मम पारखी सेलिब्रेटी
काठमाडौंमा सबभन्दा लोकप्रिय खाद्य परिकारमा मम।खान छिटो, सजिलो, सस्तो र स्वास्थ्यवद्र्धक भएकाले ममले यो स्थान ग्रहण गरेको हो। पछिल्लो समय राजधानीमात्रै होइन विभिन्न शहरदेखी गाउँसम्म मम लोकप्रिय भइसकेको छ।सामान्य चमेनागृहदेखि सपिङ मलका भव्य रेस्टुरेन्टमा समेत मममा भेराइटीहरु पाइन्छ। आफुले चाहे अनुसारको स्वाद र फ्लेबरमा पाइने हुनाले पनि ममको पारखी बढेका हुन्। सेलिब्रटीहरु पनि ममका पारखी देखिएका छन्।
सुपमा हालेर खाँदा स्वादिलो
सुबिन लिम्बू, पूर्वमिस नेपाल
म धरानको मान्छे भएकाले मलाई बोसोसहितको पोर्क मम मन पर्छ। पोर्कको हड्डीको सुपसँगै गोलभेडा र अकबरे खुर्सानीको अचारसँग मम खाँदा मज्जा आउँछ। यस्तो मम मैले काठमाडौंमै नदेखेकाले धरान गएको बेलामा मम र सेकुवा खान छुटाउँदै छुटाउन्नँ।
जाडो गर्मी सधैं महिनामा करिब दुई तीनपटक मेरो घरमा पाक्छ मम। भेजमा बन्दाकोभीको मम मन पर्छ। कहिलेकाहीँ व्यस्त भइयो भने रेडिमेड मम ल्याएर पकाउने गर्छु।
यसरी बनाउँदा पाकिसकेको चनाको दालमा मम हालेर उमालेर खाए पनि हुन्छ। होइन भने रारा चाउचाउ पकाउँदा सँगै मम पनि हालेर उमाली छिटोमीठो मम खान पाइन्छ। मम साजीमात्रै होइन, बासी झनै मीठो हुन्छ। ममलाई तताएर वा रारा सुपमा हालेर खाँदा साह्रै स्वादिलो हुन्छ।
पैसा उठाएर मम खाइन्थ्यो
दिया मास्के, नायिका
मलाई टिबेटियन शैलीको मम मन पर्छ। काठमाडौंका धेरै ठाउँमा मम खाएको छु। त्यसमध्ये मलाई मम म्याजिक, ड्र्यागन लगायतका ठाउँका मम बढी मन पर्छ। कालिकास्थानको एभरेस्ट मममा गएर झोल हालेको ममचा खाएको पनि बिर्सेको छैन।
बाल्यकालमा छरछिमेकबाट समेत पैसा उठाएर साथीसँग मम खान जाने गथ्र्यौं। सानो छँदादेखि नै मम खाएरै हुर्किएकाले पनि होला, मम मलाई असाध्यै मन पर्छ। अहिले पनि साथीहरूसँग रेस्टुराँ जाँदा पूरै मेन्यु हेरिसकेपछि अन्तमा अर्डर गर्ने भनेको मम हो। म आफैं पनि कहिलेकाहीँ घरमा पाहुना आउँदा खुवा, भेज, चिकेन अनि बफ मम बनाउने गर्छु।
लन्च र डिनर दुवैमा मम
न्ह्यु वज्राचार्य, संगीतकार
कुनै पनि रेस्टुराँमा एकदमै भोकाएर गएको बेलामा सबभन्दा बढी विश्वास लाग्ने भनेको मम हो। कुनै बेला मासं गल्लीमा गएर कुपन लिई लाइनमा बसेर मम खाइन्थ्यो। फुटबल खेलेर भोक र थकान भएको बेलामा त्यहाँको सानदार मम खाँदाको फुर्ती नै बेग्लै हुन्थ्यो।
रञ्जना हलअगाडि पाइने आरसी ममको स्वाद खोज्नलाई आज पनि म घरिघरि हरेक पसलमा जाने गर्छु। हिजोआज भने मलाई म्याजिक मम मन पर्छ। डल्ले मम पनि धेरै खाइयो। झम्सिखेलको 'लत्रियो' रेस्टुराँमा पनि झोल मम धेरै खाइयो।
खिचापोखरीको न्यु डिस्कको पोर्क मम पनि निकै स्वादिलो हुन्छ। बच्चा बेलामा खुवा राखेर बनाएको मम मीठो लाग्थ्यो। म मम खान सोखिन हुँ, बनाउन होइन। तर पनि घरमा बनाउँदा राम्रो नबने पनि प्रयास गर्छु। मम मेरो लागि लन्च र डिनर दुवै हो।
