क्यान्सरको उपचार र ‘सेकाइ’
क्यान्सर के हो ?
सामान्यतः अनुशासनमा बस्ने शरीरका कोषहरू (cells)ले आफ्नो कर्तव्य बिर्सिन्छन् र एकाएक हतारहतार बढ्न थाल्छन्, बाँडिन थाल्छन् र त्यसले गर्दा शरीरमा समस्या आउँछ । यही अवस्था हो क्यान्सर । क्यान्सरको अर्को नराम्रो बानी एउटा ठाउँबाट अर्को ठाउँमा सर्ने हो । एउटा अंगमा उम्रेको क्यान्सर छेउकै अंग अथवा टाढाको अंगमा फैलियो भने त्यसलाई मेटास्टासिस (metastasis) भएको भनिन्छ ।
कुनकुन अंगमा हुन सक्छ क्यान्सर ?
क्यान्सर कुनै पनि अंगमा हुन सक्छ । पुरुषहरूमा फोक्सोको क्यान्सर, मुखको क्यान्सर धेरै भेटिन्छन् भने महिलाहरूमा पाठेघरको मुख ...(cervix)र स्तनको क्यान्सर ।
किन हुन्छ क्यान्सर ?
क्यान्सर किन हुन्छ ? को जवाफ त्यति सोझो छैन । केही क्यान्सर वंशाणुगत हुन्छन् भने फोक्सो, मुख आदिको क्यान्सरको धेरैजसो कारण चुरोट र खैनी हो । हामीले हेर्ने यस्ता क्यान्सरका बिरामीमध्ये ८० प्रतिशतभन्दा धेरैले चुरोट वा खैनी खाएका हुन्छन् । मैले क्यान्सरमात्र हेर्न थालेको पाँच वर्ष भयो ।
यो अवधिमा मैले चुरोट र खैनी नखाएर पनि फोक्सो र मुखको क्यान्सर भएका बिरामीहरूलाई औंलामा गन्न सक्छु । सोझै भन्नुपर्दा चुरोट वा खैनी नखाने मान्छेलाई फोक्सो वा मुखको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ । अन्य जोखिमहरू भनेको मोटो शरीर, वातावरणको प्रदूषण, खानामा प्रयोग हुने केमिकल र कीटनाशकहरू हुन् ।
क्यान्सरको उपचार
अपरेसनः काटेर फाल्न मिल्नेछ भने क्यान्सरको अपरेसन गरिन्छ । जहाँ रोग छ, त्यो भाग काटेर हटाउनु नै क्यान्सरको अपरेसन हो । तर धेरै पटक काटेर निकाल्नै नसकिने अवस्थामा क्यान्सर भेटिन्छ । टाउको र घाँटी, रगत वा अरू निकाल्नै नमिल्ने अंगमा क्यान्सर भएको छ भने पनि अपरेसन सम्भव नहुन सक्छ ।
किमोथेरापीः क्यान्सरको औषधिलाई किमोथेरापी भनिन्छ । आजकल सयौं प्रकारका किमोथेरापी बनेका छन् । केही क्यान्सर किमोथेरापीबाट सजिलै निको हुन्छन् भने केहीलाई किमोथेरापीले छुँदैन । हरेक किमोथेरापीका आ–आफ्नै राम्रा र नराम्रा असरहरू हुन्छन् । सामान्यतया ‘कपाल झर्छ’, ‘वाकवाक हुन्छ’ भनेर सोचिए पनि सबै किमोथेरापीले त्यस्तो गराउँदैनन् ।
रेडियोथेरापी भनेको रेडियसनहरुको प्रयोगले क्यान्सरको उपचार गरिने प्रविधिलाई भनिन्छ । नेपालीमा रेडियसनलाई विकिरण भनिन्छ ।
रेडियोथेरापीः रेडियोथेरापी भनेको रेडियसनको प्रयोगले क्यान्सरको उपचार गरिने प्रविधिलाई भनिन्छ । नेपालीमा रेडियसनलाई विकिरण भनिन्छ । सामान्य भाषामा भन्नुपर्दा, अलि बढी ताकतका एक्स–रे भनेर बुझ्दा पनि हुन्छ । रेडियोथेरापी गर्ने विभिन्न मेसिनहरू हुन्छन् र उपचार केही मिनेट प्रतिदिन, हप्तामा पाँच दिन गरेर, ६ हप्ता जति हुन्छ । खोइ किन हो, रेडियोथेरापीलाई हाम्रा बिरामीहरूले ‘सेकाइ गर्ने’ भन्नुहुन्छ ।
