गोरखाका विभिन्न ठाउँमा सिस्मोमिटर जडान
गोरखा: जापानको टोकियो विश्वविद्यालयको सहयोगमा त्रिभुवन विश्वविद्यालय, भूगर्भविज्ञान विभागले गोरखाको विभिन्न ठाउँमा सिस्मोमिटर जडान गरेको छ। आरुघाट, आर्खेत, लापुबेँसी, घ्याम्पेसाल, चनौटे, बालुवा, बारपाक, लाप्राक र हंशपुरमा सिस्मोमिटर जडान गरेको हो।
भूकम्पको केन्द्रविन्दु गोरखाको विभिन्न भागमा अझै भूकम्पको सम्भावना कायमै रहेकाले यसको अध्ययन गर्न सिस्मोमिटर जडान गरेको भूगर्भविद् डा दण्डपाणि अधिकारीले जानकारी दिए। गत वर्ष रसुवादेखि हेटौँडासम्म ३५ वटा यस्ता सिस्मोमिटर राखिएको थियो ।
उनले भने, 'जापानको टोकियो विश्वविद्यालयको सहयोगमा ७० वटा सिस्मोमिटर ल्याएर जडान गरियो।” धादिङ, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, दोलखामा पनि सिस्मोमिटर जडान गर्ने उनको भनाइ छ। तीन महिनासम्म जमिनमुनि के कस्तो गतिविधि भइरहन्छ भन्ने बारेमा सिस्मोमिटरले अध्ययन गर्ने अधिकारीले बताए।
सिस्मोमिटरले भूकम्पको कम्पन जमिनमुनि कहाँ छ, कति गहिराइमा छ भन्ने बारेमा जानकारी दिनेछ। एक साता लगाएर विभिन्न ठाउँमा सिस्मोमिटर जडान गरेको भन्दै आउँदो वैशाखमा सिस्मोमिटरले गरेको अध्ययन सङ्कलन गरी थप अध्ययन गर्ने उनले बताए। रासस