पहिले सीमा सुल्झाऊ

पहिले सीमा सुल्झाऊ

छिमेकी मुलुकहरू चीन र भारतसँगका हाम्रा सीमाका आआफ्नै विशेषता अनि समस्या छन् । प्रायः चर्चा सामाजिक, सांस्कृतिक, राजनीतिक र राजनीतिक सम्बन्ध बढी नै रहेको भारतसँगको सीमालाई लिएर गरिन्छ । तर नेपाल राज्यको भूराजनीतिक अवस्थितिको बोधगम्य विवेचना दुवैतर्फका सीमामाथि व्यापक दृष्टि नपुर्‍याईकन हुन सक्दैन ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँगको अति विकट हिमाली सीमा क्षेत्रले संसारमै सौन्दर्यका कारण नाम कमाएको छ । सौन्दर्यसँगै टाँसिएको भौगोलिक दुरुहताका आफनै मर्महरू छन् । यसका भूराजनीतिक आयाम पनि छन् । जति पनि अर्थ हिमालसँग जोडेर लगाउन सकिन्छ, ती सबै द्विपक्षीय सम्बन्धमा आउँछन् । द्विपक्षीय मात्र होइन, सारा दक्षिण एसियालाई प्रभावित पार्ने अस्तित्व सीमारूपी हिमशृंखलासँग छ ।

चर्चित भारतीय नेता बल्लभभाइ पटेलले हिमशृंखलासम्म भारतको सीमा हुनुपर्छ भनेर नेपालको स्वतन्त्र अस्तित्व बिर्सेको प्रसंग कुनै अनाशय भूल होइन । त्यो तत्कालीन क्षेत्रीय राजनीतिक मनोविज्ञानको कुनै कुनामा लुकेको भाव नै हो । जसको लक्षणाहरू यदाकदा प्रकट भइ नै रहेका छन् । भलै त्यता नजाऊँ । यति मात्र बुझौं, अबको युगमा कुनै मुलुक हत्तपत्त भौगोलिक अस्तित्व नै गुम्ने अवस्थामा पुग्दैन, कम्तीमा त्यहाँका जनताले आफ्नो सार्वभौमिकतालाई माया गरेसम्म ।

यति महत्त्वपूर्ण नेपाल-चीन सीमा क्षेत्रका पनि विविध समस्या छन् । यो खुला सीमा होइन । त्यसैले नियन्त्रण र कानुनी कारबाहीका घटना भइरहनु स्वाभाविक हो । तिब्बतभित्रका केही ऐतिहासिक समस्याको असर नेपाल हुँदै बगेर अन्यत्र जाने हो । तिब्बतीहरू विकटतम सीमा पार गरेर नेपाल छिर्ने र यहाँको बाटो हुँदै शरणार्थीका रूपमा भारत तथा अन्य देश जाने परिपाटी छ । चीनले नेपालसँगको सुरक्षा सरोकारलाई करिब-करिब तिब्बती शरणार्थी र सीमा वारपारका विषयमा मात्रै सीमित गरेको छ ।

विभिन्न मौकामा नेपाल सरकार आफ्ना खाले गतिविधि गर्न खोज्ने तिब्बती शरणार्थीमाथि बल प्रयोग गर्नुपर्ने अवस्थामा पुग्छ । यसमा संसारका विभिन्न शक्ति मुलुकहरूको समेत सरोकार देखिन्छ । चीन यतिबेला संसारको शीर्ष आर्थिक, सामरिक तथा जनसांख्यिक शक्ति बनिरहेका बेला विश्व राजनीति तथा व्यापारमा उसका प्रतिद्वन्द्वीहरूको लाम ठूलै छ । यस्तो अवस्थामा क्षेत्रीय भूराजनीतिक विषयहरूमाथि अनेक चासो र भूमिका रहनु स्वाभाविक हो ।

नेपाल र चीन दुवैले सीमा नियमनलाई उच्च ध्यान दिए पनि अन्तरदेशीय गैरकानुनी कार्य रोकिन सकेको छैन । नेपालतर्फ सुन, बन्यजन्तु एवम् तिब्बततर्फ रक्तचन्दन अनि साइटिस प्रतिबन्धित बहुमूल्य वस्तुहरू चोरीपैठारी र तस्करी भइरहेका छन् । नेपाल र चीनबीच भइरहने द्विपक्षीय संयन्त्रका संवादहरूमा यी समस्याबारे निरन्तर विमर्श हुने गर्छ । नेपालले एक चीन नीतिमा बसेर निर्वाह गर्नुपर्ने दायित्वहरूबाट त स्याबासी नै पाइरहेको अवस्था छ । यसबीच पनि चीनले नेपालसँगको कूटनीतिमा पछिल्ला वर्ष अगाडि बढाएको 'डायनामिज्म' अर्थपूर्ण छ ।

