ल्होछारको उमंग

ल्होछारको उमंग

गोइजिङको आङरे (चोलो), गाउनको बुट्टेदार फरिया वा लुंगी, कम्मरमा पटुकी, शिरमा चेप्टो गोलो आकारको बुट्टा कँदिएको टोपी र स्योल्दो (भेडाको उनबाट बुनिएको लामो कोटजस्तो) पहिरनमा महिला, पुरुषलाई गाउँघर वा बजारतिर बाक्लै देख्न थाल्नुभो भने अनुमान गरे हुन्छ— तामाङहरूको महान् पर्व ल्होछार आइरहेछ ।

बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक राष्ट्र नेपालको पाँचौं ठूलो जनघनत्व ओगटेको तामाङ जातिको आफ्नै संस्कृति र परम्परा छन् । आदिम सभ्यतालाई निरन्तर अँगालेर भावी सन्ततीलाई हस्तान्तरण गर्दै आएको यो जातिको प्रमुख चाड ल्होछारले तामाङको सिंगो सभ्यता र संस्कृति बोकेको छ । त्यसो ल्होछार हिमाली भेगमा बसोबास गर्ने समुदायहरूको साझा संस्कृति पनि हो । फरकफरक समुदायले बेग्लाबेग्लै मनाउने गर्छन् ।

नेपालमा मुख्यतः गुरुङ, तामाङ र शेर्पा गरी तीन समुदायले ल्होछार मान्दै आएको पाइन्छ । गुरुङ समुदायले यही गएको पुस १५ गते तमु ल्होछार मनाएको छ भने तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन पर्ने सोनाम ल्होछार मनाउँछ । त्यसैगरी शेर्पा समुदायले सोनाम ल्होछारको झन्डै एक महिनापश्चात् पर्ने फाल्गुन शुक्ल प्रतिपदाको दिन ग्याल्बो ल्होछार मान्ने गर्छ ।

ल्होछारको अर्थ

तामाङ भाषामा 'ल्हो'को अर्थ वर्ष र 'छार' को अर्थ नयाँ हो । त्यसैले भन्न सकिन्छ, ल्होछार तामाङहरूको नयाँ वर्ष हो । यद्यपि ल्होछार वर्ष परिवर्तनसँग मात्र सम्बन्धित नभई धार्मिक रूपमा महत्त्वपूर्ण छ । ल्होछारबारे विभिन्न किंवदन्ती पाइन्छ । किंवदन्तीअनुसार भगवान् बुद्धले आफ्नो महानिर्वाणको अन्त्यतिर समस्त प्राणीलाई भेटका लागि आमन्त्रण गर्नुभएको थियो ।

त्यस समयमा सबैभन्दा पहिले मुसा पुग्यो । अनि क्रमशः गोरु, बाघ, खरायो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बँदेल गरी बाह्र जीवजन्तु पुगे । यसरी आफूलाई भेट्न जीवजन्तुलाई आफ्नो अनुपस्थितिमा क्रमशः एक एक वर्ष गरी पालैपालो धर्तीमा शासन गर्नू भनेर भगवान् बुद्धले आदेश दिनुभयो ।

'ल्हो' तिनै जीवजन्तुको नाम र शासनकालमा आधारित छ भन्ने गरिन्छ । त्यसैले बाह्र वर्षमा एक चक्र (ल्होखोर) पूरा भएपश्चात् पुनः सुरु (मुसा वर्ष) बाट ल्हो गन्न थालिन्छ ।

अर्को किंवदन्तीमा मञ्जु श्रीले २८५१ वर्षअघि बालकको रूपमा आउनुहँदा ८४ हजार ज्योतिषशास्त्रका ग्रन्थहरूको धर्म देशना गर्नुभएको थियो । सो ज्योतिषशास्त्र अनुसार मञ्जु श्रीले प्रथमपल्ट मंगलबार काठ पुरुष, मुसा वर्षमा पञ्चशीर्ष डाँडामा देशना गर्नुभएको भन्ने कथन तिब्बती मन्चुखाङको (चि) पात्रोमा समेत हरेक वर्ष उल्लेख गर्ने गरिएको पाइन्छ । यसरी तामाङ समुदायले साल वा वर्ष गणना गर्नुपर्दा यही १२ वटा ल्होलाई आधार मान्ने गर्छ ।

पर्वका लागि संघर्ष

नेपालमा आदिम समयदेखि नै सामाजिक रूपमा मान्यता प्राप्त हिमाली समुदायहरूले मान्दै आएको ल्होछारले राष्ट्रिय पर्वका रूपमा मान्यता पाउन भने निकै संघर्ष गर्नु परेको थियो । राणाकालीन र पञ्चायतकालीन समयमा राज्यमा विद्यमान सांस्कृतिक, धार्मिक, सामाजिक विविधतालाई हेर्ने दृष्टिकोण संकुचित र पूर्वाग्रही भएकाले लामो समयसम्म तामाङ समुदायले आफ्नो मौलिक संस्कृतिका रूपमा ल्होछारलाई आत्मसात् गर्न पाएका थिएनन् ।

लगभग लोपोन्मुख पर्वका रूपमा रहेको ल्होछारलाई आधिकारिक रूपमा स्थापित गराउन तामाङ जातिका विभिन्न संगठनले निरन्तर संघर्ष गरेको थियो । पहिलोपटक तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई २०५१ साल पुस १६ गते स्मृतिपत्र बुझाएर सुरु भएको यो आन्दोलनले २०५१ साल माघ १३ गते ल्होछारलाई पहिलोपटक नेपाल सरकारले राजकीय मान्यता दिएपछि सफलता प्राप्त गरेको थियो । त्यसपछि ल्होछार मान्ने समुदायलाई एक दिन बिदा दिने निर्णय भएकोमा घेदुङ लगायतका संस्थाले ल्होछारमा सार्वजनिक बिदाको माग गरेपछि २०६४ सालदेखि नेपाल सरकारले ल्होछारमा सार्वजनिक बिदा दिन थालेको छ ।

