मम खानेलाई नै प्रकार थाहा नहुन सक्छ : यी हुन् थरीथरी मम

मम खानेलाई नै प्रकार थाहा नहुन सक्छ : यी हुन् थरीथरी मम

प्रवीण र प्रशान्त दाजुभाइ । उमेरले उनीहरू आठ र १० वर्षका । अक्षर एकेडेमीमा पढ्ने उनीहरूकी आमा फूलमाया श्रेष्ठलाई हरेक दिन खाजाको चिन्ता हुन्छ । विद्यालयमा क्यान्टिन त छ तर छोराहरूलाई कुन खाजा खुवाउने भन्ने छनोट गर्न उनलाई ‘दिक्क' लाग्छ । अन्तिममा छोराहरूले भन्छन्, ‘भो ममकै पैसा दिनुस् ।'

खाजामा छलफल हुँदा प्रवीण, प्रशान्त दाजुभाइको मात्रै रोजाइ मम हुँदैन । साथीभाइ, आफन्त र परिवार होटेल रेस्टुराँमा जाँदा वेटरले मेनु ल्याउँछन् । आगन्तुकले हातहातमा मेनु पल्टाउँछन् । हेर्छन्, विचार्छन्, अन्तिममा भन्छन्, ‘मम ल्याऊ ।' मम नेपाली खाना होइन । नेपाली भाषामा उर्दु, फारसी, अरबी, हिन्दी भाषाका आगन्तुक शब्द भएजस्तै मम चाइनाबाट भित्रिएको आगन्तुक परिकार हो ।

नेपाल भित्रिँदा ‘डल्लो' मम भित्रिए पनि करिब पाँच दशकको हाराहारीमा यसको रूप, आकार र रङमा निकै परिवर्तन आएको छ । ममको रूप, आकार, प्रकार, स्वाद र शैलीमा फरकपन आएको छ । हार्टन क्याफेका सञ्चालक तथा खानाका जानकार मुकुन्द विष्ट भने यसलाई ‘फ्युजन' भन्न चाहन्छन् । उनले आफ्नै रेस्टुराँमा फ्युजन गरेर बनाएको पिज्जा मम खुब रुचाइएको पनि छ ।

पछिल्लो समय खाजा, नास्ताको संस्कारलाई हेर्दा ‘खाजा भनेकै मम' भए पनि ममका प्रकारबारे भने धेरै ध्यान नदिइएको हुनसक्छ । समयक्रमसँगै मममा पनि निकै परिवर्तन आएको छ । यसका जानकारहरूले मममा थप नयाँपन ल्याउने क्रम सुरु गरेका छन् । जीवनका १२ वर्ष पाँचतारे होटलमा अनुभव सँगालेर एक दशकदेखि हार्टन क्याफे सञ्चालनमा ल्याएका मुकुन्द विष्ट मममा जति पनि नयाँपन ल्याउन सकिने बताउँछन् ।

सार एउटै, तरिका नयाँ


मुकुन्द विष्ट, हार्टन क्याफे
डल्लो मम
यो परम्परागत र सदाबहार मम हो । मैदाको पिठोमा किमा राखेर बफ्याएर बनाइने यो मम देशका हरेक कुनामा पाइन्छ । हरेक होटेल, रेस्टुराँले प्रयोग गर्ने मसला र अचारका आधारमा यसको स्वादमा केही फरकपन हुनु स्वाभाविक हो । हार्टनले सुरुआती दिनदेखि अहिलेसम्म पनि यो मम पस्कँदै आएको छ ।

टिबेटियन मम

लाम्चो आकारमा पाइने यो मम प्रायः होटेल, क्याफे, रेस्टुराँमा पाइन्छ । आम रूपमा खाइने मममध्ये यो पनि पर्छ । टिबेटको शैलीमा बनाइने यो मम बुट्टेदार हुन्छ । यो पनि स्टिम गरेर नै तयार पारिन्छ, जुन बजारमा जहाँतहीँ पाइन्छ ।

ओपन मम

झट्ट हेर्दा फूलजस्तै देखिने ओपन मम आँखाका लागि पनि आकर्षक हुन्छ । यसको बाहिरबाटै किमाको केही भाग देखिन्छ । ओपन ममलाई हरियो खुर्सानी, बदाम र मम अचारसँग पस्किइने हुँदा यसमा स्वाद अझ थपिएको अनुभव हुन्छ । यस खाले मम पछिल्लो समय प्रचलनमा छ ।

