काठमाडौंमा मम ट्रिप
हेल्लो गाइज !
सपिङ सकियो ? घुमघाम भयो ? कति उभिएरै गफ गर्नु ? हिँड्नुस् मम खान जाऊँ ।
त्यसो त मम हाम्रो लोकप्रिय परिकार नै हो । प्रायः मम नै खाइरहेका हुन्छौं हामी । तर, खाने कहाँ ? यसको कुनै एउटै स्पट छैन । अहिले काठमाडौंका हरेक गल्ली, चोकहरूमा मःम पसल खुलेका छन् ।
त्यो पनि विभिन्न भेराइटीको । प्रायःले आफ्नो बासस्थान वा कार्यक्षेत्र वरपरकै मम पसलमै अड्डा जमाइरहेका हुन्छन् । तर पारखीको पारा नै बेग्लै । उनीहरू ममको परख गर्छन् र विशेष ठाउँको मम सिफारिस गर्छन् । जस्तैः बुद्धिसागर । आख्यानकार बुद्धिसागर मम भन्नासाथ महाबौद्धको मम सम्झन्छन् । ‘महाबौद्धको मम' भनेर परिचित त्यो पसलको ममसँगै पाइने पिरो अचारको पारखी हुन् उनी ।
ममको मज्जा नै यही छ । कसैलाई ममको डल्ला मनप र्छ कसैलाई त्योसँग आउने झोल अचार । ‘डल्लाले नअघाउनेहरू झोलले अघाउँछन्', गीतकार भूपेन्द्र खड्काको अनुभव छ । पारखीको आआफ्नै पारा । कसैलाई कतैको मन पर्छ, कसैलाई कतैको । तर, हामी भने जाऊँ कोर काठमाडौंको केही मम स्पटहरूमा । लौ सुरु गरौं, सुन्धाराबाट ।
सुन्धारा मम
यो मम पसलको नाम के हो ? यो प्रश्न मुख्य होइन । यसको नाम सहरले आफंै राखिदिएको छ, ‘सुन्धाराको मम ।' भुइँचालोले भत्काएको धरहराको भग्नावशेषको आडैमा रहेको यो मम पसलमा जहिले पनि भीडभाड हुन्छ । हेर्नुस् त अहिले पनि कस्तो भीड छ ? तपाईंलाई यहाँको सिस्टम त थाहा छ नि ? सबैभन्दा पहिला काउन्टरमा पैसा तिरेर कुपन लिनुपर्छ । यहाँ बफ, चिकन, भेज तीनवटा आइटम पाइन्छ । तपाईं के खाने ? ओके तपाईंको रुचिअनुसारको कुपन लिनुस् । र त्यसैको लाइनमा लाग्नुस् । भेज, चिकन र बफको बेग्लाबेग्लै लाइन देख्नुभयो नि ?
तात्तातो मम बोतामा राखेर तपाईंको हात पर्छ । छेवैमा राखिएको टुथ पिकले घोचेर खाने हो । चम्चा पाइँदैन यहाँ । चाहिएजति टुथ पिक लिनुस् । ल छेवैको कुनै पनि बेन्चमा बसेर खान स्वतन्त्र छौं । खाएपछि बोता भने डस्टबिनमै राख्नुपर्छ नि । दायाँ, बायाँ, अगाडि, पछाडि जताततै मम खानेको भीड देखेर अनौठो नमान्नुस् । यही नै हो यहाँको परिचय । ऊ त्यो पल्लो बेन्चमा कलेजियनहरूको जमात देख्न सक्नुहुन्छ । ऊ पल्लो कुनामा एक जोडी एकआपसमा मस्किँदै मम खाइरहेछ । हामी भने छेवैका यी तीनसँग कुराकानी गरौं ।
सुनिल सिंह, विनोद सिंह र ललिता सिंह यी तीन सपिङका लागि आएका रे । प्रायः सपिङपछि यहीँ मम खान आउँछन् रे, यसै भने सुनिलले । ललितालाई भने यहाँको पिरो अचार मन पर्दो रहेछ । ‘सुन्धारानजिकै आएपछि यहाँको मम नखाई जान मन लाग्दैन', विनोदको अनुभूति । ल यी ममका पारखीलाई यहीँ छोडेर हामी अर्को स्पट जाऊँ ।
कमलपोखरी मम
कवि विमला तुम्खेवाको प्रिय मम स्पट हो यो । त्यसो त एभरेस्ट मम काठमाडौंको ब्रान्ड मम हो । करिब ३० वर्षपहिले खुलेको यो ब्रान्डका विभिन्न पसलहरू छन् । टन्न पाइने झोल यसको विशेषता हो । झोल चुर्लुम्म डुबेको मम मुखसम्म पुर्याउनुको मज्जा ममपारखी नै नभई बुझ्न गाह्रो छ । एभरेस्ट ममको स्वाद जिब्रोमा टाँसेपछि अर्को स्पट जाऊँ अब ।
ल ल कहाँ घुमाउनुभएको तपाईंको बाइक ?
