'संशोधनले आन्दोलन रोकिँदैन'
काठमाडौं: संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संशोधन प्रस्ताव पारित भए पनि आन्दोलन नरोकिने बताएका छन् । संशोधन विधेयकले मधेसी, आदिवासी जनजाति, थारू, दलितलगायत उत्पीडित समुदायको माग नसमेटेकाले परिमार्जनबिना संशोधन पारित हुनु वा नहुनुको औचित्य नभएको उनले टिप्पणी गरे ।
राजधानीमा आइतबार 'ब्ल्याक आउट' नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै यादवले विकृत संविधानलाई टालटुल गरेर उत्पीडित समुदायको मागलाई उपेक्षा नगर्न सरकारलाई सुझाव दिए । 'हामीले संविधान संशोधनको कुरा उठाए पनि अन्तिम विकल्प पुनर्लेखन नै हो । संविधानमा यति धेरै त्रुटि, कमीकमजोरी छन् जति नै संशोधन गरे पनि पार लाग्दैन', उनले भने ।
विभेदकारी संविधान कुनै पनि हालतमा स्वीकार नगर्ने चेतावनी दिँदै एकल जातीय राज्यसत्ताले जतिसुकै छलकपट रचे पनि उत्पीडित समुदायको माग र एजेन्डासँग कुनै सम्झौता नहुने उनले प्रस्ट पारे । बलजफ्ती संविधान जारी गर्दा सशस्त्र प्रहरी लगाएर नश्लीय राज्यसत्ताले मधेसमा नरसंहार गरेको उदाहरण विश्व समुदायबीच रहेको उनले बताए । 'प्रमुख दलले आफ्नै हितका लागि संविधान बनाएका हुन्, उत्पीडित समुदायका लागि होइन', उनले भने ।
आफ्नै देशका नागरिकमाथि भइरहेको उपेक्षा र घृणालाई समाप्त गर्न अधिकारसम्पन्न सर्वस्वीकार्य संविधान बन्नुपर्नेमा उनले जोड दिए । मधेसको मूल समस्या आन्तरिक उपनिवेश भएको जिकिर गर्दै उनले उपनिवेश अन्त्य नै समस्याको निकास भएको बताए । 'गोर्खा साम्राज्यको विस्तारमा उपनिवेश बनाइएका केही भाग र इस्ट इन्डिया कम्पनीले राणा शासकलाई दिएको भूभाग मधेस हो । शासकवर्गले मधेसलाई अहिले पनि उपनिवेशकै रूपमा राखेका छन् । यसलाई हामीले आन्तरिक उपनिवेश भन्ने गरेका छौं । मूल समस्याको जड भनेकै आन्तरिक उपनिवेश हो', यादवले भने ।
देशका हरेक नागरिक, भाषा, धर्म, संस्कृतिको सम्मान र पहिचान हुनुपर्नेमा जोड दिँदै यादवले मधेसीलाई विदेशी ठान्ने मानसिकता विद्यमान रहेको आरोप लगाए ।