यो देश गद्धार र दलालको होइन, नेपालीको हो : विप्लव
काठमाडौं : नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अबको क्रान्तिमा सबै एक हुनुपर्ने बताएका छन्। राजधानीमा आयोजित एक सांस्कृतिक कार्यक्रममा बोल्दै विप्लवले नयाँ क्रान्तिमा बर्दी खोलेर साथ दिन सेना र प्रहरीलाई आह्वान समेत गरेका छन् ।
‘अबको क्रान्तिमा सबै एक हुनुपर्छ, आवश्यक पर्यो भने सेना-प्रहरीले पनि आ-आफ्नो बर्दी खोलेर हामीलाई साथ दिनुपर्छ,’ विप्लवले भने, ‘यो देश हामी नेपालीको हो, दलाल र गद्दारको होइन ।’
अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिले गरेको कार्यक्रममा बोल्दै विप्लवले जनयुद्धमा मात्रै एक सय ५० भन्दा बढी संस्कृतिकर्मीको सहादत भएको स्मरण गरे । उनले आफ्नो पार्टीले देश र जनताका निम्ति परिवर्तनका पक्षमा प्रतिवद्ध रहेका र निरन्तर खटिरहेका सबै संस्कृतिकर्मीको संरक्षण गर्नुपर्ने विश्वास समेत दिलाएका छन्।
सांस्कृतिक कार्यक्रममा रायन श्रेष्ठ, जेबी टुहुरे, माधव प्रधान, लक्ष्मी गुरुङ, कुश्मिता दर्लामी, आरोह नेपाली, ढुण्डी अधिकारी, रमण थामी, रमेश विकलगायत तीनै पुस्ताका कलाकारले एकल तथा सामूहिक गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विप्लवले अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको केन्द्रीय प्रकाशन ‘नयाँ संस्कृति’ को विमोचन गरेका छन् । कार्यक्रममा सामना परिवारले अन्तर्राष्ट्रिय गीत प्रस्तुत गरेको थियो । सांस्कृतिक कार्यक्रममा वरिष्ठ लेखक तथा साहित्यकार शरद पौडेलद्वारा लिखित नाटक ‘अनुत्तरित प्रश्न’ को प्रदर्शन भएको छ।