हिँड्नुस् पुतलीसडक जाऊँ । पुतलीसडक चोकमा नेपाल यातायातको स्टपनेरैको ठेला पनि अर्को स्पट हो । छेवैको ठूलो भवनको ग्राउन्ड फ्लोरको रेस्टुरेन्टमा तपाईं सिजलिङ मम खान सक्नुहुन्छ । प्लेटमा आउँदा पनि पाकिरहेको हुने सिजलिङ ममको मज्जा बेग्लै छ । तर, हामी जाऊँ स्वादिलो मम खान । कुमारी हल जाने गल्लीको मुखैमा हरियो रङ लगाएको सर्टर नै स्वादिलो मम पसल हो ।
स्वादिलो मम
यसका मालिक हुन् जुल्फे तामाङ । ३० वर्ष भयो रे सुरु गरेको । ‘स्वादिलो मम' भन्नासाथ काठमान्डुभर प्रख्यात छन् यी । बफ मममात्रै बनाउँछन् यी । किमामा प्रयोग गर्ने भिन्दै मसलाका कारण लोकप्रिय छन् यी । यो रुट भएर हिँड्नेहरू यहाँको मम छुटाउँदैनन् । यहीँ भेटिए रवि रूपाखेती । रुटमा परेर पसेको रे ।
खान सजिलो, समय बच्ने भएकाले मम मन पराउँदा रैछन् यी । स्वादिलो मम र जमलको पुलनेरका ममका पारखी । अर्का मिलन पौडेल पनि यहीँका पारखी । गीतकार खड्का त भन्छन्, ‘मम भनेपछि स्वादिलो मम नै हो । अरू होइन ।' स्वादिलो ममपछि यही गल्ली हुँदै सिटी सेन्टर निस्कौं । त्यहाँबाट दायाँ मोडेर डिल्लीबजार उकालो हुँदै कालिकास्थानको भ्यारभ्यारे मम जाऊँ, हुँदैन ?
भ्यारभ्यारे मम
आख्यानकार कुमार नगरकोटी भन्छन्, ‘मम खाँदा स्टोभको भ्यारभ्यार आवाज आएन भने मज्जा हुँदैन । स्टोभको भ्यारभ्यारले गफमा डिस्टर्ब गरेपछि मात्र मम खानुको मज्जा आउँछ ।' उनको अर्को सर्त पनि छ, ‘मममात्रै बनाउनुपर्छ ।'
कालिकास्थानको ‘भ्यारभ्यारे मम' पसलमा नगरकोटीका सबै सर्त पूरा हुन्छन् । स्टोभको भ्यारभ्यार आवाजसहित मम पाइने भएकाले नै भ्यारभ्यारे मम नाम भएको हो यसको । इच्छाकुमार शाक्यले चलाइरहेका छन् अहिले यो पसल । २५ वर्ष पुरानो भइसक्यो रे पसल थापेको पनि । दिनमा पाँच सय प्लेटको सेरोफेरोमा मम बेच्छन् उनी ।
कालिकास्थानबाट न्युप्लाजा हुँदै अब हामी लागौं भृकुटीमण्डपतिर । भृकुटीमण्डपको ब्याकसाइडमा लहरै बसेका मम पसलमध्ये ‘टाइसनको मम' खानुभएको छ ? त्यहाँको अचारको स्वाद जिब्रोमै बस्छ । याम्मी छ याम्मी ।
याम्मी मम पाउने ठाउँ धेरै छन् काठमाडौंमा । फेरि सबैले बफ नखान पनि सक्छन् । कसैलाई त पोर्क चाहिन्छ, कसैलाई भेज । निबन्धकार कुमारी लामालाई चिकन मम रुचेजस्तै । गोँगबुको ‘सी एन्ड बी क्याफे'को चिकन ममकी पारखी हुन् रे उनी । तपाईंको पनि आफ्नै डेस्टिनेसन होला । तर, एक ठाउँको मम मात्रै खानु ममको मज्जा होइन । मम त ठाउँठाउँको चाखिरहनुपर्छ । मम स्पट चेन्ज भइरहनुपर्छ किनभने काठमान्डुमा मम स्पटको कुनै कमी छैन । काठमान्डुलाई काठमान्डुको साटो मममान्डु भने कसो होला ?
मम भनेकै काठमाडौंको
कुमार नगरकोटी, लेखक
मम भन्नासाथ काठमाडौंकै हुन्छ र त्यो पनि बफ । काठमाडौंबाहिर मम खानु उतिसारो मज्जा हुँदैन । किनभने यो काठमाडौंसँग जोडिएको विशेष परिकार हो । काठमाडौंको जीवनशैलीसँग मम गाँसिइसकेको छ । मम नखाने मानिस काठमाडौंवासी हुन गाह्रै हुन्छ ।
मलाई विशेषत पाटनको मम मन पर्छ । पाटनढोकादेखि थोरै भित्र लहरै रहेका मम पसलहरूमा खान मज्जा लाग्छ । मलाई मम मात्रै बन्ने होटलमै खान मन पर्छ । अझै मम पकाइरहेको स्टोभको भर्रर आवाज आओस्, त्यसले कुराकानीमा केही डिस्टर्ब गरोस् । बल्ल मम खानुको आनन्द पाइन्छ ।
महाबौद्धको त्यो मम
बुद्धिसागर
मैले मम खाने ठाउँ अलि बेग्लै छ । महाबौद्धको भित्रपट्टि एउटा सानो पसल छ, एकजना तामाङ दाइले चलाएको । महाबौद्धको मम भन्नासाथ पारखीहरूले चिनिहाल्छन् । १० वर्षअघि एकजना साथीले त्यहाँ लगेदेखि म त्यसको फ्यान भएको छु । ममसँगै त्यसको अचारको ठूलो महत्व हुन्छ । त्यहाँको पिरो अचारले म त्यसको फ्यान भएको हुँ ।