व्यक्तिगत स्वार्थलाई तिलाञ्जलि दिँदा लोडसेडिङ अन्त्य : मन्त्री शर्मा
काठमाडौं: ऊर्जामन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले आफूले व्यक्तिगत स्वार्थलाई तिलाञ्जलि दिएर काम गर्दा उज्यालो नेपाल अभियान सफल हुन लागेको बताएका छन्। काठमाडौंको बौद्धमा आयोजित तामाङ समुदायको सोनाम ल्होछारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
'मैले मन्त्रीको सपथ लिँदै गर्दा जनताको विश्वासप्रति घात नगर्ने अठोट गरेँ, जनताको स्वार्थमा काम गर्ने प्रतिज्ञा गरेँ, फलस्वरुप लोडसेडिङमुक्त नेपाल बनाउने अभियान सफलताको दिशामा अघि बढाउन सकियो।'
उनले भने, 'मैले व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर काम गरेको भए प्राधिकरणभित्रको अनियमितता रोक्न सक्दैनथेँ, दिनको १८ घण्टा लोडसेडिङ कायमै रहन्थ्यो।' उनले प्राधिकरणमा सुशासन कायम गरेर विद्युत्को कालाबजारी रोक्न खोज्दा कतिपयले भाँजो हाल्न खोजेको बताए।
उज्यालो नेपाल अभियान केवल बत्ती बाल्ने कार्यक्रम मात्र नभई राष्ट्रलाई समृद्ध बनाउने अभियान भएको उनको भनाइ छ। विद्युतीकरणको माध्यमबाट मात्र देशको औद्योगिकरण संभव हुने भन्दै मन्त्री शर्माले त्यसको लागि आम जनतालाई जलविद्युतमा सहभागी बनाउन लागिएको उल्लेख गरे।
नेपालको पानी जनताको लगानी कार्यक्रम अन्तरगत जलविद्युत आयोजनाहरुको इक्विटिमा नै जनताले शेयर हाल्न पाउने व्यवस्था गरिएको उनले जानकारी दिए। अठोट र संकल्प गर्यो भने असम्भव जस्तो लाग्ने कुरा पनि सम्भव बनाउन सकिन्छ भन्ने कुरा आफुले पुष्टि गर्ने कोशिस गरेको उनले बताए।
सोनाम ल्होछारको उपलक्षमा सवैलाई शुभकामना दिनुहुँदै मन्त्री शर्माले बौद्ध धर्म एउटा धर्म मात्र नभएर समानताको दर्शन भएको टिप्पणी गरे। सोनाम ल्होछार तामाङ संस्कृति मात्र नभएर नेपाली संस्कृति भएकोले यसको संरक्षणमा राज्य लागिपरेको उनको भनाइ थियो। मन्त्री शर्माले नयाँ संविधानमा यस्तो संस्कृतिको संरक्षणको लागि महत्वपूर्ण व्यवस्था गरिएको सन्दर्भ उल्लेख गरे।