क्यान मेलाको पाँचौ दिन
काठमाडौः भृकुटीमण्डपमा जारी २३औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१७ को आज पाँचौ तथा अन्तिम दिन हो । सोमबारसम्म मेलामा दुई लाख ५४ हजार तीन सय ८५ जनाले अवलोकन गरिसकेका छन् ।
सोमबार मात्र ४७ हजार तीन सय २७ जनाले क्यान इन्फोटेकको अवलोकन गरेको क्यान महासंघले जनाएको छ । मेलामा सोमबार परराष्ट्रमन्त्री प्रकाशशरण महत, जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीलगायतले क्यानको अवलोकन गरेका थिए ।
मेलामा इन्फोटेकको शीर्ष प्रायोजक सुबिसुले प्रदर्शनीमा ल्याएको इन्टरनेट र क्लियर टीभीको जम्बो अफर सार्वजनिक गरेको छ । त्यस्तै सह-प्रायोजक सामसुङले ६ जीबी र्याम भएको सी ९ प्रो, ग्यालेक्सी अन सेभेन प्रो र जे २ एस मोबाइल विशेष छुटका साथ प्रदर्शनीमा राखेको छ ।
कम्पनीले यी नयाँ स्मार्टफोनबाहेक जे फाइभ, जे सेभेनलगायतका मोडेलमा छुट दिइएको जनाएको छ । यसैगरी हुवावे र लेनोभोले स्मार्टफोनमा ४० प्रतिशतसम्म छुट दिइरहेका छन् । इन्फोटेकमा साओमी, इन्फोकस, जोप्पो, सोनी, ओप्पो, मेइजु, युनिकर्न, माइक्रोम्याक्स, लिएगोलगायतका स्मार्टफोन खरिदमा भारी छुट दिइएको छ ।
सोमबार क्यान महासंघले बिजनेस डे घोषणा गरेको थियो । यस अवसरमा बिजनेस हाउसले आफ्नो व्यापार प्रवद्र्धनका लागि विभिन्न डिलर तथा भेन्डरसँग प्रत्यक्ष डिल गर्ने अवसर पाएको क्यानले जनाएको छ । साथै क्यान महासंघको आयोजनामा दुईदिने आईसीटी सम्मेलन पनि सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको सम्मेलनमा यसपटक ‘दिगो विकासका लागि आईसीटी’ विषयमा विभिन्न व्यक्तिले कार्यपत्र प्रस्तुत गर्नुका साथै शिक्षाविद्, व्यवसायी र व्यवस्थापिकाका सांसदबीच प्यानल डिस्कसन भएको थियो ।