प्रचण्डको दिमाग तात्दैमा धर्म निरपेक्षता किन ?
काठमाडौं : सर्वपक्षीय नागरिक दबाब समूहका संयोजक मोहनचन्द्र अधिकारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड'को दिमाग तात्दैमा हिन्दु राष्ट्र नेपाललाई धर्म निरपेक्ष बनाउन नमिल्ने बताएका छन्।
राष्ट्रिय एकता अभियानको दबाब समूहले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा अधिकारीले भने, ‘प्रचण्डको दिमागमा आउने बित्तिकै धर्म निरपेक्षता लाद्न पुग्नुपर्ने कारण के ?' अधिकारीले प्रजातान्त्रिक मुलुक नेपालमा विगतदेखि अझैसम्म ९४ प्रतिशत ओमकार परिवार रहेकोले अन्य राष्ट्र कुनै मुस्लिम कुनै क्रिश्चियन आदि हुन मिले नेपाल किन विश्वको एकमात्र हिन्दु राष्ट्र हुन सक्दैन ? भनी प्रश्न गरेका थिए।
विदेशीको इशारामा नेपालको राष्ट्रिय अखण्डता र हिन्दुत्वको अस्तित्वमा हस्तक्षेप भएको उनको भनाइ छ। ‘हिन्दु भएका नाताले हामीले हिन्दुत्वको रक्षा गर्नु दायित्व हो', उनले भने, 'नेपालमा अन्ततः हिन्दुत्व बाहेक केही पनि टिक्न सक्दैन।'
सिके राउतले अर्को राष्ट्र बनाउँछु भनिसके तर हामी यस्ता अनेक झमेलामा पर्न चाहेका छैनौं भन्दै उनले नेपालको नयाँ संविधानमा त्रुटी रहेको टिप्पणी गरे।
सञ्चारकर्मीले राजतन्त्र जोडिएको हिन्दु राष्ट्रको माग हो ? भनी गरेको प्रश्नमा उनले भने, ‘सर्वप्रथम देश जोगाउने कुरो हो, बेच्न लागिसके। देश हिन्दुत्व हुँदामात्र जोगिन्छ त्यसैले यो पहिलो माग हो। राजतन्त्र वा राजाको विषय जनताको कुरो हो।'
कम्युनिष्ट मान्छे धर्म बोक्ने कुरा कसरी आयो भन्ने प्रश्नमा भने, ‘जन्मजात म हिन्दु हुँ अनिमात्र कम्युनिष्ट।' अभियान अन्तर्गत समूहले राष्ट्र शान्ति विश्व कल्याणार्थ वैशाख १ गतेदेखि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विशाल कलश रथयात्राको आयोजना गर्ने भएको छ।
सम्मेलनमा समूहका महासचिव चक्रदेव जोशीले भने, ‘साधुसन्तलगायत जनसाधारण समेत सहभागी हुने गरी हरिद्धार, जमुना, कृष्णकाबेरी, ब्रम्हपुत्र र नेपालका सबै नदीनालाको जल संकलन गरी पशुपतिनाथमा जलाभिषेक गरी रुद्राभिषेक समेत गर्ने कार्यक्रम छ।'