पतिको हत्या आरोपमा पत्नी पक्राउ
महोत्तरी : ढेड सातअघि महोत्तरीको हतिसर्वा ८ संग्रामपुरका अञ्जनीकुमार मिश्रको हत्या आरोपमा प्रहरीले पत्नीसहित पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले मिश्र हत्याकाण्डमा संलग्न भएको आरोपमा हतिसर्वा ८ बस्ने मृतककी पत्नी २२ वर्षीया ज्योति, धर्मपुर ६ का ३१ वर्षीय फिरोज कवारी, धमौरा १ बस्ने ३७ वर्षीय तुफान नट अन्सारी, बगडा ७ का ४४ वर्षीय गंगाराम दास र महोत्तरी गाविस ७ बस्ने २९ वर्षीय कुबेरकुमार राउतसहित पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउसँग बयान लिएर अनुसन्धान थालिएको डिएसपी शालिग्राम शर्माले जानकारी दिए । ‘घटनामा मृतककी श्रीमती ज्योतिको गतिविधी शंकास्पद देखिन्छ,’ डिएसपी शर्माले भने ।
ज्योति मृतक अञ्जनीकी कान्छी श्रीमती तथा कुबेरका काका ससुरा रहेको प्रहरीले जनाएको छ । फिरोज र तुफान जनतान्त्रिक तराई मुक्तिमोर्चा (ज्वाला समूह) मा हुँदा अपहरण, लुटपाट, चन्दा आतंक र हत्याराका रुपमा काम गर्ने रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
हत्याको प्रमुख कारण यौन सम्बन्ध र सम्पत्ति नै रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । तीन महिनाअघि मात्र वैदेशिक रोजगारीबाट घर फर्केका मिश्रको नाममा पाँच बिघा जग्गा छ ।
मिश्रलाई गत पुस २९ गते राति ८ बजे धारिलो हतियार प्रहार गरी श्रीमतिकै अगाडी हत्या गरेका थिए।