भातपछिको खाना मम
भुवन केसी, नायक
मम नेपालीको उत्कृष्ट खाजा हो। करिब ९५ प्रतिशत नेपालीले मम मन पराउने हुनाले म पनि तिनैमध्येमा पर्छु। मलाई विशेष गरी चिकेन मम मन पर्छ। मलाई टिबेटियन टपाउ मम मन पर्छ। यो ठूलोठूलो आकारको हुन्छ। पछि आएको ममचा पनि धेरै खाएँ।
मीठो ममचा खानलाई ठेट नेवारी खाजाघरमा जानुपर्ने हुन्छ। बाटोबाटोमा बेच्ने सानदार मम पनि मीठै हुन्छ। दार्जिलिङतिर पाइने पोर्कको पातलो मम पनि सुपसँग निकै स्वादिलो हुन्छ। मम जसले पनि खानसक्ने खाना हो।
मम नभए नेपालीले खाजा के खान्थे होलान् जस्तो लाग्छ मलाई। जाडो मौसममा त मम खान झनै मजा आउँछ। म प्रायः नाङ्लोमा गएर मम खान्छु। दाल भातपछिको खाना नै मम हो। सुटिङमा पनि कहिलेकाहीँ खान्छौं। खानको सोखिन भए पनि जीवनमै मैले कुनै पनि खाना आफैं बनाइनँ।
चिकेन र मटन मम मिठो
मौसमी गुरुङ, गायिका
मलाई मसलावाला मम धेरै मन पर्दैन। मममा मसला धेरै भए मासुको स्वाद नै आउँदैन। त्यसैले अदुवाको पेस्ट, धनिया, प्याज मसिनो पारेर हालेको मात्रै मन पर्छ। म खाना बनाउँदा पनि अदुवा लसुनबाहेक अरू मसला खासै हाल्दिनँ। भेज मम बनाउँदा भने पनिर र कहिलेकाहीँ प्याज र बन्दाको पनि बनाउँदा मीठो हुन्छ।
मलाई मम राम्रोसँग पोको पार्न आउँदैन। तर पनि घरमा बेलाबेलामा बनाइरहेको हुन्छु। म पोर्क र बफ खान्नँ, चिकेन र मटनमात्रै खान्छु। दार्जिलिङतिर टी मम पाइन्छ। घरमा पनि ममीले बनाउनुहुन्थ्यो। यही बानी परेकाले पनि होला, मलाई धेरै मन पर्छ। अहिले न्युरोडमा रहेको दार्जिलिङ मममा खाँदा मीठो लाग्छ। झोल मम त्यति मन पर्दैन। झोल मम खानुसट्टा मटन सुपमा बनाएको थुक्पा नै बढी खाने गर्छु।
मासुको स्वाद मेट्छ
रेश्मा सुनुवार, गायिका
मम मेरो सबैभन्दा मन पर्ने परिकार हो। धेरै भोग लागेको बेलामा झोल हालेको मम सम्झना आउँछ र खान पनि गइहाल्छु। मम घरमै पकाउँदा पनि रमाइलो हुन्छ। कसैले पिठो मुछ्ने, कसैले किमा बनाउने त कसैले अन्य सब्जी काट्दा माहोल नै अर्कै हुन्छ।
मम भनेको कि बफ कि त पोर्क नै हुनुपर्छजस्तो लाग्छ मलाई। छालाले गर्दा चिकेनको मम त प्याल्ल परेर आउँछ। खाँदा पनि आलु खाएजस्तै लाग्छ। म बफ किमामा हरियो प्याज, अदुवाको रस, मरीचको धुलो र नुन हालेर मम बनाउने गर्छु।
यसको स्वाद नै अर्कै आउँछ। मसलेदार र अजिनो मोटो हालेको मम स्वास्थ्यका लागि पनि त्यति लाभदायक नहुने हुँदा मलाई मन पर्दैन। मलाई ठूलो स्टोभमा बनाएको लोकल मम नै बढी मन पर्छ।
हामी सानो हुँदा टमाटरको झोलमा चोपेर खाएको ममको स्वाद अझै बिर्सिएको छैन। हिजोआज त तिल र सेतो भटमासको झोलको अचार नै बढी चल्तीमा छ। साथीहरूसँग भेट्दा पीरो खालको सी मम खान मन लाग्छ। मम झटपट खान सकिने परिकार हो। यसले मासुको स्वाद पनि मेट्छ र आडिलो पनि हुन्छ। काठमाडौंको मौसमले पनि मम पारखीलाई साथ दिएको छ।