । ओझा मात्र होइन, उनका सहपाठीको नियति पनि यस्तै छ ।

विद्यालयमा विद्यार्थी अनुपातअनुसार कक्षाकोठा नहुँदा कक्षा ११ का एक सय ५५ जना विद्यार्थी एउटै कोठामा बस्छन् । भएन भने कहिलेकाहीँ कक्षा १२ का विद्यार्थीसमेत सोही कक्षामा । जिल्लाको तल्लासोराड क्षेत्रको केन्द्रका रूपमा रहेको मणिलेक मावि उक्त क्षेत्रको पुरानो विद्यालय हो । तर पनि भवन अभावमा विद्यार्थीलाई कहिले एउटै कोठा, कहिले चौरमा राखेर पढाउनुपर्ने बाध्यता छ ।

कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा कक्षाकोठा निकै कम रहेको प्राचार्य देवदत्त कलौनीले बताए । ‘शिक्षण सिकाइ प्रभावकारी बनाउन एउटा कक्षाकोठामा बढीमा ४० जना विद्यार्थी हुनुपर्छ । तर हाम्रोमा कक्षाकोठा नहुँदा डेढ सय विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपरेको छ', उनले भने, ‘ठाउँ पाएका विद्यार्थी बस्छन्, नपाएका उभिएरै सुन्छन् । कक्षाको एक पिरियड विद्यार्थीको हाजिरी गर्नमै बित्छ ।' कहिलेकाहीँ खुला चौरमा राखेर अध्यापन गर्नुपर्ने बाध्यता रहेको उनले बताए । छ तर पानी परेको बेला झन समस्या हुन्छ ।'

मणिलेक माविमा अहिले एक हजार ४० जना विद्यार्थी अध्ययनरत छन् । कक्षा १ देखि १२ सम्म कक्षाकोठाको अभावमा शिक्षण सिकाइ प्रभावित भएको प्राचार्य कलौनीको भनाइ छ । ‘कक्षा ११ र १२ मा विज्ञान संकाय, सिभिल इन्जिनियरिङको पनि पढाइ हुन्छ । फ्याकल्टीअनुसार कक्षाकोठाको व्यवस्थापन गर्न गाह्रो भएको छ', उनले भने ।

२००४ सालमा स्थापना भएको विद्यालयमा प्राविधिक शिक्षाको पढाइ सुरुभएसँगै बैतडीसहित छिमेकी डडेल्धुराका पनि केही विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यार्थी अनुपातमा कक्षाकोठाको अभावले बालबालिकाको सिकाइ प्रभावित भइरहेको अभिभावक नारायण ओझाले गुनासो गरे । ‘विद्यालयमा बस्ने ठाउँ छैन भनेर केटाकेटी स्कुल आउन मान्दैनन्, विद्यालय भवनको माग गर्दासमेत सरकारी कार्यालय कसैले टेर्दैनन्, के गर्नु ? ', उनले भने ।

पाँच वर्षयता जिल्ला शिक्षा कार्यालयले मणिलेक मावि काँडामा कुनै पनि भौतिक पूर्वाधारका योजना नदिएको विद्यालयले जनाएको छ । लिखित रूपमै विद्यालयको समस्या राखेको भए पनि सुनुवाइ नभएको प्राचार्य कलौनीले बताए । ‘जिल्ला शिक्षा कार्यालयमा लिखित, मौखिक सबै हिसाबले विद्यालयका समस्या राखेका छौं । तर सम्बोधन हुँदैन', उनले भने, ‘यो शैक्षिक सत्रमा पनि जिल्लाभर सानोठूलो गरी ६२ ओटा ब्लक वितरण गरियो, तर हाम्रो राजनीतिक पहुँच नभएकाले यो विद्यालय त्यसमा परेन ।'

ठाउँ पाएका विद्यार्थी बस्छन्, नपाएका उभिएरै सुन्छन् । कक्षाको एक पिरियड विद्यार्थीको हाजिरी गर्नमै बित्छ ।

जिल्ला शिक्षा कार्यालयले भवन निर्माणका लागि कुनै सहयोग नगरेपछि अभिभावकको चन्दा र गाविसको सहयोगमा जस्तापाता राखेर टहरा निर्माण गरी कक्षा चलाउने विद्यालयको तयारी छ । विद्यार्थीले पढाइ नभएको गुनासो गर्न थालेपछि अस्थायी रूपमै भए पनि समस्या समाधानका लागि जस्तापाताले छाएको टहरा निर्माण गर्ने निर्णयमा पुगेको विद्यालयका शिक्षक अर्जुन कुँवरले बताए ।

‘तल्लोसोराडका पाँच गाविसको केन्द्र अनि गाउँमै प्राविधिक शिक्षा पठनपाठन सुरु भएपछि छोरीहरूलाई पनि प्राविधिक शिक्षा पढाउन सजिलो भयो भनेर खुसी भएका थियौं', महारुद्र ७ की मीना भट्टले भनिन्, ‘तर विद्यार्थीलाई बस्ने ठाउँ नै नभएपछि पढाइ प्रभावित भएको छ ।'

विद्यालयमा कक्षाकोठा अभावमा आफूहरूले जहिले पनि अधुरो पढाइ गर्नुपरेको विद्यार्थी विमला चन्दले गुनासो गरिन् । ‘करिब डेढ सय जना एउटा कक्षामा हुन्छौं, पछाडिसम्म सरको आवाज पुग्दैन, पढाएको कुरा कसरी बुझ्ने ? ', उनले भनिन् । विद्यालयमा कक्षाकोठाको अभावमा सेक्सन छुट्ट्याएर पढाउन सकिएको छैन । यसले शिक्षण सिकाइमा बाधा पुगेको विद्यालयका शिक्षक राजेन्द्र चन्दले बताए ।

विद्यालयमा कक्षाकोठा अभाव भएको विषय अभिभावकहरूले पनि पटकपटक जिल्ला शिक्षा कार्यालयसँग गुनासो गरिरहेका छन् । तर पनि कुनै सुनुवाइ नभएको अभिभावक केशव सिंहको भनाइ छ । ‘जिल्ला शिक्षा कार्यालयबाट वितरण हुने भवनमा कमिसनको चलखेल हुन्छ', उनले भने, ‘हाम्रोबाट कमिसन आउने देख्दैनन् अनि भवन नै दिँदैनन् ।' जिल्ला शिक्षा कार्यालयमार्फत वितरण हुने विद्यालय भवनमा कमिसनको चलखेल हुने गरेको स्थानीयको आरोप छ । तर जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले भने आवश्यकताकै आधारमा विद्यालय भवन वितरण गरेको दाबी गरेका छन् ।

कक्षाकोठा अभावमा एउटै कोठामा खाँदिएर बसेका बैतडीस्थित मणिलेक माविका कक्षा ११ मा अध्ययनरत विद्यार्थी ।अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.