भारतले मनाइयो गणतन्त्र दिवस
नयाँ दिल्लीः भारतमा बिहीबार ६८ औं गणतन्त्र दिवस भव्य रूपमा मनाइएको छ । कार्यक्रममा विभिन्न झाँकीहरू प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा भारतीय सेनाले आफ्नो युद्ध कौशल प्रदर्शन गरेको छ । राजपथमा संयुक्त अरब इमिरेट्सका १४४ सैनिकले पनि प्रदर्शन गरेका थिए । लेफ्टिनेन्ट कर्नल अबुद मुसाबेह अबदु मुसाबेह अलगफलीले इमिरेट्सको सेनाको नेतृत्व गरेका थिए । अबुधाबीका राजकुमार मोहम्मद बिन जायद अल नाहयान मुख्य अतिथिको रूपमा गणतन्त्र दिवसमा सहभागी थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ६८ औं गणतन्त्र दिवसका अवसरमा सर्वसाधारणसँग पैदल भेट गरेका छन् । उनले राजपथमा जाँदै गर्दा अचानक सर्वसाधारणलाई भेटे र हात हल्लाउँदै अभिवादन गरे । गत वर्ष पनि कडा सुरक्षा हुँदाहुँदै पनि यसैगरी सर्वसाधारणलाई भेटेका थिए ।
गणतन्त्र दिवसका अवसरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राजपथमा भारतको झण्डा फहराएका थिए ।
असम र मणिपुरमा विस्फोट
भारतको गणतन्त्र दिवसका अवसरमा पूर्वोत्तर राज्य असम र मणिपुरमा सातवटा बम विस्फोटन भएका छन् । भारतीय प्रहरीका अनुसार असममा शान्ति वार्ताको विरोध गर्दै आएको उल्फाः स्वतन्त्रले चराइडो, शिवसागर, डिब्रुगढ र तिनसुकिया जिल्लामा बम विस्फोट गराएको थियो ।
डिब्रुगढमा गणतन्त्र मनाइरहेका बेला झण्डा फहराउँदै गर्दा ५०० मिटर पर विस्फोटन भएको थियो । यसैगरी कडा सुरक्षा भएपछि भीडमा आक्रमणको प्रयास असफल भएपछि विद्रोहीले चिया बगान नजिकैको नालामा बम प्रहार गरेका थिए ।
आन्ध्र प्रदेशमा पनि विशेष राज्यको दर्जा माग गर्दै प्रदर्शनमा उत्रिएका १ सयभन्दा बढीलाई विशाखापत्तनम्बाट हिरासतमा लिएको छ । विस्फोटपछि असमका मुख्यमन्त्री सर्वानन्द सोनोवालले उग्रवादविरुद्ध लडाइँ जारी राख्ने घोषणा गरेका छन् ।