गर्भावस्थाको डिप्रेसन
सबैमा नभए पनि केही महिलामा गर्भावस्थामा डिप्रेसन हुने गर्छ । किन हुन्छ त, गर्भाअवस्थामा डिप्रेसन ? अनुसन्धाताहरूका अनुसार गर्भावस्थामा मस्तिष्कमा प्रोटिनको स्तरमा कमी भयो भने आमामा डिप्रेसन र बच्चा कम तौलको जन्मने समस्या देखिन्छ ।
एक शोधका अनुसार मस्तिष्कमा उत्पन्न हुने न्युरोट्रोफिट कारक (बीडीएनएफ)ले सामान्य रूपमा मुडलाई निर्धारण गर्ने गर्छ । जुन प्लेसेन्टा (नाल) अनि बच्चाको दिमागको विकासका लागि पनि जरुरी मानिन्छ । यो गर्भावस्थामा निरन्तर रूपमा बदइलिरहेको हुन्छ ।
प्रोटिनको स्तरमा कमी हुनुको कारण डिप्रेसन पनि हो । गर्भावस्थामा यो समस्या हुनु सामान्यजस्तै हो । अमेरिकाको ओहियो राज्यका विश्वविद्यालयका सहायक प्रोफेसर लिसा एम क्रिस्चियनका अनुसार बीडीएनएफ स्तरमा गर्भावस्थाको अवस्थाभरि ज्यादा फेरबदल हुन्छ, जसले महिलामा डिप्रेसनको लक्षण देखिन्छ । यसले भ्रूणको विकासमा पनि नकारात्मक प्रभाव पारेको हुन्छ ।
शोधका क्रममा गर्भावस्थाका एक सय ३९ जना महिलाको रगतको नमुना लिइएको थियो। उनीहरूको गर्भावस्थापछिको पनि रगत लिइएको थियो । उक्त रगतमा बीडीएनएफको स्तर हेरिएको थियो । अध्ययनले चौथो र सातौं महिनाका गर्भवतीमा ज्यादा डिप्रेसनका लक्षण फेला परेका थिए ।
त्यस्तो अवस्थामा डिप्रेसनको औषधि सही भए पनि त्यसले अर्को खाले समस्या निम्त्याउन सक्ने भएकाले व्यायाम गर्नु उचित हुने निष्कर्ष निकालिएको छ । क्रिस्चियनका अनुसार त्यस्ता महिलालाई चिकित्सकको सल्लाहअनुसार शारीरिक रूपमा सक्रिय रहेर बीडीएनएफको स्तर बनाइराख्न सकिन्छ । यो गर्भावस्थाका महिलाको मुड र बच्चाको विकासका लागि लाभकारी हुन्छ ।