मलेसियामा ‘अपहृत' नेपाली खोज्दै प्रहरी
काठमाडौंः रोजगारीका लागि मलेसिया पुगेका श्रीमान् अपहरणमा परेको भन्दै काठमाडौं, इचंगुनारायणकी सुमित्रा नगरकोटी गत चैतमा महानगरीय अपराध महाशाखा पुगिन् ।
दुई वर्षअघि काबेली म्यानपावरमार्फत मलेसिया पुगेका श्रीमान् सन्तोष पुतुवार अपहरणमा परेको खबर आएयता सुमित्रा हरेक हप्ताजसो प्रहरी कार्यालय धाइरहिन् । यो क्रम करिब १० महिनासम्म चल्यो तर सन्तोषको कुनै खबर आएको छैन ।
सुमित्राले लगातार चासो राखिरहेपछि प्रहरीले यस विषयमा गम्भीर अनुसन्धान सुरु गर्यो । इन्टरपोलमार्फत मलेसियाली प्रहरीसँग सम्पर्क गरेर सन्तोषको अवस्थाबारे सोधपुछ गर्यो । यसक्रममा प्रहरीले घटनाबारे थप रहस्य पत्ता लगायो तर सन्तोष भेटिएनन् ।
सन्तोषले गत चैतमा आफैंले फोन गरी अपहरणमा परेको र अपहरणकारीले ८० लाख रुपैयाँ फिरौती माग गरिरहेको बताएका थिए । ‘म र मेरो साथी चढेको बाइकले बालकलाई ठोकेपछि हामी अपहरणमा परेका छौं । हामीलाई मलेसियालीले मस्जिदभित्र ल्याएर राखेका छन्', सन्तोषको भनाइ उद्धृत गर्दै सुमित्राले प्रहरीलाई बताएकी थिइन् ।
त्यसपछि पनि दुई–तीनपटक सन्तोषले फोन गरेको तर छोटो कुरा गरेर काटिदिने गरेको पनि उनले सुनाएकी थिइन् । सन्तोषका आफन्तका अनुसार उनले एक लाख रुपैयाँसम्म पठाए आफू अपहरणमुक्त हुने बताएका थिए । ‘उसको परिवारको स्थिति निकै नाजुक छ । त्यत्रो पैसा पठाउने कुरा कल्पना पनि गर्न सकिने अवस्था थिएन', सन्तोषका मामा शंकरवीर पुतुवारले अन्नपूर्णसँग भने । करिब १० महिनायता सन्तोष सम्पर्कबाहिर रहेको उनले बताए ।
सुमित्राको निवेदनपछि सन्तोषको खोजबिनबारे प्रहरीले इन्टरपोलमार्फत मलेसियाली प्रहरीसँग सोधपुछ गरेपछि फोन आउन छाडेको थियो । मलेसियाली प्रहरीका अनुसार सन्तोष काम गर्ने कम्पनीले उनी हराइरहेको जानकारी गराए पनि उनले फोन गर्ने गरेको नम्बर मलेसियामा दर्ता छैन । त्यसैगरी मोटरसाइकलले बच्चा ठोकेको घटनाको पनि कहीँ अभिलेख छैन ।
दुई वर्षअघि काबेली म्यानपावरमार्फत मलेसिया पुगेका काठमाडौं इचंगुनारायणका सन्तोष पुतुवार १० महिनायता ‘बेपत्ता' छन् ।
‘इन्टरपोलले दिएको जानकारी र सन्तोषले फोनमा भनेको कुरा बाझिएकाले घटना रहस्यमय बन्यो', महानगरीय अपराध महाशाखाअन्तर्गत वैदेशिक रोजगारपीडित उद्धार पिलरका प्रहरी भन्छन् ।
सुमित्राले श्रीमान् अपहरणमुक्त हुने आशा मारिनन् । यसको मुख्य भरोसा थिए, प्रहरी । त्यसैले सुमित्रा कहिले शंकरवीरलाई लिएर त कहिले एक्लै गएर प्रहरीलाई सोधिरहन्थिन्, ‘मेरो श्रीमान्को खोजी सम्बन्धमा के भइरहेको छ ? '
वैदेशिक रोजगारपीडित उद्धार पिलरमा कार्यरत प्रहरी निरीक्षक सत्यनारायण थापाले प्रहरीले मलेसियामै पुगी सन्तोषलाई खोज्ने तयारी गरे पनि अन्य निकायको समन्वय अभावका कारण यो काम ढिला भएको बताए ।
सन्तोष बेपत्ता भएपछि घरेलु काम गरेर गुजारा चलाउने सुमित्राको दैनिकी कष्टकर बनिरहेको थियो । यसबीच उनी आफैं रोजगारीका लागि साउदी गएकी छन् । केही दिनअघि मामा शंकरवीरले प्रहरीलाई सुमित्रा साउदी गएको जानकारी दिएका थिए ।
सुमित्रा आफैं विदेश पुगेपछि प्रहरीको चिन्ता झन् थपिएको छ । सुमित्राले भने साउदीबाटै फोन गर्दै प्रहरीलाई भनेकी छन्, ‘म पनि यहाँ बिरामी छु । मेरो श्रीमान्लाई जसरी पनि खोजिदिनु होला ।' सुमित्रा र सन्तोषका एकमात्र छोरा अहिले हजुरबा हजुरआमासँग बसिरहेका छन् ।