एनओसीमा तालाबन्दी जारी रहने
काठमाडौः सर्वोच्च अदालतबाट वैधानिक ठहरिएको रुक्मशमशेर राणा नेतृत्वको टोलीले आफूहरूले पद बहाली गर्ने वातावरण सिर्जना नभएसम्म सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को कार्यालयमा गरेको तालाबन्दी जारी रहने जनाएको छ । उनीहरूले बुधबार युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीलाई समेत अदालतको निर्णयअनुसार आफूहरूको पदबहाली नहुँदासम्म तालाबन्दी जारी रहने जानकारी गराएका छन् ।
‘हामी अदालतको निर्णयपछि गृह मन्त्रालय र जिल्ला प्रशासनको आदेश लिएर पदबहाली गर्न एनओसी कार्यालय पुग्दा अवरोध भयो', अदालतबाट मान्यताप्राप्त समितिका उपाध्यक्ष किशोरबहादुर सिंहले भने, ‘अदालतको निर्णयको विरुद्धमा गएर कसैसँग सम्झौता गर्ने कुरा आउँदैन । अदालतको निर्णय कार्यान्वयन हुनै पर्छ । त्यो नभएसम्म तालाबन्दी जारी नै रहन्छ । हामीले मन्त्रीज्यूलाई पनि सोही कुरा जानकारी गराएका छौं ।'
सर्वोच्च अदालतले ६ वर्षअघि वैधानिकताको विषयमा गरेको निर्णयलाई लागू गर्न पहिलो पटक गृह मन्त्रालय र त्यसअन्तर्गत ललितपुर जिल्ला प्रशासन कार्यालयले प्रक्रिया अघि बढाउँदा एनओसी विवाद अहिले चुलीमा पुगेको छ ।
सर्वोञ्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयको ताकेतापछि अघिल्लो महिना गृह मन्त्रालयले निर्णय कार्यान्वयन गराउने निर्देशनसहित ललितपुर जिल्ला प्रशासनलाई आदेश दिएको थियो । सोही पत्रपछि ललितपुर जिल्ला प्रशासनले सोमबार रुक्म नेतृत्वको टोलीलाई बोलाई सुरक्षा व्यवस्थाको प्रत्याभूतिसहित पदबहाली गर्न भनेको थियो ।
तर, अदालतको सोही निर्णयसँगै अवैधानिक ठहरिएको जीवनराम श्रेष्ठ नेतृत्वको टोलीले अवरोध गरेपछि उनीहरूले पदबहाली गर्न पाएका छैनन् । सोही विषयले मंगलबार एनओसी कार्यालय दिनभर तनावग्रस्त बनेको थियो ।
सोही विषयलाई लिएर दुवै समूहले बुधबार खेलकुदमन्त्री श्रीपालीलाई भेटेका थिए । दुवै टोलीले मन्त्रीसँग आआफ्नो कुरा राखेका थिए । ‘हामीले मन्त्रीज्यूसँग आफ्नो कुरा राख्यौं', अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीका अध्यक्ष जीवनरामले भने, ‘मन्त्रीज्यूले विवादलाई यो अवस्थामा राख्न हुन्न भन्नुभएको छ ।'