हेलिकोप्टर कैलाली जान नसकेपछि राष्ट्रपतिले फोनबाटै गरिन् खानेपानी उद्घाटन
दाङ : राष्ट्रपति विद्यादेवी भण्डारी चढेको हेलिकोप्टर दाङको भालुवाङमा आकस्मिक अवतरण गरिएको छ। राजधानीबाट धनगढीका लागि उडेको नेपाली सेनाको ‘कुमा’ हेलिकोप्टर दाङको भालुवाङमा रहेको सशस्त्र प्रहरीको ज्वाला मार्इ गणमा आकस्मिक अवतरण भएको हो ।
प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेका अनुसार हेलिकोप्टरमा राष्ट्रपति भण्डारीका साथमा पूर्व गृहमन्त्री भीम रावलसहित १२ जना सहभागी थिए । दिउँसो एक बजेतिर अवतरण भएको हेलिकोप्टर दिउँसो कैलाली जान पुनः उडेको भए पनि बाँकेको शम्शेरगञ्ज पुगेर पुन दाङमै फर्किएको छ ।
मौसम बदली भएपछि धनगढी जान नसकेकी राष्ट्रपति शुक्रबार राति नेपाली सेनाको रिपुमर्दन गण घोराहीमा बस्ने भएकी छिन् । राष्ट्रपति भण्डारीले प्रजिअ काफ्ले र १९ नम्बर बाहिनीपति विनोद पाण्डेसँग मात्र कुराकानी गरेकी छिन् ।
टेलीफोनबाटै खानेपानी आयोजनाको उद्घाटन
धनगढीः दिनभरी मौसमले साथ नदिएपछि, राष्ट्रपति विद्यादेवी भण्डारीले धनगढीको शिवनगर दोश्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाको दाङको घोराहीमा बसेर, टेलीफोनबाट सम्बोधन गरेर उद्घाटन गरेकी छिन् ।
यसअघि दुई पटकसम्म उद्घाटन स्थगित गरिएको शिवनगर दोस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाको शुक्रबारको उद्घाटन पनि राष्ट्रपति आउन नसकेपछि, टेलीफोन बाटै गरिएको उपभोक्ता समितिका अध्यक्ष नारदमुनी रानाले बताए ।
धनगढीमै रहेकी, राष्ट्रपतिकी स्वकीय उपसचिव दीपा शर्माले, राष्ट्रपति आउन नसकेपछि टेलीफोनबाट उद्घाटन गरिने जानकारी दिएकी थिइन । कार्यक्रम स्थलमा उपस्थित हजारौं उपभोक्ताहरु, राष्ट्रपतिको टेलीफोन भाषण सुनेर फर्किएका थिए ।
१८ करोड १२ लाख २६ को लागतमा निर्माण सम्पन्न भएको आयोजनामा ५० प्रतिशत सरकार र ५० प्रतिशत उपभोक्ताको लागत छ । शिवनगर खानेपानी आयोजनाले धनगढी उप–महानगरपालीका १, ५ ७ र ८ का झण्डै दुई हजार परिवारलाई पानी वितरण गरेको छ।