विद्यार्थी भर्ना खोल्न अनेरास्ववियु र विद्यार्थी संघको आग्रह
काठमाडौः अनेरास्ववियु र नेपाल विद्यार्थी संघले नियमित विद्यार्थी भर्ना सुचारु गर्न त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसँग आग्रह गरेका छन् । दुई विद्यार्थी संगठनले संयुक्तरुपमा उपकुलपतिलाई ज्ञापनपत्र बुझाउदै प्रथम सेमेष्टरको नियमित भर्ना खोल्न आग्रह गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा सेमेष्टर प्रणाली अन्तर्गतको नियमित भर्ना खोली स्वबियु निर्बाचन सुनिश्चितता लागि त्रिबिका उपकुलपती, रेक्टर,रजिष्टारलाई २४ घण्टे अल्टिमेटम पत्र बुझाएको अनेरास्ववियु नेता माधव पन्तले जानकारी दिए ।
केन्द्रीय क्याम्पस कीर्तिपुरमा सेमेष्टर प्रणली अन्र्तगत नियमित विद्यार्थी भर्ना रोकेकोमा आपत्ति जनाउँदै तत्काल विद्यार्थी भर्ना खोल्न चेतावनी दिएका हुन् । भर्ना रोकेर विद्यार्थीको पढ्ने र मतदान गर्ने अधिकार वञ्चित गराएको भन्दै विद्यार्थी संगठनले आपत्ति जनाएका छन् ।
सेमेष्टर प्रणालीमै भर्ना गर्ने उद्देश्यले हजारौं विद्यार्थी भर्नाका लागि प्रतिक्षारत रहेको भन्दै विद्यार्थी संगठनहरुले शैक्षिक क्यालेन्डर निशर्त पालना गर्न आग्रह गरेका हुन् । भर्ना नखोले जस्तोसुकै आन्दोलन गर्ने अनेरास्ववियु र नेपाल विद्यार्थी संघले उद्घोष गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । तालिका सार्वजनिक गर्दै त्रिभुवन विश्वविद्यालयले विद्यार्थी भर्ना रोकेको हो ।