मान्छे गोठमा, घरमा चाहिँ मुसा र जनावर
गोरखाः आरुआर्बाङ ६ पाखुरेको पुरानो गाउँ निर्जन बनेको छ । दुई वर्षअघिको भूकम्पले सबै घर अधकल्चो पारेर भत्काएपछि स्थानीयवासी बस्तीभन्दा केहीपर बारीमा पाल टाँगेर बसेका छन् । गाउँलेले थातथलो छाडेपछि दुई वर्षदेखि पुरानो बस्तीमा जंगली जनावर बस्न थालेको स्थानीयबासी बताउँछन् ।
‘हामी गोठमा बस्छौं, हाम्रो घरमा मुसा, बिराला, स्याल बस्छन्', स्थानीय मनमाया गुरुङ भन्छिन्, ‘त्यत्रो गाउँ अहिले त चकमन्न छ ।' गाउँलेहरू पाखापखेरामा गाईभैंसीको गोठमा सुत्ने बस्ने उनी बताउँछिन् । ‘हामी गाईबाख्रासँगै सुत्छौं', गोठको ओछ्यान देखाउँदै उनी भन्छिन्, ‘गाउँचाहिँ मुसा, बिराला, स्याललाई भयो ।'
सानोपाखुरे र ठूलोपाखुरे सबै गुरुङ समुदाय मात्र बस्ने पुरानो गाउँ हो । परबाट हेर्दा यहाँका ८७ घर सबै ढुंगाले छाएका एकतले, दुईतले घर मिलेर बनेका छन् । तर भुइँचालोले गाउँलहरूको बास उठाएपछि अहिले सुनसान छ ।
‘साँझ, बिहान, दिउँसो पाखापखेरामा काम गरेरै बित्छ । थकाइ लागेको हुन्छ । राति जता पल्टे पनि भयो । एकमाना चामल पकाउन छेउछाउ जहाँ चुलो बसाले पनि भयो', अर्का स्थानीय भीमबहादुर गुरुङ भन्छन्, ‘मेरो परिबार चाहिँ ऊ त्यो गोठमा सुत्छन् । सबै गरिब छन्, उसले उसको बिचल्ली हेर्यो, उसले अर्कोको बिचल्ली हेर्यो चित्त बुझायो, यस्तै छ यहाँ छ ।' गाउँका सबै गाईबाख्रा, भैंसीको साथमा सुत्ने उनीहरू बताउँछन् । ‘सबैको एउटा न एउटा गाई, गोरु, भैंसी, बाख्रा केही न केही त हुन्छ ।
उसलाई गोठ बनाउनु परिहाल्छ । अनि हामी पनि यसो भुइँमा रात कटायो', उनी भन्छन् । भूकम्पले घरबास उठेपछि पाखुरेबासीमा नयाँ घर बनाउने सुरसार छैन । छाक टार्न दिनहुँको मेलापर्मको चटारोले घर बनाउने समय नपाएको उनीहरू बताउँछन् । ‘दिनभरि काम गर्यो, त्यहीँबाट कमाएर ल्यायो, साँझबिहानका छाक टार्यो ।
हाम्रो त सँधै यस्तै हो । घर बनाउन थाल्यो भने कसले गरिदिने पाखापखेराको काम ? ' अर्का स्थानीय लालबहादुर गुरुङ भन्छन्, ‘आफ्नो थलोकिल्लै त्यस्तो भइगयो । न गाँसको ठेगान भो, न बासको ।' घरमा जायजेथा नभएकाले चोर लाग्ने डर पनि नभएको उनी बताउँछन् । ‘यहाँ त सबै एकछत्तै हो, समान हो ।
न कसैको जागिर, न कसैको आयआर्जन, कसको घरमा के हुन्छ र ? ' साना छोराछोरीलाई पनि ढोका नभएको घरमा सुत्ने बानी परेको बताउँदै उनी भन्छन्, ‘ढिँडोसिस्नो खायो, गोठमा सुत्यो । घरै छैन, ढोकै छैन के लगाउने ? छेउछाउमा घरका बूढाबूढी सुत्ने, कुनाकानीतिर बालबच्चा सुताउने हो । ढोका नभएको घरमा सुत्ने बानी भइसक्यो भुराभुरीलाई पनि । डराउँदैनन् ।'
हामी गोठमा बस्छौं, हाम्रो घरमा मुसा, बिराला, स्याल बस्छन् । त्यत्रो गाउँ अहिले त चकमन्न छ । गाउँलेहरू पाखापखेरामा गाईभैंसीको गोठमा सुत्छन् । हामी गाईबाख्रासँगै सुत्छौं । गाउँचाहिँ मुसा, बिराला, स्याललाई भयो । मनमाया गुरुङ स्थानीय, आरुआर्बाङ गोरखा
गाउँको घरमा बस्नेस्थिति छैन । टहराको त्रिपाल पनि झुत्रिएर दुःख पाएको पाखुरेबासीको गुनासो छ । ‘सबै धराप छ, कसरी जाने गाउँको घरमा ? ' लालबहादुर भन्छन्, ‘टहराको बास, मुसाले धुजाधुजा पारिसकेको छ । पानी परेपछि पालले धान्न छोड्यो । हावाहुरी आउँदा पनि डरै छ ।' सबैको घर भत्किए पनि कतिपय लाभग्राहीको सूचीमा नपरेको भन्दै उनले दुःख व्यक्त गरे ।
पाखुरेगाउँभन्दा तल ठूलो पहिरो छ । पहिरोको जोखिमका कारण भूगर्भविद्ले भूकम्पपछि यहाँका गाउँलेलाई स्थानान्तरण गर्नुपर्ने भनी सिफारिस गरेका थिए । तर सरकारले कार्यान्वयन तहमा नजाँदा पाखुरेवासी पहिरोमाथि असुरक्षित बसोबास गरिरहेका छन् ।