आरोहण गाइडलाई तालिम
काठमाडौः हिमाल आरोहण र अध्ययन-अवलोकन गर्न आउने पर्यटकको सुरक्षाका लागि नेपाल माउन्टेरिङ एसोसिएसन (एनएमए) ले पर्यटन गाइडलाई तालिम दिएको छ । दक्ष जनशक्तिकै अभावले हिमालमा आरोहण गर्न आएका सयौं पर्यटकले ज्यान गुमाएपछि सुरक्षाका लागि गाइडलाई तालिम दिएको एनएमएले जनायो ।
स्वदेशी तथा विदेशी पर्यटकले हिमाल चढ्ने इच्छा गरे पनि ट्रेकिङ एजेन्सीहरूले दक्ष गाइड प्रयोग नगरेपछि हिमालमा बढी दुर्घटना हुने गरेको एनएमएका कोषाध्यक्ष टीकाराम गुरुङले बताए । सुरक्षामा जोखिम बढे पनि सरोकार निकाय मौन बसेपछि एनएमएले मजदुरको दक्षता बढाउन तालिम दिन थालेको उनले बताए ।
तालिममा हिमाल चढ्ने सीप, उद्धार, जोखिमका प्राविधिक सीप, हिउँमा अपनाइने सुरक्षा र खानपानबारे विशेष जानकारी दिने गरिएको छ । तालिममा हिमाल नबुझेका पर्यटकलाई पनि सुरक्षित रूपमा आरोहण गरी फर्काउनेसम्मको जिम्मेवार बनाइने प्रमुख प्रशिक्षक छिरिङ पाण्डे भोटेले बताए ।
हिमाल आरोहणको ६४ वर्षको इतिहासमा सन् १९९६ अगाडि दक्ष जनशक्तिको अभावले वार्षिक सयौंले हिमाल आरोहण र अवलोकनकै क्रममा ज्यान गुमाउने गरेका थिए । एनएमएले पर्यटक र पर्यटन मजदुरको जोखिमलाई ध्यान दिँदै तालिम व्यवस्था गरेपछि सन् १९९६ पछि हिमालमा दुर्घटना कम हुँदै गएको संस्थाको तथ्यांक छ ।
एनएमएले २५ औं एड्भान्स माउन्टेरिङ कोर्स डिसेम्बर १५ देखि सञ्चालन गरेको थियो । ४२ दिनको एड्भान्स माउन्टेरिङ कोर्स तालिममा बेसिक माउन्टेरिङ कोर्स तालिम लिएका हिमाल क्षेत्रमा सक्रिय दुई महिला र २२ पुरुष गरी २४ जना सहभागी रहेको तालिम संयोजक लाम्बाबु शेर्पाले बताए । तालिमलाई १० जना प्रशिक्षकले काठमाडौं, हात्तीवन, नागार्जुन, लाङटाङ र ५७०० मिटरको याला पिकमा प्रशिक्षण दिँदै आएको छ ।
सहभागी प्रशिक्षकका लागि यो अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक बन्न आधार बन्नेछ । एनएमएका प्रशासकीय प्रमुख जिनेस सिन्दुराकारका अनुसार हालसम्म एनएमएले विभिन्न क्षेत्रका गरी दुई हजार एक सय १० जनालाई माउन्टेरिङसम्बन्धी तालिम दिइसकेको छ ।