एयरहोस्टेस अनुभव
नेपाल कमर्स क्याम्पसमा बीबीएस दोस्रो पढ्दापढ्दै एयरहोस्टेसको रूपमा काम गर्न थालेकी प्रिंका अधिकारी आफ्नो पेसाबाट खुसी छिन् । उनले यती एयरलाइन्समा एयरहोस्टेसको रूपमा काम गर्न थालेको पाँच वर्ष भयो ।
१० वर्षको उमेरमा नेपाल वायुसेवा निगमको जहाज चढेर जाजरकोटको यात्रा गर्दादेखि एयरहोस्टेस बन्ने रुचि जागेको उनी सम्झन्छिन् । आमाले पनि सहमति जनाएपछि उनी तालिम लिन गइन् । बानेश्वरको एयरहोस्टेस तालिम केन्द्रमा ३५ हजार रुपैयाँ खर्च तिरेर तालिम लिएकी थिइन् उनले ।
त्यसपछि यती एयरलाइन्समा ज्वाइन भएर सिनियरबाट एक सय घन्टाभन्दा बढी ग्राउन्ड र फ्लाइटको तालिम लिइन् । मासिक २५ देखि ३० हजार आम्दानी हुने उनले बताउँछिन् । ‘नयाँ-नयाँ गन्तव्यमा जान पाउने, धेरै मानिससँग संगत गर्न पाइने र अनुशासित र निडर बन्न पनि सिकिने भएकाले पेसामा इन्जोय भइरहेको अधिकारीको अनुभव छ ।
मामाको छोरीको एयरहोस्टेस पेसाबाट प्रभावित भएर यो पेसामा लागेकी हुन् सगुन तन्डुकार । प्लस टु सक्नासाथ एयरहोस्टेस बन्ने उनको सपनालाई बुद्ध एयरले पुरा गरिदियो । करिब १७ वर्ष यही पेसामा काम गरिसकेकी तन्डुकार यो पेसा सोचेजस्तो सजिलो नभएको बताउँछिन् । ‘घुम्ने खाने होइन यो सेवा गर्नुपर्ने पेसा हो', तन्डुकार भन्छिन्, ‘आम्दानी राम्रै हुन्छ तर काम पनि गाह्रो नै छ ।'
मुख्यतः एयरहोस्टेसको काम भनेको यात्रुको सुरक्षामा ध्यान दिनु पर्ने उनको बुझाइ छ । यात्रको समयमा यात्रुलाई कसरी सुरक्षित हुने, आपत्कालीन समयमा कसरी सुरक्षित रहने, आगो लाग्दा कसरी निभाउने जस्ता विशेष खालका ग्राउन्ट तालिमदेखि फलाइट तालिम लिनु पर्ने उनी बताउँछिन । त्यही तालिका आधारमा यात्रुहरूको यात्रा सहज बनाउँदै उनीहरूलाई खुसी पार्नु एयरहोस्टेसको प्रमुख चुनौती हो तन्डुकारको बुझाइमा । समाजका सदस्यले बुझ्ने जस्तो सर्भिसमात्र गर्ने पेसा नभएर यात्रुको हेरचाह गर्नेपर्ने हुन्छ ।