गोर्खाज फाइनान्स र एनआइबिएल क्यापिटलबीच सम्झौता
काठमाडौः गोर्खाज फाइनान्स र एनआइबिएल क्यापिटलबीच हकप्रद सेयर निष्कासनका लागि सम्झौता भएको छ । फाइनान्सको २ बराबर १ शेयरको हकप्रद सेयर निष्कासनका लागी एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार राई तथा एनआइबिएलका तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरे । फाइनान्सले प्रतिशेयर सयका दरले २८ लाख ९३ हजार तीन सय १३ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
फाइनान्सले हाल चुक्ता पूँजी ५७ करोड ८६ लाख रहेकोमा हकप्रद शेयर निष्कासनपश्चात् कुल चुक्ता पूँजी ८६ करोड ८० लाख पुग्ने जनाएको छ । १० वटा शाखा तथा चारवटा एटीएममार्फत् ग्राहकमा आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको फाइनान्सको २०७३ पुस मसान्तसम्म निक्षेप तीन अर्ब ४० करोड, कर्जा दुई अर्ब ९७ करोड पुगेको छ ।
साथै फाइनान्सले आव २०७३/७४ को पहिलो छ महिनामा १० करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ ।