सनराइज बैंकको ३३.३३ प्रतिशत बोनस सूचीकृत
काठमाडौः नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सन्राइज बैंक लिमिटेडको नवौं वार्षिक साधारणसभाबाट पारित भई सेयरधनीलाई वितरण गरिएको ३३.३३ प्रतिशतका दरले हुने एक करोड ३२ लाख ५३ हजार चार सय ८८ कित्ता बोनस शेयर सूचीकरण गरेको छ ।
बोनस वितरणपछि बैंकको चुक्ता पूँजी पाँच अर्ब ३० करोड नाघेको छ । बैंकले एनआईडिसी क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिको पर्खाइमा रहेको जनाएको छ ।
उक्त प्राप्तिपश्चात् कायम हुने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर जारी पश्चात् बैंकको चुक्ता पूँजी करिब सात अर्ब ९ करोड पुग्ने बैंकले जनाएको छ । साथै यसै आर्थिक वर्षको नाफाबाट बोनस शेयर जारी गरी चुक्ता पूँजी आठ अर्ब पुर्याउने लक्ष्य बैंकले लिएको छ ।