संक्रमणग्रस्त नेपाली राजनीतिसँग जोडिने आफ्ना सुरक्षा स्वार्थलाई चीनले अन्य शक्तिकेन्द्रहरूलाई समेत चिन्तामा पार्ने किसिमले सम्बोधन गर्न थालेको छ । यो सबै विषय अन्ततः सीमा व्यवस्थापनसँगै गएर मिसिने हो ।

अब भारततर्फको सीमाको कुरा गरौं । सामान्यतया नेपाल भारत सीमा पूर्णतः खुला हो । पूर्ण खुला भएरै यो ह्वांङ र झिरझिरा छ । त्यो कसीमा रोटीबेटीको सम्बन्धलाई निरपेक्ष ढंगले हेर्नेहरू पनि छन् । तर बृहतर र यथार्थवादी दृष्टिकोणबाट हेर्दा यस्तो सीमा नेपालजस्तो देशलाई किञ्चित उपयोगी हुन सक्दैन ।

दैनन्दिनी चलाउन दुईचार पोका उताबाट यता ल्याउने मेसोलाई यहाँ प्रायः मुख्य एजेन्डा बनाउने गरिन्छ । मलखाद आयातको विषयलाई अति ठूलो मामिला बनाइन्छ । उपभोग्य सामग्रीको नियमित तस्करीमा संलग्न संगठित समूह र तीसँग जोडिएर पालिने राजनीतिक पक्ष सीमालाई कुनै पनि किसिमले व्यवस्थित गर्ने विषयको विरुद्धमा उत्रन हौसिन्छ । खासमा नेपाली जनताले आफ्नो जीवनस्तरमा तात्विक अन्तर पार्ने फाइदा यस्तो अव्यवस्थित र खुला सीमाबाट पटक्कै पाएका छैनन् ।

के धान, चामल, दालको जोहो आफ्नै जमिनमा फलाएर गर्दा हुँदैन ? राज्य सिंगै लागेमा कृषकलाई मनग्गे बाँड्न पुग्ने मलखाद उत्पादन गर्ने संयन्त्र बनाउन कति वर्ष लाग्छ ? आजको युगमा प्रविधिको स्थानान्तरण कुनचाहिँ आइतबार हो ? यी प्रश्नहरूको उत्तर खोज्नेभन्दा पनि नियमनले सिंगो राष्ट्रिय जनजीवन नै अपांग बन्छ, सकिँदैन भनेर रटान लगाउने गरिन्छ । नेपाल राजनीतिमा त्यस्तो इच्छाशक्ति अझै पलाइसकेको छैन, जसले त्यस्तो अनावश्यक रटान खारेज गरोस् ।

नेपाली राजनीतिले आफ्नो घेरा बलियो पारेर भौगोलिक अवस्थितिको फाइदा उठाउने सोच र चेष्टा गर्न भ्याएकै छैन । यतिबेला संसारमा आर्थिक समृद्धिको माध्यमबाट यथावत् सबै सम्बन्धका पहलुहरू बलियो हुँदै जाने अवस्था छ ।

वास्तवमा खुला सीमा बराबर विकसित र सुसंस्कृत मुलुकहरूबीच मात्र उपयोगी हुनसक्ने प्रमाणित भइसकेको छ । ब्रेक्जिटको निर्णय बेलायती जनताले लिएको एक वर्ष पनि पुगेको छैन । पूरै युरोप यतिखेर अब आपसका सम्बन्धहरूलाई पुनर्विश्लेषण गर्नेतर्फ अग्रसर भइसकेको छ । नेपाल र भारतले चाहिँ सीमा विषयलाई जस्ताको जस्तै राख्नुपर्छ भनेर बस्नु भनेको दुवैका लागि दीर्घकालीन रूपले घातक हुने देखिन्छ ।

नेपाली राजनीतिमा एउटा कुरा बुझ पचाइएको अवस्थामा रहेको छ । खासगरी सीमा सुरक्षाजन्य कमजोरीका कारण भारतलाई अप्ठेरो परेको भन्ने गुनासोलाई दिल्लीले नियमित एजेन्डा बनाउने गरेको छ । दिल्लीले जाली नोट, लागूऔषध एवम् हतियार, विस्फोटक पदार्थ र आपराधिक गिरोहको मुभमेन्टलाई सधैं नेपाली पक्षको कमजोरीबाट उत्पन्न भएका समस्याका रूपमा चित्रण गर्दै आएको छ । के यो साँचो हो ? राष्ट्रसंघका कठिनतम पिसकिपिङ मिसनहरूमा गएर नेपालीहरू सुरक्षा व्यवस्था मिलाउन नसक्ने, आफ्नै देशको सीमा भने सुरक्षा गर्न नसक्ने भन्ने हुन्छ र ? नेपाल सुरक्षा व्यवस्थापनमा वास्तवमै नालायक हो भन्ने अर्थ लाग्ने परिवेश उसै खडा भएको हो कि खडा गराइएको हो ? यो प्रश्नमा यतिबेला गम्भीर रूपले मनन गर्नुपर्ने भएको छ ।

