धाराको पानी पिउने चाहना अधुरै

धाराको पानी पिउने चाहना अधुरै

मैनतडा (सुर्खेत): पहिले गाउँ गाविसमा थियो । अहिले नगरपालिका भएको छ । तर स्थानीय बासिन्दाका पीडा भने उस्तै छन् । पूर्वीसुर्खेतको मैनतडाका अधिकांश अहिले बासिन्दा खानेपानीको समस्या भोगिरहेका छन् । वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका उनीहरू हिजोआज पनि भेरी नदी र खोलाको पानी पिउन बाध्य छन् । आँगनमै धारा जडान गरेर स्वच्छ पानी पिउने स्थानीयको सपना अझै पूरा हुन सकेको छैन ।

'जब चुनाव आउँछ, तब नेता गाउँमा आएर धारा जडान गर्छौं भन्छन्', मैनतडा झिंगनी निवासी भावना रानाले भनिन्, 'नेताहरूले हामीलाई केवल आश्वासन मात्र दिए, बर्सौं भयो हामी खोलाको पानी पिउन बाध्य छौं । आजसम्म कसैले वास्ता गरेका छैनन्, आँगनमै धारा जोडेर पानी पिउने हाम्रो चाहना अधुरै भयो ।' खानेपानीको समस्या हुँदा आफूहरूले खोलाको पानी प्रयोग गर्दै आएको उनको भनाइ छ । गाउँमा पानीको स्रोत नभएपछि स्थानीय बासिन्दा एक घन्टासम्म पैदल हिँडेर खोलाको पानी लिन जाने गरेका छन् । पानीको जोहो गर्नमै समय खर्च हुँदा अन्य काममा बाधा पुग्ने गरेको उनीहरूको गुनासो छ ।

भेरीगंगा नगरपालिकाअन्तर्गत पर्ने मैनतडामा अधिकांश टोलमा खानेपानीको समस्या छ । यहाँका अधिकांश बासिन्दा भेरी नदीको पानी पिउन बाध्य छन् । कतिपयले नजिकै रहेका खोलाको पानी प्रयोग गर्दै आएका छन् । झिंगनीमा ८६ घरपरिवार खोलाको पानी पिउन बाध्य छन् । 'न गाउँमा खानेपानी छ, न त सिँचाइ नै । खाने अन्न त किनेर खाउँला, तर पानीको जोहो कसरी गर्ने ? ', स्थानीय ओमकला बुढाले भनिन् । पानीको जोहो गर्नमै समय खर्च हुने र यसबाट बढी महिलालाई सास्ती भएको उनले बताइन् ।

बिहान उठ्नेबित्तिकै आफूहरू खोलामा दौडिने गरेको भन्दै उनले खोलामा पानी भर्न पनि पालो कुर्नुपर्ने बाध्यता रहेको गुनासो गरिन् । बर्सौंदेखि गाउँमा खानेपानीको समस्या भए पनि हालसम्म कसैले यसतर्फ चासो नदिएको उनको भनाइ छ । खानेपानी नभएकै कारण गाउँमा अन्य विकास निर्माणका काममा पनि बाधा पुगेको उनले बताइन् ।

गाउँमा खानेपानीको व्यवस्था नहुँदा स्थानीयले खडेरीको बेलामा निकै सास्ती बेर्होदै आएका छन् । खडेरीको समयमा खोलामा रहेको मुहान पनि सुक्ने भएकाले पानीको संकट हुने गरेको छ । स्थानीय बासिन्दाका अनुसार बर्खाको बेलामा भने गाउँमा मूल फुट्ने भएकाले राहत हुने गरेको छ । पानीको जोहो गर्न स्थानीयले गाउँमा कुवासमेत खनेका थिए । तर सबैको कुवामा पानी आएन । परिणामस्वरूप उनीहरूले खानेपानीको सुविधा पाउन सकेका छैनन् । संकटको बेलामा गाउँलेहरू छिमेकीको घरमा पुगेरसमेत पानीको जोहो गर्छन् ।

मैनतडाको साविकका वडा ३, ४ र ७ मा खानेपानीको बढी समस्या रहेको स्थानीय बासिन्दा गोल्मा बस्नेतले जानकारी दिइन् । ती स्थानमा खानेपानीको सुविधा पुगेको छैन । गाउँमा खानेपानीका लागि स्थानीयले बारम्बार माग गर्दै आएका छन् । तर पनि हालसम्म उक्त स्थानमा खानेपानी उपलब्ध हुन सकेको छैन । सबैले पानीको आश्वासन मात्र दिने गरे पनि अब स्थानीयले नै यसमा ठोस पहल थाल्नुपर्ने उनको भनाइ छ ।

स्थानीय महिलाले गाउँमा पुग्ने सबै दलका नेता, सरकारी तथा गैरसरकारी निकायसँग खानेपानीको समस्या सुनाउने गरेका छन् । दलका नेताले चुनावमा मात्र खानेपानीको धारा जडान गरिदिने प्रतिबद्धता जनाउने गरेका छन् । चुनावपछि फर्केर नआउने गरेको र खानेपानी समस्यालाई केवल नेताहरूले भोट माग्ने हतियार बनाएको स्थानीयको आरोप छ । गाउँनजिकै मुहान नभएकाले पनि खानेपानी आयोजनाका लागि लागत बढी लाग्ने भएकाले गैरसरकारी निकायले पनि आँट्न नसकेको स्थानीयको बुझाइ छ । राज्यले आँगनमै धारा जडान गरिदिने आशमा रहेका स्थानीयको धाराको पानी भरेर पिउने रहर अधुरै छ । खानेपानीकै समस्याका कारण आफूहरू हैरान भएको भन्दै स्थानीयले यसको व्यवस्था गरिदिन हारगुहार नै गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.