यो शब्द आफैंमा गलत छ, किनभने रेडियोथेरापी गर्दा पोल्दैन, न त दुख्छ, बिरामीले केही थाहा पाउँदैनन् । रेडियोथेरापी सुरु गरेको दुई÷चार हप्तामा कसैकसैको छाला अलि कालो हुन सक्छ । अरू प्रतिकूल असर के हुन्छन् भन्ने कुरा रेडियोथेरापी कुन अंगमा गरिँदैछ भन्नेमा भर पर्छ । धेरैजसो बिरामीहरूले रेडियोथेरापी सजिलै लिएको मैले पाएको छु ।
नेपालमा क्यान्सरको उपचार
नेपालमा क्यान्सरको अपरेसन धेरैवटा अस्पतालमा हुन्छ । किमोथेरापी पनि धेरैवटा अस्पतालमा लगाउन मिल्ने भएको छ । क्यान्सरको उपचारमा आजकल निकै प्रगति भएको क्षेत्र रेडियोथेरापी हो । नेपालमा नपुग्दो हुने गरी थोरै भएको पनि रेडियोथेरापी नै हो ! रेडियोथेरापी हुने नेपालमा जम्मा चारवटा अस्पताल छन् । सबैभन्दा पुरानो, वीर अस्पताल हो, त्यसपछि भक्तपुर क्यान्सर अस्पताल । भरतपुरस्थित क्यान्सर अस्पताल र मणिपाल कलेज पोखरामा पनि यो सेवा उपलब्ध छ ।
योबाहेक भक्तपुरमा निजी लगानीमा काठमाडौं क्यान्सर सेन्टर खुलेको छ, जसमा नयाँ प्रविधिको रेडियोथेरापी र किमोथेरापी गरिन्छ । हरिसिद्धिमा पनि नेपाल क्यान्सर अस्पताल खुलेको छ, जसमा क्यान्सरको सबै उपचार सम्भव छन् । म सम्बद्ध ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि क्यान्सरमा लगानी गर्ने बाटोमा अघि बढेको छ । अपरेसन र किमोथेरापी सेवा दिइरहेको यो अस्पतालमा रेडियोथेरापी पनि थपियो भने हामी पनि साँच्चिकै क्यान्सरको उपचार गर्न सक्षम अस्पताल हुनेछौं ।
भविष्य
क्यान्सरको उपचारको क्षेत्रमा हरेक दिन केही न केही नयाँ प्रविधि आइरहेका हुन्छन् । केही दशकअघि पार पाउन नसकिने भनिएको क्यान्सर बेलैमा भेटिए निको हुन थालेको छ । विश्वास के गर्न सकिन्छ भने वर्षहरू बित्दै जाँदा, नयाँ औषधि, नयाँ प्रविधि आउनेछन्, जसले गर्दा क्यान्सर पनि सजिलै निको हुने रोग हुनेछ र समाजमा रहेको यसप्रतिको नकारात्मक सोचाइ र बुझाइ कम हुँदै जानेछ ।
माथि उल्लेखितबाहेक नेपालमा अन्य नयाँ क्यान्सर अस्पताल खुल्ने तरखरमा छन् । टिचिङ अस्पतालले धेरै वर्ष भयो कोसिस गरिरहेको । निजामती अस्पतालमा पनि यो सेवा खुल्ने भन्ने छ । निजामती अस्पतालमै नेपालमा पहिलो पटक बोनम्यारो प्रत्यारोपण गरेर रक्त क्यान्सरको सफल उपचार पनि सुरु भएको छ । यसरी नै नयाँ सुविधा सम्पन्न क्यान्सर अस्पतालहरू नेपालका विभिन्न भागमा खुल्न थाले भने स्वदेशमै सजिलै उपचार सम्भव हुने आशा गर्न सकिन्छ ।
अन्त्यमा
. रेडियोथेरापी भनेको सेकाइ होइन ।
. जबसम्म हाम्रो देश र हामी क्यान्सरको उपचार सजिलै गर्न सक्ने गरी धनी हुँदैनौं, चुरोट नखाएकै बेस ।
लेखक ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा क्यान्सर विशेषज्ञ हुन् ।