अब के त दुईचार पैसाको नाफाघाटालाई ठूलो कुरा बनाइराख्ने कि मुलुकको समग्र चरित्र निर्माण र भविष्यसँग जोडिएको विषयलाई यथोचित कोर्समा लैजाने ? आफ्नो घरको चार दिवारी बलियो, दुरुस्त नराखी कस्तो गोप्यता, मौलिकताको कल्पना गर्ने हामी ? के सीमा क्षेत्र वा निकट बसोवास गर्ने मानिसले पनि यो विषयालाई गम्भीरतापूर्वक लिनु पर्दैन र ? राष्ट्र राम्रो बनाउन यसप्रतिको वफादारी निर्वाह गर्ने क्रममा कतिपय बानी परेका विषयहरूलाई त्याग्न सक्नुपर्छ । आदत जस्तै । नभएदेखि परनिर्भरताको निर्वाहले जीवनस्तर, सोचस्तर र भविष्यसमेत तदर्थ वा अधोगतिमा जाने हुन्छ ।

नेपाली राजनीतिमा प्रजातन्त्रोत्तरकालमा पनि दीर्घकालीन सोच, योजना र दूरदर्शितायुक्त राजनीतिक अभ्यास भइरहेको छैन । यो दुर्भाग्य नै हो । नभएदेखि नेपाल आफ्नो किसिमको स्थिर राजनीति र समृद्धिको बाटोमा अघि बढ्न यति ढिलाइ हुने थिएन । नेपालसँग के छैन र ? यहाँ केही कुराको कमी छैन । समुद्रसँग नजोडिए पनि विश्वका दुई ठूला बजारबीचको पुल बन्न सक्छ यो देश । आखिर संसार यतिखेर व्यापारिक स्वार्थमा जोडिएको छ । युद्धहरू खासमा व्यापारकै निहुँमा भइरहेका छन्, स्रोतमाथिको हानथापका कारण ।

नेपाली राजनीतिले आफ्नो घेरा बलियो पारेर भौगोलिक अवस्थितिको फाइदा उठाउने सोच र चेष्टा गर्न भ्याएकै छैन । यतिबेला संसारमा आर्थिक समृद्धिको माध्यमबाट यथावत् सबै सम्बन्धका पहलुहरू बलियो हुँदै जाने अवस्था छ । हामी भारत र चीनसँगको सामान्य मामिला मिलाउन सकिरहेका छैनौं । तर हेर्दामा मित्रवत् कमै देखिने चीन र भारतबीचको व्यापार एवम् त्यसबाट फस्टाउँदै गएको समझदारीको कूटनीतितर्फ एकपटक ध्यान दिऊँ त । दलाई लामा भारतको शरणमा बस्दै आएका छन् । दोस्रो विश्वयुद्धयता दुईचोटि लडिसकेका यी मुलुकबीच व्यापारिक सम्बन्धको सघनतामा त्यो राजनीतिक विषयले प्रभाव पार्न छोडेको छ । यस विषयको भूराजनीतिक फाइदा उठाउनचाहिँ भारतसमेत बेलामौकामा पछि पर्दैन ।

बोधगयामा दलाई लामाको धार्मिक सभामा गएर हालै मात्र भारतीय मुख्यमन्त्रीले सम्बोधन गरे, धन्यवाद दिए । त्यहीबेलाचाहिँ हाम्रो सरकारले गृह मन्त्रालयस्तरीय निर्णयबाट भारतीय विमानहरूमा एयर मार्सल राख्न दिने निर्णय गर्‍यो । भारतीय विमानको उड्डयन सुरक्षा प्रोटोकल उनीहरूको तजबिजको विषय हो । त्यसको लागि सिंहदरबारभित्र सही टाँचा किन गरिरहनुपर्‍यो ? यस्तो बेतुक निर्णय गरी कसलाई रिझाउने काममा हामी अल्झिरहन सुहाउँदैन । हामीले त खास महत्त्वका मुद्दाहरूलाई सम्बोधन गर्नुपर्छ । सबैभन्दा पहिले सीमा नियमन गर ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.