कांग्रेसमा फेरि वरिष्ठता विवाद

कांग्रेसमा फेरि वरिष्ठता विवाद

काठमाडौः वरिष्ठताका आधारमा केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने मापदण्ड बनाएपछि कांग्रेस केन्द्रीय समितिमा फेरि वरिष्ठता विवाद बल्झिएको छ ।

नेताहरूबीच कार्यसम्पादन समितिमा मनोनीत हुने २२ सदस्यमा केन्द्रीय कार्यसमितिको मर्यादाक्रममा १ देखि २२ सम्म रहेकालाई मनोनीत गर्ने सहमति भएपछि विवाद बल्झेको हो । दुई साताअघि कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच वरिष्ठताका आधारमा केन्द्रीय समितिको मर्यादाक्रममा रहेका १ देखि २२ जनालाई कार्यसम्पादन समितिमा मनोनीत गर्ने सहमति भएको थियो । तर त्यसअनुसार मनोनयन गर्दा समितिका केही प्रभावशाली सदस्य कार्यसम्पादन समितिमा नपर्ने र केही निष्क्रिय नेतासमेत समिति सदस्य मनोनयन हुने भएपछि देउवा-पौडेल सहमतिमा पुनर्विचार गरिन लागेको हो ।

पार्टीको कार्यवाहक सभापति र उपसभापति भैसकेका वरिष्ठ नेता गोपालमान श्रेष्ठले १३ औं महाधिवेशनपछि आफ्नो मर्यादाक्रम पूर्वमहामन्त्रीभन्दा पनि तल राखेकोमा असहमति जनाउँदै केन्द्रीय कार्यसमितिको निर्णयमा हस्ताक्षर गरेका छैनन् ।

नेताहरूबीच वरिष्ठता विवाद चर्केपछि सभापति देउवाले विवाद सुल्झाउन तीन सदस्यीय समिति गठन गरेका छन् । केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा गठित समितिमा आनन्दप्रसाद ढुंगाना र फरमुल्ला मन्सुर सदस्य छन् ।

समितिले छिट्टै केन्द्रीय सदस्यको मर्यादाक्रम विवाद समाधान गर्न प्रतिवेदन सभापतिलाई बुझाउने भएको छ । ‘हामीले विगतका परम्परा र मान्यताका आधारमा केन्द्रीय कार्यसमितिमा रहेको वरिष्ठताक्रमको विवाद सुल्झाउन काम थालेका छौं', समिति संयोजक कार्कीले अन्नपूर्णसँग भने, ‘एकदुई दिनमै छलफल गरेर अघि बढ्छौं ।'

स्रोतका अनुसार समितिले तत्कालीन कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापति र पार्टी एकीकरण भएपछि पनि मर्यादाक्रममा पहिलो नम्बरको उपसभापति भएकाले श्रेष्ठलाई सदस्यमध्ये वरिष्ठताक्रमको पहिलो नम्बरमा राख्ने तयारी गरेको छ । त्यसपछि प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई राख्ने तयारी छ । यसअघि वरिष्ठताक्रमको पहिलो नम्बरमा प्रकाशमान, दोस्रोमा कृष्णप्रसाद सिटौला र तेस्रोमा गोपालमान थिए भने निधि त्यसभन्दा पछाडि थिए ।


कार्यसम्पादन समितिमा मनोनीत हुने २२ सदस्यमा केन्द्रीय कार्यसमितिको मर्यादाक्रममा १ देखि २२ सम्म रहेकालाई मनोनीत गर्ने सहमति भएपछि विवाद बल्झेको हो ।

केन्द्रीय समितिपछि पार्टीको सबैभन्दा शक्तिशाली कार्यसम्पादन समितिमा वरिष्ठताक्रमका आधारमा सदस्य मनोनयन गरिने भएपछि नेताबीच विवाद बढेको हो ।

केन्द्रीय कार्यसमितिको वरिष्ठताक्रमलाई आधार मान्दा १ देखि २२ भित्र रहेर पनि पार्टीमा त्यति धेरै सक्रिय नहुने नरहरि आचार्य, प्रदीप गिरी पनि कार्यसम्पादन समितिमा पर्छन् । तर उनीहरू दुवैले समितिमा बस्न अनिच्छा देखाएकाले मर्यादाक्रमको २२ नम्बरभन्दा पछाडिबाट पनि सदस्य मनोनीत गरिने भएको छ ।

केन्द्रीय समितिमा वरिष्ठताक्रमको १, २ र ३ नम्बरमा क्रमशः प्रकाशमान, सिटौला र गोपालमान छन् । त्यसपछि क्रमशः निधि, कुलबहादुर गुरुङ, खुमबहादुर खड्का, चित्रालेखा यादव, पूर्णबहादुर खड्का, रामशरण महत, अर्जुननरसिंह केसी, बलहादुर केसी, महेश आचार्य, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, मीनेन्द्र रिजाल, प्रकाशशरण महत, फरमुल्ला मन्सुर र मानबहादुर विश्वकर्मा मात्रै कार्यसम्पादन समितिको सदस्य बन्छन् । तर नरहरि, प्रदीप गिरीलगायत केहीलाई कार्यसम्पादन समितिमा नराख्ने, मर्यादाक्रम मिलाउने र केही सक्रिय युवा नेतालाई समितिमा ल्याउने गरी गृहकार्य थालिएको छ ।

केन्द्रीय समितिको वरिष्ठतामा २२ नम्बरभित्र नपरेका आनन्दप्रसाद ढुंगाना, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, एनपी साउद र रमेश लेखकलाई कार्यसम्पादन समितिमा सदस्य बनाउने गरी कसरत भैरहेको दाबी स्रोतले गरेको छ ।

यी २२ जनाबाटै उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनीत हुने सम्भावना भएकाले पछि फेरि कार्यसम्पादन समितिमा केही सदस्य मनोनयन गर्न सकिन्छ ।

सभापति देउवाले मर्यादाक्रमको विवाद सुल्झिएलगत्तै केन्द्रीय विभाग र कार्यसम्पादन समिति गठन गर्ने बताएका छन् । कांग्रेस विधानमा पार्टीका पदाधिकारी पदेन सदस्य हुने गरी केन्द्रीय सदस्यबाट २२ जना मनोनीत गरी कार्यसम्पादन समिति गठन गर्ने प्रावधान छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.