पिज्जा मम

हार्टन क्याफेले आफैं फ्युजन गरेर बनाएको हो पिज्जा मम । स्टिम गरेको मममा पिज्जाको सस राखेर त्यसमाथिबाट चिज थपेर ओभनमा बेक गरिन्छ । यसरी तयार पारेको मममा पिज्जा र ममको ‘ककटेल' स्वाद पाउन सकिन्छ ।

छोयला मम

स्टिम ममलाई छोयलाको ससमा पस्कने गरिए पनि हार्टनले काँचो मम तयार भएपछि त्यसलाई तन्दुरी भट्टीमा राम्ररी सेकाएर त्यसमा स्मोकी टेस्ट आउने गरी छोयलाजस्तै मोलेर पस्कने गरेको छ, जसको स्वाद छोयलाजस्तै हुने गर्छ ।

घी मम

शुद्ध घिउमा मोलेर तयार पारिएको मम घी मम हो । यो घिउमा मोलेर स्टिम गरिन्छ । घी मम खाँदा वासनादार र स्वादिलोमात्रै नभई स्वास्थ्यका लागि पनि लाभकारी मानिन्छ ।

ममको समयानुकूल मेनु


रमेश थापामगर, बाजेको सेकुवा

सेकुवाको स्वादमा ब्रान्ड स्थापित गरेको बाजेको सेकुवामा अन्य परिकार पनि कम छैनन् । सेकुवाजस्तै मममा पनि नयाँ स्वाद स्थापनामा लागेको बाजेको सेकुवामा विभिन्न भेराइटीका ममको स्वाद लिन सकिन्छ ।

गोलो मम

स्टिम गरेर बनाइएको गोलो मम बाँसको चोयाले बनाइएको बास्केटमा राखेर अचारसँगै हटससका साथ सर्भ गरिन्छ । यो सदाबहार मम नै हो । पस्कने र मसलाको स्वादमा फरक परे पनि यस्तै खाले मम आम रूपमा पाइन्छ ।

चंगा मम

बाजेको सेकुवामा पाइने चंगा मम तीन कुना परेको बुट्टेदार शैलीमा बनाइएको हुन्छ । मसलामा बटर स्वाद पाइने यो मममा साल्ट पेपर र बटर प्रयोग गरिएको हुन्छ ।

सी मम

सामान्य ममलाई अलि स्पाइसी र ग्रेभी बनाएर सी मम पस्किइन्छ । मसालेदार खाना रुचाउनेलाई यो मम निकै मन पर्छ ।

झानेको मम

तीनचोसे आर्थात् चंगा ममलाई हिट गरेको सिजलर डिसमा राखेर त्यसमाथि किमाबाट बनाइएको सस खन्याएपछि यसमा धुवाँ आउँछ । वासनादार तात्तातो झानेको मम पछिल्लो दिनमा रुचाउनेको संख्या बढेको छ ।

सुप मम

सामान्य ममसँग सुप पनि उपलब्ध गराइने मम सुप मम हो । यस्तो ममसँग एउटा छुट्टै बल वा कचौरामा किमाबाटै बनाइएको सुप पनि दिइन्छ । जाडो सिजनका लागि सुप मम निकै लाभकारी मानिएको छ । सुप किमा र हड्डी जेसुकैबाट बनाउन सकिन्छ ।

झोल मम

त्यही ममलाई टमाटरको अचारमा झोल बनाएर त्यसमा डुबाइन्छ । धनियाँ, गाँजर आदि मसिनो पारेर त्यसमा छर्किएपछि यसको स्वाद अझ उत्तम हुन्छ । बाजेको सेकुवामा यो छोप्न मिल्ने बलमा पस्किइने हुँदा धेरै बेरसम्म तातो भइराख्छ । यो पनि जाडोमा रुचाइएको मम हो ।

फ्राई मम

स्टिम गरेको ममलाई तेल तताएर फ्राई गरिन्छ । यसरी फ्राई गरेको मम नरम हुन्छ । कडा खालको फ्राई मम रुचाउनेका लागि तयार पारिएको काँचो ममलाई स्टिम नगरी तेलमा मज्जाले फ्राई गरेर विभिन्न सस र अचारका साथ सर्भ गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.