राजनीति र न्यायालय

 राजनीति र न्यायालय

सार्वेच्च अदालतका निर्णय नजिर बन्छन् । तिनले कानुनको हैसियत पाउँछन् । तर सर्वोच्चले सर्वोच्चकै फैसला काट्दा कुन फैसलालाई नजिर मान्ने ? तर भावी सर्वोच्च न्यायालयको लागि आफ्नै पूर्ववर्ती फैसलाको समीक्षा गरी पहिलो निर्णयमा ‘गम्भीर न्यायिक त्रुटि' भएको भन्दै त्यसलाई पुनरावलोकन गर्ने र नयाँ निर्णय दिने बाटो खुलेको छ ।

अर्कोतिर अभूतपूर्व घटनाचक्रमा मुलुकको सर्वोच्च न्यायपालिका फसेको छ । यति अपारदर्शी र अन्धकारको वातावरणमा ८०/८० जना उच्च न्यायालयका न्यायाधीशहरू नियुक्ति गरिनु नै विवादास्पद निर्णय हो । न्यायपरिषद्लाई दिइएको अधिकार प्रधानन्यायाधीशको नेतृत्वको त्यो संस्था राजनीतिक दबाब र अन्य मोलाहिजा र प्रभावबाट डग्दैन भन्ने मान्यताबाट निर्देशित थियो भने सम्भवतः त्यसैमा पुनः समीक्षा आवश्यक बन्न पुगेको छ ।

न्यायाधीशहरूको नियुक्ति दलको ‘कोटा' र अन्य प्रभावबाबट निर्देशित हुन्छ भन्ने कुरा जनताको दिमागमा स्थापित भएमा न्यायको लागि उनीहरू अदालत आउने छैनन् । सडकमा त्यसको छिनोफानो हुन थाल्छ । त्यसले कानुन र संविधानवादमा आधारित राज्यको मान्यतालाई नराम्रोसँग हल्लाउँछ ।

न्यायाधीश नियुक्तिलाई लिएर महान्यायाधिवक्ता तथा सरकारी वकिलहरूले समेत इजलास बहिष्कार गरे, सर्वोच्चदेखि तल्लो तहका अदालतसम्मले । अन्त्यमा घुमाउरो भाषामा न्यायपरिषद्ले त्यस (नियुक्ति) मा त्रुटि भएको स्विकार्‍यो र अबको नियुक्तिमा त्यस्ता त्रुटि नहुने प्रतिबद्धता व्यक्त गर्‍यो । तर यसले न्यायपालिकाको नेतृत्व तथा महान्यायाधिवक्ता र सरकारी वकिलहरूबीच ‘लेनदेन' को विषयभन्दा धेरै महत्वपूर्ण अर्थ राख्छ । नेपाल बार एसोसिएसन र सर्वोच्च बारसमेत रुष्ट छन् न्याय परिषद्सँग ।

त्यति मात्र हैन, सर्वोच्चको ‘फुलकोर्ट' मा समेत न्यायाधीशहरू विभाजित देखिए । कोही असन्तुष्टहरूसँग वार्ता गर्नुपर्ने त्रुटि सच्याउनुपर्ने पक्षमा उभिए भने कोहीले कठोर कदम उठाउँदै महान्यायाधिवक्ता र सरकारी वकिलहरूलाई चेतावनी दिनुपर्ने अडान राखे । न्यायाधीश नियुक्तिविरुद्ध परेको एक ‘रिट' पछिल्लो समूहका न्यायाधीशको इजलासमा विचाराधीन छ । तर न्यायपरिषद्ले नै नियुक्तिमा त्रुटि भएको सन्देश दिइसकेपछिको अवस्थामा सर्वोच्चले कसरी न्याय देला यसमा, आगामी दिनका घटनाक्रम र न्याय निष्पादनले प्रस्ट पार्नेछन् ।

तर सर्वोच्च न्यायालयमा यो हदसम्मको विचलन, अविश्वास र राजनीतिक हस्तक्षेपको अवस्था के एकैपटक अचानक आएको हो या नियोजित रूपमा उसका मौलिक पक्ष मक्किने स्थिति भित्र र बाहिर दुवै पक्षले सिर्जना गरेका हुन् ।

