महानगरपालिकामा अनियमितताः कारबाही गर्न ‘स्क्वार्ड
काठमाडौः काठमाडौं महानगरपालिका भित्र हुने अनियमितता रोक्न ६ जनाको ‘स्क्वार्ड टोली' गठन भएको छ । प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले गतसाता मात्रै यो टोली गठन गरेका हुन् ।
नक्सापास, घरजग्गा बहाल कर, नाता प्रमाणित र बसाईसराई दर्तामा सेवाग्रहीबाट नगरपालिकाका कर्मचारीले घुष लिने गरेको जनगुनासो बढेपछि सुक्ष्म निगरानी गरि कारबाही गर्न स्क्वार्ड टोली गठन गरेको जानकारी प्रमुख कार्यकारी अधिकृत तामाङले दिए ।
महानगरपालिकामा कामै नगरी तलब खाने कर्मचारीको रहेको बताउँदै उनले भने,‘ अधिकृत भईसकेको कर्मचारीलाई कम्युटरमा टाईप गर्न आउँदैन, फेसबुक चलाउन भने आउँछ, कार्यालयको काम ढंगले गर्न आउँदैन, फेरी उनीहरुलाई नै चाहिन्छ धेरै सुविधा ।' तामाङले एक लाख रुपैंयाको कामलाई कागजमा ५० हजार देखाएर बाँकी ५० हजार रुपैंया गोजीमा हाल्ने वेथिति महानगरपालिकामा कामयै रहेको बताए । उनले भने,‘ अब अनलाईनवेसमा काम हुने भएपछि कागजी निर्णय फेरे जसरी सप्टवेयरमा फेर्न मिल्दैन, यस्ता प्रवृत्ति अब रोकिन्छ ।'
बेथिति रहेछ तर किन कारबाही गर्नु भएन ? भन्ने प्रश्नमा तामाङले भने,‘ धेरै व्यतिथि छ भनेर नै कार्यस्थलमै कारबाही गर्न स्क्वार्ड टोली गठन गरेको हो, यो टोलीले अब कार्यस्थलमै स्पष्टीकरण सोध्ने देखि सरुवा गर्नेसम्मको अधिकार पाएको छ ।' स्क्वार्ड टोलीमा महानगरपालिकाका निर्देशक ज्ञानेन्द्र कार्की, राजश्व महाशाखाका प्रमुख राज्य प्रकाश प्रधानाङ्ग, ध्रुव काफ्ले, महेश काफ्ले लगायतका अधिकृतस्तरका कर्मचारी छन् ।
तामाङले कर तिर्ने सबै काम अनलाईनमार्फत हुने भएपछि कर्मचारीहरुमा आक्रोश बढेको बताए । उनले भने,‘ विद्युतीय प्रणालीमा सबै काम भएपछि घुष खान पल्केका कर्मचारीहरुमा आक्रोश बढेको हो, त्यहि भएर राजश्व उठाउने कर्मचारीलाई नै स्क्वार्ड टोलीमा राखिएको हो ।'
टोलीले कार्यस्थलमै स्पष्टीकरण सोध्नेदेखि सरुवा गर्नेसम्मको अधिकार पाएको छ ।
स्क्वार्ड टोलीमा रहेका प्रधानाङ्ग भन्छन्,‘ अब महानगरपालिकाको सबै काम अनलाईनमार्फत हुने भएपछि केही कर्मचारीहरु आत्तिएका छन्, हामी उनीहरुलाई एउटा मौका दिन्छौं, दिएको जिम्मेवारी पुरा गर्ने र बस्न नमाने अर्कै स्थानमा सरुवा गर्ने ।' उनले अनलाईनवेसमा काम हुने भएपछि गलत प्रवृत्तिका कर्मचारीले नै सेवाग्रहीलाई भड्काउने पक्षमा पनि स्क्वार्ड टोलीको ध्यानाकर्षण भएको बताए । ‘
पहिला पैसा लिएर काम गर्ने बानी बसेका केही कर्मचारीहरुले सेवाग्रही एवं करदातालाई भड्काउने सम्भावना पनि उत्तिकै छ, हामी त्यस्ता कर्मचारीको पहिचान गरेर उनीहरुलाई अन्यत्रै सरुवा गर्ने तयारीमा छौं ।' उनले नयाँ बन्ने सफ्टवेयरमा बसेर काम गर्दिन भन्ने कर्मचारीमाथि छानवीन गर्ने बताए । ‘ सफ्टवेयरमा बसेर काम गर्दिन भन्नु नै कहिंकतै कर्मचारीको स्वार्थ देखिन्छ, त्यसैले जिम्मेवारी नलिने कर्मचारीले ठाउँ खालिगरिदिनुपर्छ, प्रधानाङ्गले भने ।
महानगरका चोकचोकमा डिस्प्ले
काठमाडौं महानगरपालिकाको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले सहरका चोकचोकमा चेतनामूलक डिस्प्ले देखाउने भएको छ । ट्राफिक नियमबारे सर्वसाधारणलाई चेतना अभिवृद्धि गर्ने उद्देश्यले गाडीमा डिस्प्ले राखेर सहर परिक्रममा गराउने भएको हो ।
महाशाखामा बिहीबार आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले सडक दुर्घटनाबाट बर्सेनि नेपालमा दर्जनौं मानिसले ज्यान गुमाइरहेको उनले बताए । ‘दुर्घटनामा चालक मात्र दोषी हुँदैनन्, पैदल यात्रुसँगै अन्य सडक प्रयोगकर्ता पनि उत्तिकै दोषी छन्, उनीहरूलाई चेतना दिने उद्देश्यले डिस्प्ले देखाउन लागिएको हो', उनले भने ।
डिस्प्लेमा अडियोभिडियो दुवै खालका विषय समावेश गरिएको छ ।
सडक अवरोध नगर्ने गरी सहरका चोकचोकका डबलीमा चेतनामूलक डिस्प्ले देखाउन ट्राफिक प्रहरीलाई स्वीकृति दिइएको उनले बताए । सडकमा हिँड्दा वा सवारी चलाउँदा आवश्यक नियम जानेर मात्रै यात्रा गर्दा दुर्घटना जोखिम घट्ने उनको भनाइ छ ।
दुर्घटना न्यूनीकरणमा डिस्प्लेले सकारात्मक सन्देश दिए थप प्रभावकारी बनाइने महाशाखाका प्रमुख डीआईजी प्रकाश अर्यालले जानकारी दिए । ‘अहिले एउटा मात्रै गाडीमा डिस्प्ले देखाइन्छ', उनले भने, ‘आवश्यक परे थप गरिन्छ, बसपार्क, खुला स्थान र सर्वसाधारणको आउजाउ बढी हुने स्थानमा डिस्प्ले देखाइनेछ ।' डिस्प्लेमा भिडियो र अडियो दुवै खालका विषय समावेश गरिएको छ ।