हुम्लामा हिमपात : तापक्रम माइनस २१ पुगेपछि धारामा पानी जम्यो
सिमकोट : यो वर्षकै ठूलो हिमपातले हुम्लाका उत्तरी क्षेत्रका वासिन्दाको जीवन कष्टकर बन्दै गएको छ। शुक्रबार बिहानदेखि लगातार हिमपात भएपछि अहिले हुम्ला सदरमुकाम सिमकोटमा झण्डै दुई फिट हिउँ जमेको छ। जिल्लाको उत्तरी क्षेत्रका लिमी र मुचुमा साढे तीन फिट हिउँ जमेको छ।
तेस्रो पटक परेको हिउँले एक घरबाट अर्को घरमा जाने बाटो समेत बन्द भएको मुचु ६ तुम्कोटका छपाल लामाले जानकारी दिए। उनका अनुसार शुक्रबार बिहानदेखि लगातार परेको हिउँले स्थानीय वासिन्दा घरबाट निस्कनै सकेका छैनन्।
शुक्रबार हिउँ परेपछि त्यहाँको तापक्रम माइनस २१ पुगेको छ। लामाले भने, ‘यो हिउँले त चिसो बढायो। चिसोले खाने पानी लिन पनि जान नसक्दा स्थानीयवासी आँगनमा परेको हिउँलाई आगोमा पगालेर खाँदै छन्।’
यही मात्रामा हिउँ परे शनिबारसम्म ५ फिट पुग्ने स्थानीयको भनाइ छ। हिउँले उत्तरी क्षेत्रका खगाउलगाउँ, हेप्का, स्याँडाको जनजीवन समेत निकै कष्टर बनाएको छ।
हिमपातले एक गाउँदेखि अर्कोगाउँमा जाने बाटो बन्द भएका छन्। बाक्लो हिउँ परेपछि घरभन्दा टाढा राखिएका पशुवस्तु चराउन जान समस्या भएको डाँडाफयाका मन्दीर सिंहले जानकारी दिए।
हिमपताले जिल्ला सदरमुकाम सिमकोट आसपासको जनजीवन पनि निकै प्रभावित बनेको छ। यसभन्दा अघी माइनस १३ मा झरेको तापक्रम आज माइनस १८ पुगेको छ। हिमपातले अहिलेसम्म कुनै अप्रीय घटना नघटेको भएपनि जनजीवन निकै कष्टकर बन्दै गएको प्रमुख जिलला अधिकारी डा. कृष्णबहादुर घिमिरेले जानकारी दिए।
पानीको बहाव कम हुँदा विद्युत अवरुद्ध
हिमपातका कारण जिल्लाको तापक्रम निकै तल झरेपछि खोलामा पानीको बहाव समेत घटेको भन्दै जिल्ला सदरमुकाम सिमकोटलगायत आसपासका सात गाविसलाई विद्युत आपूर्ति गर्दै आएको हिल्दुम साना जलविद्युत आयोजना समेत अवरुद्ध भएको छ।
खोलामा पानीको मात्रा निकै कम भएपछि पानी नपुगेकाले विद्युतको मेसिन बिग्रेर पाँच सय किलोवार्डको उक्त आयोजना अवरुद्ध भएको हिल्दुम साना जलविद्युत आयोजना वितरण केन्द्रका निमित्त प्रमुख कलव बोहराले जानकारी दिए। अत्याधिक चिसोले खोलाको पानी जमेपछि उपभोक्ताको माग अनुसार विद्युत आपूर्ति गर्न नसकेको आयोजना अवरुद्ध भएको हो।