गरिबी निवारण मन्त्री भन्छन् : मेरो मन्त्रालय कामविहीन भयो
जाजरकोट : सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले आफ्नो मन्त्रालय कामविहीन मन्त्रालय भएको गुनासो गरेका छन् । मन्त्री थानीले मन्त्रालयसँग सम्बन्धित ४९ ओटा कार्यक्रम अन्य मन्त्रालय मातहत भएका कारण मन्त्रालय कामविहीन भएको उल्लेख गरे।
आइतबार प्रेस युनियन जाजरकोटले खलंगामा गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री थानीले भने, ‘गरिबको परिचय पत्र बाँड्ने बाहेक अन्य कुनै काम छ ।’
‘गरिबसँग विश्वेश्वर, गरिबी निवारण कोष, युवा स्वरोजगार कोषलगायत ४९ वटा कार्यक्रम सकिएपछि म कामविहीन मन्त्री हुने निश्चित छ,’ मन्त्री थानीले भने ।
उनले पटकपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मन्त्रालयसंग सम्बन्धित काम हस्तान्तर गरी मन्त्रालय मातहतमा ल्याउन आग्रह गर्दा आश्वासन मात्र पाएको समेत गुनासो गरेका छन्।
गरिब घरपरिवार पहिचान कार्यक्रम अन्तरगत २५ जिल्लाका गरिबको परिचय पत्र बनाएपछि गरिबी निवारण मन्त्रालयको काम सकिने उनको भनाइ छ।