तत्काल राजदूत नियुक्त गर्न सरकारलाई निर्देशन
काठमाडौं : व्यवस्थापिका संसद्को अन्तराष्ट्रिय तथा श्रम समितिले विभिन्न १३ मुलुकमा तत्काल राजदूत नियुक्त गर्न सरकारलाई निर्देशन दिएको छ।
मंगलबार संसद् सचिवालय सिंहदरबारमा बसेको समितिको बैठकले राजदूत सँगै अवैतनिक वाणिज्यदूत नभएका देशमा नियुक्ति प्रक्रिया अगाडि निर्देशन दिएको हो । समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री महतले सक्दो चाँडो राजदूत नियुक्तिका लागि सिफारिस हुने आश्वासन दिएका छन्।
‘सरकार राजदूत नियुक्तिको तयारीमा छ’, मन्त्री महतले भने, ‘जुनसुकै समयमा राजदूत नियुक्तिको सिफारिस हुनसक्छ ।’ महतले राजदूत नियुक्तिमा भएको ढिलाइमा आफू पनि जिम्मेवार रहेको भने स्वीकार गरेका छन्।
‘नेपालसँग चीन रिसायो भन्नु गलत’
परराष्ट्र मन्त्री महतले छिमेकी भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध रहेको प्रष्ट पारेका छन् ।
‘हामी चीन र भारत कसैसँग पनि परस्त छैनौँ, हामी नेपाल परस्तमात्र छौँ,’ मन्त्री महतले भने, ‘हामीले चीनसँगको सम्बन्धलाई राम्रो बनाउन चाहेका छौँ, नेपालसँग चीन रिसायो भन्ने कुरा गलत हो ।’
बैठकमा राजदूत नियुक्तिमा ढिलाई भएको भन्दै सांसद चुडामणि जंगली, बलबहादुर केसी, श्याम श्रेष्ठले प्रश्न गरेका थिए ।