विवाह हुँदा बच्चै थिएँ
जीवनमा नायिका बन्छु भन्ने लागेको थियो ?
कहिल्यै पनि सोचेको थिइनँ । तर, समयको खेल रहेछ । रेडियो टेलिभिजनमा जति काम गरेँ त्योभन्दा बढी पहिचान चलचित्रले दियो । त्यसैले म यही क्षेत्रका लागि फिट रहेछुजस्तो लाग्न थालेको छ ।
चलचित्रमा प्रवेश गर्ने मौका कसरी जुर्यो ?
म टेलिभिजनमा काम गर्थें । चलचित्र नोभेम्बर रेनका निर्माता सुवास गिरीले तपाईंलाई म्याच गर्ने रोल छ, खेल्नुपर्छ भन्नुभयो । सुरुमा दोधार भयो । स्क्रिप्ट हेरेपछि ओके गरेँ ।
पहिलो चलचित्र नोभेम्बर रेनपछि त चलचित्र खेल्दिनँ भन्नुभएको थियो ?
भनेकै हुँ । त्यस बेला अवस्था त्यस्तै थियो । तर, पछि दर्शकबाट आएको फिडब्याक र मागले गर्दा यो क्षेत्रबाट अलग रहन सकिनँ । चैत्यदेवी, बसुन्धरा भुसालजस्ता अग्रज दिदीहरूदेखि नयाँ पुस्ताका साथीले हौसला दिएपछि निरन्तरता दिने निर्णय गरेँ ।
डायरीबाट निर्मात्री पनि बन्नुभयो ?
चलचित्र क्षेत्रसँग जोडिएको सातआठ वर्ष भयो । पछिल्लो समय यो क्षेत्र पनि राम्रो हुँदै जाँदैछ । त्यसैले अभिनयसँगै निर्माण पनि सुरु गरेको हुँ ।
के छ डायरीमा ?
वास्तवमा चलचित्रलाई ‘लार्जर देन लाइफ' मानिन्छ । यो चलचित्रमा कमेडी, प्रेम, एक्सन सबै छ । चलचित्र हेर्दा वास्तविक लाग्छ । रेखा थापा पहिलोपटक नकारात्मक भूमिकामा हुनुहुन्छ । समग्रमा चलचित्र दर्शकले चाहेअनुसार छ । हामीले मल्टी र सिंगल दुवैलाई थिएटरलाई टार्गेट गरेका छौं ।
चलचित्रमा आइटम गीत किन ?
कथासँग जोडिएको छ । चलचित्र हेरेपछि दर्शकले त्यसको महत्व अनुभव गर्नुहुन्छ ।
नायिका कि निर्मात्री बन्न गाह्रो ?
दुवै सजिलो छैन । तर, मन परेको काम गर्दा जति नै गाह्रो भए पनि रमाइलो लाग्दो रहेछ । निर्मात्रीमा बढी जिम्मेवारी ।
भविष्यमा निर्माण कि अभिनयले प्राथमिकता पाउला ?
दुवैलाई मिलाएर अघि बढ्छु । अभिनय नियमित होला तर निर्माणचाहिँ त्यति छिटो सम्भव हुँदैन ।
ग्ल्यामरस नायिकाको क्रेज छ, तपाईंले त्यो छवि बनाउने सम्भावना ?
मलाई ग्ल्यामरभन्दा पनि अभिनयमै डुबेर काम गर्न रहर लाग्छ । तर, आवश्यक परे ग्ल्यामरस पनि हुनुपर्छ ।
वास्तविक जीवनमा फेरि कसैको नायिका बन्ने मन होला नि ?
समय छ । जीवनमा विभिन्न फेज आउँछ । विगतका अनुभवका आधारमा भविष्य बन्दै जाने हो । बेला आउँछ ।
वैवाहिक जीवनको दशक सम्झिँदा कस्तो लाग्छ ?
विवाह हुँदा बच्चै थिएँ । १६ वर्षमै विवाह गरेँ । त्यो समय कसरी बित्यो थाहै पाइनँ । अनुभव मिश्रित रह्यो ।
विवाह के रहेछ ?
समाज र वंश चलाउने एउटा रीति होला । वैवाहिक जीवन सफल हुने नहुने भन्ने पनि समयले तय गर्ने रहेछ । विवाह गर्ने नगर्ने भन्ने पनि संयोग रहेछ ।
एक्लो जीवन खल्लो लाग्दैन ?
म एक्लो छैन । परिवार, साथीभाइ छन् । साथमा पति हुनैपर्छ भन्ने छैन । अहिले व्यस्तता बढ्दो छ । त्यो विषयमा सोच्दा पनि सोच्दिनँ ।
जीवनमा परिवारको साथको महत्व ?
मेरो जीवनमा परिवारको साथले सबभन्दा ठूलो अर्थ र महत्व राखेको छ । मैले १६ वर्षमै विवाह गरेँ स्वीकार्नुभयो । दशकपछि अब सिंगल बस्छु भनेँ, मान्नुभयो । नायिका बन्छु, चलचित्र निर्माण गर्छु भनेँ, हरेक कुरामा परिवारको साथ रह्यो । सबै कुरामा आमाबुवाको सहयोगले मलाई जिम्मेवार पनि बनाएको छ ।
आफ्नो सबल पक्ष के लाग्छ ?
जीवनमा के चाहेको छु भन्ने थाहा पाउनु ठूलो कुरा हो । अर्को आत्मविश्वास र मेहनत ।
सुधार्नुपर्ने कुरा पनि होलान् नि ?
जीवनमा सिक्दै जाने हो । सुधार्नु धेरै छ । म अलि भावनात्मक छु । त्यो एउटा लेभलसम्म ठीक हुन्छ तर बढी राम्रो होइन ।
जीवनको लक्ष्य ?
चलचित्र नै हो । अब यही क्षेत्रमा काम गर्ने निर्णय गरेको छु ।