आजबाट राप्रपाको राष्ट्रिय अध्यक्ष लोहनी
काठमाडौं : नेताहरूबीच भएको पूर्वसहमतिअनुसार संसद्मा चौथो ठूलो दल राप्रपाको नेतृत्वमा हेरफेर भएको छ । बुधबारबाट डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । तत्कालीन राप्रपामा लागू गरिएको चक्रिय प्रणालीअनुसार लोहनी अध्यक्ष बनेका हुन् ।
लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणा र लोहनीले क्रमशः पार्टीको नेतृत्व छ–छ महिना लिएपछि राणाले लोहनीलाई नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको थियो ।
साउन ११ देखि अध्यक्ष भएका राणाको पनि मंगलबार ६ महिनाको अवधि पूरा भएको छ ।
राप्रपा नेपालसँग एकीकरण हुनुअघि नै राप्रपाको उच्चस्तरीय कार्यसम्पादन समितिको निर्णयअनुसार राणाको पद मंगलबारदेखि सकिएको हो । नयाँ अध्यक्षका लागि लोहनीले राष्ट्रिय पदको जिम्मेवारी मंगलबारदेखि नै लिनुपर्ने भए पनि पार्टी अध्यक्ष कमल थापा काठमाडौंबाहिर रहेकाले बुधबारका लागि सारिएको थियो ।
गत मंसिर ६ मा दुवै पार्टी एकीकरण भएर बनेको राप्रपाको बुधबार बसेको बैठकले लोहनीलाई अध्यक्षका रूपमा अनुमोदन गरेको हो । पार्टी महाधिवेशन आगामी फागुन ६ देखि ९ सम्म भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन कार्यतालिका सार्वजनिक भइसकेकाले नयाँ अध्यक्ष लोहनीले करिब एक महिनामात्र पार्टीलाई नेतृत्व दिनेछन् ।