बिदाबिनै पञ्चांग निकाल्ने तयारी
काठमाडौंः गृह मन्त्रालयले समयमै सरकारी विदाको टुंगो लगाउन नसकेपछि नेपाल पञ्चांग निर्णायक समितिले सरकारी विदाविनै पञ्चांग निकाल्ने भएको छ । मंसिरमै विदाको टुंगो लगाइदिन समितिले पत्राचार गरे पनि गृह मन्त्रालयले हालैमात्र कार्यदल गठन गरेपछि विदा समावेश नगरी माघ महिनाभित्रै पञ्चांग निकाल्ने भएको हो ।
समितिका सदस्यसचिव सूर्यनाथ ढुंगेलले गृह मन्त्रालयले समयमा सरकारी विदा नपठाएकाले सरकारी विदाविनै माघभित्रै पञ्चांग प्रकाशन गर्न लागेको बताए । उनले आइतबार अन्नपूर्णसँग भने, ‘पञ्चांग पात्रोका लागि पर्खिएर साध्यै छैन । पञ्चांग समितिले गर्ने के ? सबैलाई चासो छ कहिले पञ्चांग निस्कन्छ र विदा आदि मिलाएर तयारी गरौं भन्ने तर सरकारी विदाका कारण हाम्रो अर्को उपाय पनि त छैन ।'
उनका अनुसार, गृहले हालैमात्र कार्यदल गठन गरेर काम थालेको छ । ‘नेपाली नेपालबाहिर पनि छन्, उनीहरुले विवाहको तयारी गर्न नेपाल आउने टिकट र कार्यालयको विदाका लागि तीन चार महिना अघिदेखिकै योजना बनाउनुपर्छ', उनले भने, ‘गृह मन्त्रालय वैशाख १ गतेको समयलाई हेरेर काम गर्छ । अब पञ्चांगको पात्रोमा सरकारी विदा नआए क्यालेण्डरमा आउँछ । यसको विकल्प देखिएन ।'
समितिले गतवर्ष पनि सरकारी विदा पर्खदा ढिलो भएको भन्दै पुस १७ गते र त्यसलाई टुंगो लगाउन माघ ३ गते बैठक बसेर चाडपर्वबारेमा निष्कर्ष निकालिसकेको छ । पञ्चांगकारहरुले पनि विगतका वर्षहरुमा जहिले पनि ढिलो भएको भन्दै बैठकमा पुसभित्रै पञ्चांग प्रकाशन गरिसक्न जोड दिएका थिए ।
डा. माधवराज पाण्डे अध्यक्ष रहेको नेपाल ज्योतिष परिषद्ले गतवर्ष राष्ट्रिय सम्मेलन गरी पञ्चांग ढिलो प्रकाशन गर्दा नागरिकहरुलाई धेरै समस्या परेको भन्दै कात्तिकभित्रै सरकारी विदासहित नयाँ वर्षको पञ्चांग निकाल्नुपर्ने निष्कर्ष निकालेको थियो ।
पञ्चांग निर्णायक समितिमा १३ जना पञ्चांगकार छन् । केही पञ्चांगकारले सरकारी विदा राखेर र ११ महिनाको वर्ष बनाएर मात्र पञ्चांग प्रकाशन गर्नुपर्ने अडान लिएर सोको निवेदन समितिका अध्यक्ष र सूचना आयोगलाई बोधार्थ दिएका थिए । अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले काम रोक्न संभव नभएको बताएका थिए ।
सूचना आयोगले समितिका पदाधिकारीलाई बोलाएर पञ्चांगमा एकरुपता ल्याउने वातावरण बनाउन निर्देशन दिएको थियो । उक्त निर्णय आयोगले संस्कृति मन्त्रालयलाई पनि बोधार्थका रुपमा पठाएपछि गत बिहीबार संस्कृतिमन्त्री जीवनबहादुर शाहीले समितिका पदाधिकारीलाई बोलाएर बैठक राखे ।
पञ्चांगकारहरुले पञ्चांग प्रकाशनमा ढिलाइ गर्न नहुने भन्दै माघभित्रै निकाल्ने बताएका थिए । केहीले रोकेर विदा राखेरमात्रै प्रकाशन गर्नुपर्नेमा अडान लिएका थिए । ११ महिने वर्षका लागि २०६६ र ६७ सालमा व्यापक पहल भएपछि मन्त्रिपरिषद्ले ११ महिनाको वर्ष बनाउन निर्णय गरेको पञ्चांगकार डा. लोकराज पौडेलले जानकारी दिए । उनले भने, ‘तर त्यो निर्णय अझैसम्म लागू भएको छैन कारण व्यावहारिक छैन ।'
समितिले छिटोमा पुसभित्रै र ढिलोमा चैतको पहिलो सातामा पञ्चांग प्रकाशन गरेको पाइन्छ । पौडेलका अनुसार, मंगलराज जोशी समितिको अध्यक्षहुँदा एकपटक फागुन २० गते स्वीकृत गरी प्रकाशन गर्ने भनी तयारी भइरहेको समयमा जोशीको १९ गते निधन भएपछि चैतमा पुगेको हो । उनले भने, ‘पञ्चांग प्रकाशन समयमै निकाल्नु र ढिलो गर्नुमा क्रमशः धेरै सहजता र समस्याहरु छन् ।
११ महिने वर्ष बनाउँदा नेपालमा एक महिनाअघि शिवरात्री, दसैं, तिहार आदि चाडपर्व मनाउनुपर्ने हुन्छ, विदेशमा एक महिनापछि मनाउँछन् । हामी कार्टुनु हुनुहुँदैन ।' समितिका सदस्य पञ्चांगकार प्राध्यापक जगमान गुरुङले विगत वर्षमा ११ महिने कुरो आए पनि यसपटक खासै नउठेको बताए । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले गतवर्ष पनि ढिलो भएर पञ्चांगमा नपरेको जानकारी दिँदै सरकारी विदाबारे अध्ययन भइरहेको जानकारी दिए ।