नेपाल-भारत संयन्त्रको दोस्रो बैठक सोमबार

नेपाल-भारत संयन्त्रको दोस्रो बैठक सोमबार

काठमाडौःनेपाल-भारत संयुक्त अनुगमन संयन्त्रको दोस्रो बैठक यही सोमबार काठमाडौंमा हुने भएको छ । बैठकमा नेपालमा रहेका भारतीय लगानीका परियोजना निर्माणमा देखिएका समस्या, तिनको समाधान उपायबारे छलफल हुने जानकारी परराष्ट्र मन्त्रालयका अधिकारीले दिए । यसअघि उक्त बैठक गत नोभेम्बरमा काठमाडौंमै बसेको थियो ।

बैठकमा भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो र माथिल्लो कर्णाली परियोजनामा भएको प्रगति सम्बन्धमा समीक्षा हुनेछ । त्यस्तै नेपालको पुनर्निर्माणमा भारतीय सहयोगबारे पनि समीक्षा हुने भएको छ ।

वीरगन्ज र विराटनगरमा एकीकृत सुरक्षा जाँच चौकी निर्माणमा भएको प्रगतिबारे पनि बैठकमा छलफल हुनेछ । भारतले एकीकृत सुरक्षा जाँच चौकी निर्माणमा नेपालले ढिलाइ गरेको आरोप लगाउँदै आएको थियो ।

परराष्ट्रसचिव शंकरदास बैरागीले नेपाल-भारत संयुक्त अनुगमन संयन्त्रको गठनपछि भारतीय लगानीमा निर्माण भइरहेका परियोजनाको प्रगतिबारे मूल्यांकन गर्न सहज भएको बताए । ‘कुन परियोजनामा के प्रगति भइरहेको छ भन्नेबारेमा संयन्त्रको बैठकमा विस्तृत छलफल हुन्छ', उनले भने । पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन फागुन पहिलो साता टुंग्याउने विषयमा नेपाल र भारतबीच सहमति भइसकेको छ ।

‘पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन टुंगिएपछि चाँडै कार्यान्वयनमा आउनेछ', नेपालका लागि भारतीय राजदूत रञ्जित रेले बुधबार पत्रकारसँग भने । बैठकमा परराष्ट्रसचिव बैरागीले नेपालको नेतृत्व गर्नेछन् भने भारतीय पक्षको नेतृत्व भारतीय राजदूत रेले गर्नेछन् ।

बैठकमा नेपालका तर्फबाट अर्थ, ऊर्जा, प्रधानमन्त्री कार्यालय, भौतिक योजना, परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी हुनेछन् । भारतीय दूतावासका प्रतिनिधिहरू भारतीय पक्षबाट सहभागी हुनेछन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार स्थापित संयन्त्रको बैठक आवश्यकताअनुसार बस्ने गरेको छ ।

सम्बन्धलाई आर्थिक साझेदारीमा केन्द्रित गरौः रे

नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नेपाल-भारत सम्बन्धलाई आर्थिक साझेदारीमा केन्द्रित गर्न आवश्यक रहेको बताएका छन् । नेपाल-भारत सम्बन्धलाई २१ औं शताब्दी कसरी थप बलियो बनाउने भन्नेबारे दुवै देशले सोच्नुपर्ने बताए ।

रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा रेले नेपाल-भारत द्विपक्षीय सम्बन्ध अब सामाजिक, सांस्कृतिक, धार्मिकका साथ साथै आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने धारणा राखे ।

‘पञ्चेश्वर योजनाको कार्यान्वयन हुँदैछ । यसको डीपीआर अन्तिम चरणमा पुगेको छ । यही वर्षको मध्यतिर यो महायोजना लागू हुन्छ । यो लागू हुनेबित्तिकै सुदूरपश्चिममा मात्रै नभएर पूरै नेपालमै विकासको तरंग पैदा हुन्छ', उनले भने । माथिल्लो कर्णाली, अरुण तेस्रो परियोजना पनि अघि बढिरहेको रेले उल्लेख गरे ।

‘हुलाकी राजमार्गको नयाँ मोडेलमा काम भइरहेको छ । हालैमात्र कैलालीमा उद्घाटन गरियो । अहिले तराई मधेसमा काम तीव्र गतिमा अघि बढिरहेको छ', उनले भने । त्यस्तै उनले नेपाल-भारतबीचका पछिल्ला उच्चस्तरीय भ्रमणले राजनीतिक सम्बन्धमा प्रगति भइरहेको बताए ।

‘नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल दुईपटक भारत भ्रमणमा जानुभयो । परराष्ट्रमन्त्री प्रकाशशरण महत पनि जानुभएको छ । त्यसैले द्विपक्षीय सम्बन्ध थप बलियो बनाउने प्रयास भैरहेको छ', उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.