गत साता केही महिनापूर्व प्रधानन्यायाधीशको पदबाट अवकाश प्राप्त गरेका कल्याण श्रेष्ठ र न्यायाधीशका रूपमा सर्वोच्चबाट एक दसकअघि बिदा लिएका कृष्णजंग रायमाझी एउटै मञ्चमा देखा परे । निर्वाचनबिनाको सत्ता ‘राजतन्त्र' जस्तै हुने आशंका र चेतावनीमिश्रित अभिव्यक्ति दिए दुवैले । तर उनीहरूले आफ्नो आत्मसमीक्षा गर्न रुचाएनन् । न्यायपालिकाको गिर्दो छवि, दलीयकरण र घट्दो जनविश्वासबारे टिप्पणी नै गरेनन् ।

त्यस अर्थमा न्यायाधीश रायमाझीको दोष कम होला । किनकि उनले बिदा लिँदाको सर्वोच्च न्यायालयको छवि फरक थियो, उच्च थियो र सम्मानित थियो । रायमाझी स्वयंले ०६३ को आन्दोलन दबाउन तत्कालीन सरकारले सत्ता र ढुकुटीको दुरुपयोग गरेबारे न्यायिक छानबिन आयोगको नेतृत्व गरे । तर उनले राजनीतिक दलका कार्यकर्तालाई सदस्यका रूपमा स्वीकारी अपेक्षित प्रतिवेदन तयार गरे ।

राजनीतिक दल र राजनीतिक नागरिक समाजसँग सहकार्य गरे । रायमाझी आयोगका नाममा छानबिनपूर्व नै तत्कालीन सरकारले प्रहरी र सशस्त्रका नेतृत्वलाई दण्डित र पुरस्कृत गर्दा उनी मौन रहे । केही अत्यन्त निर्दोषविरुद्ध हचुवाका भरमा प्रतिवेदन दिएर उनले गम्भीर अपराधसमेत गरे ।

कल्याण श्रेष्ठले प्रधानन्यायाधीशको रूपमा खिलराज रेग्मीको द्वैध शासन (सिंहदरबार र सर्वोच्च आदलतमा) लाई वैधानिकता दिए मौनताद्वारा । अदालतको आत्मामा गाडिएको फलामको किलाले न्यायपालिकाको मृत्यु निम्त्याउँछ भन्ने बुझ्न चाहेनन् श्रेष्ठले, रेग्मी पदमा रहँदासम्म । किनकि रेग्मी भारत, बाह्य शक्ति र एनजीओ अनि दाताको समर्थनबाट प्रधानन्यायाधीशसँगै कार्यकारी प्रमुख बनेका थिए ।

कल्याण श्रेष्ठको गत साताको टिप्पणी एउटा पूर्व न्यायाधीशका रूपमा कम र एकजना एनजीओकर्मीका रूपमा ज्यादा थियो । नत्र एकजना पूर्व प्रधानन्यायाधीशलाई न्यायपालिकाको वर्तमान अवस्थाबारे किन द्रवीभुत बनाएन ? नेपालको अतीतले संविधानहरूको आयु पनि छोटो नै देखाएको छ । राजनीतिक अस्थिरता त अझ बढी छ । २०७२ को संविधान दुर्घटनाको सिकार भइसकेको छ ।

न संसद्समक्ष विचाराधीन संविधान संशोधन विधेयक पारित हुने अवस्था छ, न त एक वर्षभित्र तीन तहको निर्वाचनको सम्भावना नै देखिन्छ । सम्भावना खालि सत्ता परिवर्तन र थप अनिश्चितता तथा अराजकताको मात्र देख्न सकिन्छ अहिले । अब त भ्रष्टाचारको डर मान्नुपर्ने अवस्था पनि छैन, नेताहरूका लागि ।

