सबै दल एक भए मात्रै निर्वाचन : रक्षामन्त्री खाँण
तुलसीपुर : रक्षामन्त्री बालकृष्ण खाँणले सबै दल मिल्न सके मात्रै तोकेकै समयमा निर्वाचन हुने बताएका छन् । वर्तमान राजनीतिक गतिरोधको अन्त्य गर्न सबै दल एक हुनु पर्ने र निर्वाचनको लागि जुट्नु पर्ने उनको भनाइ छ ।
रिपोटर्स क्लब नेपाल दाङ शाखाले बुधबार दाङको तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै रक्षामन्त्री खाँणले भने, ‘सबै दललाई सहमतिमा ल्याएर संविधान संसोधन गरेर स्थानीय निकायको निर्वाचन गर्ने तयारी गर्नुपर्छ ।’
मन्त्री खाँडले सरकारले स्थानीय तहको चुनावको तयारी सुरु गरेको समेत जानकारी दिए । संविधान संसोधन प्रस्ताव पारित सहमतिबाटै हुने उनको विश्वास छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री खाँणले प्रदेश नम्बर ५ मा पहाडी जिल्लालाई पनी राखिनु पर्ने बताए ।
उनले नेपाली सेनाले सीमाको रक्षाका साथै नेपालको परिवर्तलाई आत्मसाथ गरी अगाडि बढेको भन्दै देशको विकासमा समेत नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेको बताए ।