अमेरिकालाई चीनको जवाफ : हाम्रो सम्प्रभुताको रक्षा आफैँ गर्छौँ

अमेरिकालाई चीनको जवाफ : हाम्रो सम्प्रभुताको रक्षा आफैँ गर्छौँ

बेइजिङ : दक्षिण चीनमा निर्मित टापुमाथि चीनले आफ्नो सम्प्रभुताको रक्षा गर्ने बताएको छ । अमेरिकाले जेसुकै भने पनि आफू दक्षिण चीन सागरमा सशक्त रूपमा सक्रिय रहने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले भने, ‘दक्षिण चीन सागरमा चीनको स्पष्ट दृष्टिकोण छ । यसमा कुनै परिवर्तन आउने छैन । ती कृत्रिम टापु र समुद्री क्षेत्र चीनका हुन् ।’

मंगलबार मात्रै अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सिन स्पाइसरले उक्त क्षेत्रको रक्षा गर्ने काम चीनको भएको बताएका थिए । चीनले दाबी गर्ने गरेको जलक्षेत्र अन्तर्राष्ट्रिय क्षेत्र भएको र त्यसको रक्षा गर्ने काम अमेरिकाको भएको बताएका थिए ।

हुआले भने, ‘दक्षिण चीन सागरमा भएका चिनियाँ गतिविधि वैधानिक र कानुनी छन् । अरू देशले जेसुकै भनून् वा गरून् । चीनले आफ्नो हित र सम्प्रभुताको रक्षा गर्न कटिबद्ध छ ।’

उनले अमेरिकामा नयाँ राष्ट्रपति ट्रम्प आएका छन् भनेर चीन चिन्तित पनि नभएको उनको भनाइ थियो । अरू कोही चिन्तित चए पनि चीन चिन्तित नहुने उनले स्पष्ट पारे । अमेरिकाले दक्षिण चिनियाँ समुद्रको विवादित क्षेत्रलाई लिएर चीनलाई फेरि एकपटक धम्की दिएको थियो । उसले समुद्री क्षेत्रमा आफ्नो रक्षाका लागि जे पनि गर्न तयार रहेको र चीनको मात्रै एकतर्फी व्यापार नचल्‍ने चेतावनी दिएको थियो ।

अमेरिकासँगको सम्बन्ध छिट सुधारिने
मस्को ः अमेरिकासँग वर्तमानमा चिसिएर रहिरहेको दौत्य सम्बन्ध राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएसँगै शीघ्र सुधार हुनेमा रूस ढुक्क भएको रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले बताएका छन् ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी हुनासाथ उच्चस्तरीय रूसी नेता, अधिकारी तथा आम जनताले अपार हर्ष प्रकट गरेका थिए । अमेरिकासँगको सम्बन्धमा अपेक्षित सुधार आई उक्त खुसियाली हर्ष अब यथार्थमा परिणत हुने पनि रूसी विदेशमन्त्री सर्गेइले बताए ।

बुधबार रूसी संसद्लाई दिएको एक सम्बोधनको क्रममा उनले रूस र अमेरिकाबीच रहिआएको पुरानो र ऐतिहासिक सम्बन्ध पुनः नयाँ शिरा (न्यु रिसेट) बाट नवीकरण हुनेमा कुनै भ्रम, चिन्ता नरहेको, यस विषयमा कुनै पनि नकारात्मक सोच वा शंका राख्नै नपर्ने बताएका छन् ।

विदेशमन्त्री सर्गेइको विशेष शब्द न्यु रिसेटले रूस तथा अमेरिकाबीच रहँदै आएको सम्बन्धलाई एक नयाँ शिराबाट जीवन्तता प्रदान गर्न मार्ग प्रशस्त गर्ने बताएका छन् । यस विषयमा सन् २००९ मा तत्कालीन रूसी राष्ट्रपति दिमित्री मेदभेदेभ तथा निवर्तमान अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच भएको छलफलले पहिल्याएका तथ्यहरूलाई औंल्याएको छ । तर, उक्त छलफलले निष्कर्ष निकालेका तथ्यहरू विभिन्न कारणवश छोटो समयमै विलीन भएर गई कार्यान्वयन हुन पाएनन् ।

