वर्षा र हिमपातले पाकिस्तानमा २२ जनाको मृत्यु
इस्लामाबाद: पाकिस्तानमा वर्षासम्वन्धी घटनाका कारण पछिल्लो चार दिनमा कम्तीमा २२ जनाको मृत्यु भएको छ।
पाकिस्तानको दक्षिणीपश्चिमी क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तमा भएका छुट्टाछुट्टै घटनामा १७ जनाको मृत्यु भएको र अरु १८ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएको छ।
प्रान्तीय राजधानी क्वेटासहित शेरानी, क्वालात, मुस्ताङलगायतका जिल्लामा केही दिनदेखि वर्षा, हिमपात भइरहेको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीले शुक्रबार जानकारी दिएका छन्।
पाकिस्तानको अर्को उत्तरपश्चिमी क्षेत्रमा रहेको खैबर पख्तुनख्वा प्रान्तमा पाँच जनाको मृत्युभएको र अरु केही घाइते भएको उर्दु टिभी च्यानलले जनाएको छ। उनीहरुको बर्षाका कारण सवारी दुर्घटनामा पनि मृत्यु भएको हो। गत चार दिनमा ४४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
बलुचिस्तानका गृह मन्त्री मिर सर्फाराज बुग्टीले अत्यधिक वर्षाका कारण विभिन्न ठाउँका सडक अवरुद्ध भएको जानकारी दिए।
उनले पीडितलाई सरकारले उद्धारका लागि सहयोग गर्नुका साथै राहात सामग्री पनि वितरण गरिरहेको बताए।
उद्धार तथा राहातका लागि सेनाको दुई वटा हेलिकोप्टर परिचालन गरिएको गृहमन्त्री बुग्टीले जानकारी दिए। रासस/सिन्ह्वा