बालुवाटारमा विवाद- संविधान संशोधन कि चुनाव पहिले?
काठमाडौं: तत्काल निर्वाचन गर्न असम्भव भएको अड्कलबाजी भइरहँदा संविधान संशोधन कि चुनाव पहिले भन्नेमा सरकारमा सहभागी दल र मधेसी मोर्चाबीच विवाद देखिएको छ।
सोमबार विहान सरकारी निवास बालुवाटारमा माओवादी, कांग्रेस र मधेसी मोर्चाबीच भएको बैठकमा सरकार र मोर्चाबीचको छलफलमा विवाद देखिएको हो।
बैठकमा प्रधानमन्त्री दाहालले एक दुई दिनैमै चुनाव, संविधान संशोधन प्रस्ताव, स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन र स्थानीय तहको निर्वाचनको टुंगो लाग्ने बताइरहँदा मधेसी मोर्चाका नेताहरु चुनावको विपक्षमा देखिएका छन्।
स्थानीय निर्वाचन नहुँदा संविधान कार्यान्वयनमा जटिलता आउने र प्राप्त उपलब्धि गुम्ने खतरा औंल्याउँदै प्रधानमन्त्री दाहालले मोर्चालाई फकाउँदै निर्वाचनमा जान प्रस्ताव गरेका हुन्। तर मधेसी मोर्चाका नेताहरुले उक्त प्रस्ताव ठाडै अस्विकार गरिदिएका छन्। बैठक मंगलबार फेरि बस्नेगरी सकिएको छ।
बैठकपछि माओवादीका नेता नारायणकाजी श्रेष्ठले संविधान संसोधन मधेसी मोर्चाको माग भएको बताए। उनले सरकार मधेसी मोर्चाको मागसँगै चुनाव पनि गर्नु पर्ने जिम्मेवारीमा रहेको बताए। उनले भने, 'प्रतिपक्षीसँग छलफल गरेर केही दिनमै संविधान संशोधन र चुनावको मितिबारेमा टुंगो लगाउँछौ।'
यता, बैठकमा मोर्चाका नेताहरु पहिला संविधान संशोधन गर्नुपर्ने आफ्नो अडान कायमै राखेका छन्। मधेसी मोर्चाका लक्षमणलाल कर्णले सरकारले संविधान संशोधन पहिलो प्राथमिकतामा राख्नु पर्नेभन्दै चुनाव नभइ मधेसीको मागमा ध्यान केन्द्रित गर्न ध्यानाकर्षण गराए। उनले सरकारले चुनावको मिति पहिला घोषणा गरे मोर्चा कुनै पनि हालतमा चुनाव हुन नदिने चेतावनी दिए।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरा, कांग्रेस नेताहरु प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो लगायतका शीर्ष नेताहरु उपस्थित थिए।