रूसी विदेशमन्त्रीको भनाइमा रूसले अमेरिकासँगको सम्बन्ध सुधारको आधार सन् २००९ मा भएको उक्त छलफल तथा समझदारीलाई बनाउन खोजेको छ । यस विषयमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने मुख खोलेका छैनन् । यसअघि अमेरिका–रूस अन्तर्देशीय सम्बन्धमा व्यापक सुधार ल्याउने तथा रूसलाई अमेरिकाको निकटको मित्र मान्ने आफ्नो अभिलाषा रहेको भनी राष्ट्रपति ट्रम्प विजयी घोषित भएको केही दिनमै अभिव्यक्ति दिँदा मस्कोमा यस अभिव्यक्तिको ठूलो स्वागत गरिएको थियो ।

मोदीलाई अमेरिकामा ट्रम्पको निम्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा गरेका छन् । मोदीलाई ट्रम्पले ‘यही वर्षभित्र’ अमेरिका आउन आग्रह गरेको दुईजनाका बीचमा भएको टेलिफोन वार्तापछि अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । टेलिफोन वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले विश्वका चुनौतीहरू सामना गर्न भारतलाई असल साथी र साझेदारका रूपमा लिएको बताएका थिए ।

अमेरिका र भारतको आर्थिक तथा सुरक्षा चासोका विषयमा मिलेर काम गर्ने बारेमा समेत उनीहरूले छलफल गरेका थिए । प्रधानमन्त्री मोदीले गत नोभेम्बरमा भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्पलाई बधाई दिँदै उनको भारतप्रतिको मित्रभाव स्वीकार गरेका थिए ।

पर्खाल लगाउने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा घोषणा गरेको वाचा अनुसार मेक्सिकोको सीमामा पर्खाल बनाउने घोषणा गरेका छन्।
बुधबार अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले ६ महत्वपूर्ण आप्रवासीका नाममा आदेश जारी गर्दै मेक्सिकोमाथि केही दिनमै पर्खाल लगाउने घोषणा गरेको हो।

राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षालाई ध्यान दिँदै ६ मुस्लिम राष्ट्रका आप्रवासीलाई अस्थायी प्रतिबन्ध लगाउन आदेश दिएका छन् । राष्ट्रिय सुरक्षालाई मध्य नजर गर्दै प्रतिबन्ध हुने राष्ट्रमा सिरिया, इरान, इराक, लिबिया, यमन, सुडान र सोमालिया रहेका छन् । राष्ट्रपति ट्रम्पले ट्विट गर्दै भनेका छन्, ‘यसका साथै हामी अरू कुरासँगै सीमामा पर्खाल बनाउनेछौं ।’

अमेरिका र मेक्सिकोको सीमामा पर्खाल बनाउन संघीय सरकारले रकम निकासा गर्नेछ । यस्तै ट्रम्पले अर्को साता सीमामा पर्खाल लगाउनेबारे मेक्सिकोकी राष्ट्रपति एनरिक पेना नियटोलाई राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भेटवार्ताको कार्यक्रम तय गरिएको छ ।

ट्रम्पले घोषणा गरेको मुख्य योजनाले धेरैभन्दा धेरै शरणार्थीलाई अमेरिका प्रवेशमा कठिनाइ हुने दाबी गरिएको छ । यद्यपि धार्मिक अल्पसंख्यक र उत्पीडनमा परेका सिरिया लगायत अन्य मुस्लिम देशमा रहेका क्रिस्चियनलाई भने अमेरिकामा प्रवेश गर्न दिइनेछ । उनीहरूलाई पनि चार महिनासम्‍म भने अमेरिका प्रवेशमा रोक लगाइने छ । ट्रम्पले घोषणा गरेको ६ मुस्लिम देशका नागरिकलाई तत्कालै भिसा नदिन अमेरिकी विदेश मन्त्रालयले सम्बन्धित देशलाई सूचना जारी गर्नेछ । यसको समयावधि एक महिनाको हुनेछ । यसैगरी निर्वासन जीवन बिताउन अमेरिका आएकाबाट जन्मिएका बालबालिकाको संरक्षणको काम समेत बन्द गरिने भिसा विभागका कर्मचारीले बताएको अमेरिकी सञ्‍चारमाध्यमले जनाएका छन् ।

यस्तै ट्रम्प राष्ट्रपतिको जिम्‍मेवारी सम्हालेको तीन दिनमा करिब १३६ सिरियन आप्रवासी अमेरिका आइसकेको अमेरिकाका आप्रवासी जनसंख्या विभागले जानकारी दिएको सिएनएनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.