ल्होछार सेलिब्रेसन

हिन्दु धर्मावलम्बीले दसैं, तिहार आउनुपूर्वदेखि नै त्यसको तयारी गरेजस्तै ल्होछार मान्ने समुदायले पनि पर्व आउनु करिब एक महिना अघिदेखि नै त्यसको तयारी गर्दछ । घर, आँगन, बाटोघाटो, सार्वजनिक स्थलहरूको सरसफाइदेखि नयाँ कपडा किन्ने र ल्होछारका लागि आवश्यक पूजा सामग्री तथा खाद्यसामग्रीहरूको जोरजाममा विशेष ध्यान दिइन्छ । यस्ता खाद्यसामग्रीमा माछामासु, फलफूल, पेयपदार्थ (जाँडरक्सी)हरू पर्छन् भने पूजासामग्रीमा दज्र्यु, लुङ्दर, घ्यू, धूपबत्तीहरू पर्छन् । यसका साथै ल्होछार सुरु हुनुपूर्व बाँकी काम भए सक्काउने, कसैको उधारो, अैंनचोपैंचो भए तिरिदिने गर्छन् ।

ल्होछारको पूर्वसन्ध्यामा भने मानिसहरू गुम्बामा जाने, बत्ती बाल्ने गर्छन् भने लामाहरूले असत्यमाथि सत्यको जित भएको आशयभावमा मुकुण्डो नाच प्रदर्शन गर्ने गर्छन् । त्यसपछि घरघरमा दीपावली, आतिसबाजी गर्ने, १२ ल्हो अनुसारको जीवाकृतिको टाउको भएको कुथुक्पा (चामल, मासु, दाल, दालचिनी, मुला, साग मिसाएर बनाइएको परिकार) खाने, रातको १२ बजेसम्म सामूहिक नृत्यगानमा सहभागी भई हर्षोल्लासका साथ नयाँ वर्षलाई स्वागत गरिन्छ ।

ल्होछारको दिन घरमूली लगायतका सबै सबेरै उठेर नुहाइधुवाइ सक्काएर चोखो भएर लाखाङ (भगवान् बुद्धको प्रतिमा राखिएको स्थान )मा चोखो पानी, छो (फलफूल, तरुल, भ्याकर आदि ) राख्ने, छ्युमी (घ्यूको बत्ती) बाल्ने, साङ (तितेपाती, धुपीको धुलोको धुवाँ ) चढाउने गरिन्छ । साथै संसारका समस्त प्राणीको भलो चिताउँदै मंगल कामनासहित घर, गुम्बा, मठहरूमा दज्र्यु र लुङ्दर (पवित्र धार्मिक मन्त्रहरू लेखिएको धजा र झन्डा) फहराउने गरिन्छ ।

यस क्रममा घरका साना सदस्यहरूले आफूभन्दा ठूला मान्यजनबाट आशीर्वादस्वरूप कोकोम्हेन्दो (टटेलाको सेतो फूल)को टीका, खादा र प्रसाद ग्रहण गर्ने, शुभकामना आदानप्रदान गर्ने गर्छन् भने ल्होछार विशेष परिकारमा खाब्से (गहुँ, जौ वा चामलको पीठो चिनी, घ्यूमा मुछेर पकाएको परिकार), दुची (फलाम, तामा वा सुनचाँदी पखालेको पानीमा चिनी, सक्खर, मह, दूध मिसाएर तयार पारिएको तरल पदार्थ), छेमार (दुचीमा जौ वा गहुँको पिठोको सातु मिसाइएको खाद्यपदार्थ), आलुम (गहँ वा कोदोको पानी रोटी ) लगायत माछामासु, फलफूल खाने गरिन्छ ।

ल्होछारको दिन सबैजनाले आफ्नो मौलिक पहिरनलाई विशेष महत्त्व दिएका हुन्छन् । सो दिन विभिन्न संघसंस्थाले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सरिक हुने, साथीभाइसँग हाँसखेल रमाइलोसमेत गरिन्छ । ल्होछारको दोस्रो दिनदेखि पाँचौं दिनसम्म पनि आफन्त, इष्टमित्र, कुटुम्ब भेटघाट गर्ने, शुभकामना आदानप्रदान गर्ने, पाहुना सत्कार गर्ने गरिन्छ । आफ्ना चेलीलाई बोलाएर मीठा पकवान खुवाई माइतीले आत्मीयता प्रस्तुत गर्ने पनि यही बेला हो । यसै बेला आगामी वर्षभरि अन्नबाली सप्रियोस् भनेर भूमिपूजासमेत गरिन्छ ।

संघर्षको मञ्च

हरेक चाडपर्वको आआफ्नै मूल्यमान्यता र महत्त्वहरू रहेका हुन्छन् । परम्परागत रूपमा पुर्खाहरूबाट हस्तान्तरण हँदै आएका यस्ता संस्कृतिहरू कुनै जातिविशेषको सांस्कृतिक आन्दोलनको एउटा पाटो पनि हो । यसले त्यस जातिको अस्तित्वनिम्ति पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । ल्होछार त्यसै सांस्कृतिक आन्दोलनको एउटा सशक्त मञ्च पनि हो । ल्होछारका अवसरमा आफ्ना भेषभूषा र परिकारसँग रमाइरहेको समुदायको तस्बिरले राज्यलाई अझ समावेशी बन्न बाध्य पारेकै छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.