कर्णालीमा भारी हिमपात : जनजीवन प्रभावित
जुम्लाः हिउँदे मनसुन सकिनै लाग्दा कर्णालीमा भारी हिमपात भएको छ । यसअघि दुईपटक सामान्य रुपमा हिमपात भएको कर्णालीमा शुक्रबार बिहानैदेखि हिमपात सुरु भएको हो । हिमपातपछि अत्यधिक रुपमा चिसो बढेको छ ।
हिउँदको अन्त्यमा भारीमात्रामा वर्षा भएपछि किसान खुसी भएका छन् भने शुक्रबार बिहानदेखि कर्णालीमा चिसो बढेको छ । बिहान करिब ५ बजेदेखि नै पानी परेको र सात बजेदेखि हिउँ पर्न थालेपछि यहाँको जनजिवन कष्टकर भएको छ ।
बिहानैदेखि कर्णालीका जुम्ला, मुगु, हुम्ला, डोल्पा र कालिकोट जिल्लामा हिमपात भएको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।
सुरुवातीमा पानी परे पनि क्रमश चिसो बढ्दै गएपछि भारी मात्रामा हिमपात भएको हो । हावापानी फिल्ड कार्यालयका अनुसार कर्णालीमा यस वर्षकै तेस्रो पटक शुक्रबार हिउ परेको हो । बिहानैदेखि निरन्तर रुपमा हिमपात भइरहेको छ ।
स्थानीयहरु चिसोका कारण दिनभर बाहिर निस्कन सकेनन् भने दिनभर यातायात सेवा पनि ठप्प भएको छ । कालिकोट र जुम्ला बाहेक कर्णालीमा अन्य जिल्लामा यातायातको एकमात्र साधनका रुपमा रहेको हवाइ यात्रा समेत निरन्तर हिमपातका कारण ठप्प भएको हो ।
यस्तै, जुम्लामा पनि हिमपातका साथै चिसो बढेपनि शुक्रबार दिनभर सडक सवारी पनि चल्न सकेनन् ।
हिमपात हुने क्रम जारी छ, हिउँ परेपछि दैनिक हुने धेरैजसो कामकाज सबैका प्रभावित भएका भएका छन् । बजार बन्द हुनुका साथै शुक्रबार सरकारी कार्यालयमा समेत कामकाज ठप्प भएको छ ।
हिउँ परेपछि जुम्लामा विद्युत सेवा प्रभावित भएको छ । सोलारबाट सञ्चालन हुने कर्णालीका सञ्चार माध्यमहरु पनि दिनभर घाम नलागेपछि बन्द हुने अवस्थामा पुगेका छन् ।
शुक्रबार साँझसम्म जुम्लामा १४ सेन्टीमिटर हिउँ परेको छ । बिहीबारसम्म अधिकतम २० डिग्री रहेको तापक्रम शुक्रबारको हिमपातपछि १ डिग्री मा झरेको छ ।