केही विद्वान् र चरित्रवान् पूर्व प्रधानन्यायाधीश, न्यायाधीश र महान्यायाधिवक्ता अनि वरिष्ठ संविधानविद्हरूबाट विज्ञ समूह बनाई न्यायाधीश नियुक्ति संयन्त्र र प्रक्रियाबारे वस्तुनिष्ठ प्रक्रिया भोलिको आवश्यकता बन्न पुगेको छ ।

लोकमानसिंह कार्कीलाई जसरी हटाए पनि त्यो रिक्त पदपूर्ति गर्न सर्वोच्चले दिएको आदेश कार्यान्वयन हुने अवस्था छैन, भागबन्डाको राजनीतिका कारण । अख्तियार कार्यपालिकाको एउटा सानो एकाइको हैसियतमा झरिसकेको छ, प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि ।

तर न्यायपालिका खासगरी सर्वोच्च अदालत राजनीतिक दलहरूजसरी सहजै अविश्वसनीय र धराशायी बनून् भन्ने चाहना कसैको हुँदैन, प्रजातन्त्र र विधिको शासनमा विश्वास नगर्नेहरूबाहेक । त्यसैले न्यायपालिका या न्यायपरिषद्भित्रैका गतिविधिले न्यायालयलाई अविश्सनीय बनाएको छ भने त्यो संविधानवाद र कानुनमा आधारित राज्यको अवधारणाविरुद्धका कृत्य मानिनेछन् । कल्याण श्रेष्ठ र रायमाझीले राजनीतिप्रतिको टिप्पणीसँगै न्यायालयको वर्तमान अवस्थाप्रति पनि सानो चेतावनी दिएको भए त्यसले फरक अर्थ राख्थ्यो र सम्भवतः प्रेरित गथ्र्यो, आफ्ना उत्तराधिकारीहरूलाई न्यायपथमा अग्रसर हुन ।

आज नभए पनि भोलि उनीहरू बाध्य हुनेछन् या बनाइनेछन् सर्वोच्चको र न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, विवेकशीलताको पक्षमा उभिन । प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच पटकपटक गोप्य ‘भेटघाट' असल संकेत हैन सर्वोच्चको लागि ।

न्यायपालिका बिरामी छ । उसको क्षमतामा प्रश्नचिन्ह उठिसकेको छ । सम्भवतः केही विद्वान् र चरित्रवान् पूर्व प्रधानन्यायाधीश, न्यायाधीश र महान्यायाधिवक्ता अनि वरिष्ठ संविधानविद्हरूबाट विज्ञ समूह बनाई न्यायाधीश नियुक्ति संयन्त्र र प्रक्रियाबारे वस्तुनिष्ठ प्रक्रिया भोलिको आवश्यकता बन्न पुगेको छ । त्यति मात्रै हैन, अहिलेको न्यायाधीश नियुक्तिको विवादसमेत त्यस्तो विज्ञ समूहको विचार र सुझावको विषय बन्ने प्रबल सम्भावना छ ।

न्याय पद्धति कस्तो हुनुपर्छ, त्यो संविधान र राजनीतिक पद्धतिले छनोट गर्ने विषय हो, तर न्यायाधीश कस्तो हुनुपर्छ भन्नेबारे सबै पद्धतिमा जनता स्पष्ट छन् । उनीहरू योग्य, निष्पक्ष, चरित्रवान् र दलीय या अन्य स्वार्थभन्दा माथि हुन सक्नुपर्छ । प्रतिशोधको औजार हैन, संविधानको मर्म र अक्षरले उनीहरूलाई निर्देशित गर्न सक्नुपर्छ, न्याय निष्पादनमा ।

न्यायालयमा जनताको विश्वास ह्रास हुँदै गएमा अन्ततः त्यसले विद्यमान राजनीतिक पद्धति र संविधानको वैधानिकता र स्वीकार्यमा चोट पुर्‍याउनेछ । यो बुझेमा अदालत या न्यायिक नेतृत्वले अहिले पनि आफूलाई सुधार्दै संविधानवादलाई ध्वस्त हुनबाट केही हदसम्म बचाउन सक्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.