शान्ति कायम गर्न जलस्रोत संरक्षण

शान्ति कायम गर्न जलस्रोत संरक्षण

मुम्बईः लामो समयदेखि विश्वभर जलस्रोतले महत्वपूर्ण स्रोतसाधन हो÷होइन भन्ने बहस हुँदै आएकोमा अब भने यसले प्रमुख स्रोतसाधनकै रुपमा मान्यता पाउन थालेको छ ।

यो विषयमा संयुक्त राष्ट्र संघमा समेत उठ्ने गरेको थियो । राष्ट्र संघका निवर्तमान महासचिव बान कि मुन र उनका पूर्ववर्ती कोफी अन्नानले दुई दशकयता प्राकृतिक स्रोतसाधन, खासगरी पानीको संरक्षण र बाँडफाँड नै शान्ति र सुरक्षामा महत्वपूर्ण रहेको धारणा राख्दै आएका थिए । तर अहिले भने यो बहस अझ व्यापक भएको छ । राष्ट्र संघको सुरक्षा परिषद्को अध्यक्षता गरेको अफ्रिकी राष्ट्र सेनेगलले पहिलोपटक जलस्रोत, शान्ति र सुरक्षा विषयमा परिषद्मा छलफल चलाएको छ ।

बहसमा ६९ देशका सरकारी प्रतिनिधि एउटै मञ्चमा उभिएर जलस्रोतलाई शान्ति र सहकार्यको साधनको रुपमा उपयोग गर्न आग्रह गरेको थियो । यही पृष्ठभूमिमा केही सातापछि नै महासचिव एन्तोनियो गुतेरेसले नाइजेरियाका पूर्ववातावरण मन्त्री अमिना मोहम्मदलाई उपमहासचिवको पदमा नियुक्त गरी नयाँ सन्देश दिएका छन् ।

जलस्रोतको रणनीतिक सान्दर्भिकताको बढ्दो मान्यताले विश्वव्यापी विकासक्रमलाई प्रतिबिम्बित गरेको छ । तीन वर्षयता, कट्टर धार्मिक अतिवादी समूह इस्लामिक स्टेट (आईएस)ले टाइग्रीस र युफ्रेटस नदीमा बनाइएका तब्का, तिसरीन, मोसुल, र फलुजा बाँध नियन्त्रणमा लिए । आईएसले ती सबै रणनीतिक महत्वका स्थानको नियन्त्रण गुमाउनुअघि सरकारमाथि दबाब दिन बाँधका तल्लो तटीय क्षेत्रलाई बाढीको चपेटामा पारेका थिए वा सुख्खाग्रस्त बनाएका थिए ।

अधिकांश विश्लेषकले केही महिनाभित्रै इराक र सिरियाबाट आइएस पराजित हुने अपेक्षा गरेका छन् । तर आईएस छिन्नभिन्न हुने सम्भावना न्यून छ र लिबिया तथा चाडको सीमावर्ती क्षेत्रमा यो केन्द्रित हुने सम्भावना धेरै छ । यसोभए पश्चिमी अफ्रिकी सहरहरू र जलस्रोतका प्रमुख पूर्वाधार जोखिममा पर्ने जोखिम धेरै छ ।

आईएसले मात्र यो रणनीति अपनाएको छैन । दक्षिण एसियाका अतिवादी समूहले पनि जलस्रोतका पूर्वाधारमाथि आक्रमण गर्ने धम्की दिइरहेका छन् । सरकारले पनि जलस्रोतलाई रणनीतिक लाभका लागि उपयोग गर्ने गरेका छन् ।

२० औं शताब्दीमा खनिजतेललाई बेवास्ता गरे झैं २१ औं शताब्दीमा जलस्रोतलाई बेवास्ता गर्न सकिँदैन । तैपनि कतिपय रणनीतिक विश्लेषक जलस्रोतजस्तो महत्वपूर्ण मुद्दामा खासै ध्यान दिइरहेका छैनन् । यथार्थ त के हो भने, खनिज तेलको विकल्पमा प्राकृतिक ग्यास, वायुशक्ति, सौर्यशक्ति र आणविक ऊर्जाजस्ता साधन आएका छन् । यसविपरीत, स्लोभेनियाका पूर्वराष्ट्रपति डानिलो टुर्कले भनेझैं उद्योग र कृषिमात्र होइन खानेपानी र सरसफाइका लागि ‘पानीको एकमात्र विकल्प पानी' नै हो ।

यो व्यापार व्यवसायमा पनि लागू हुन्छ । दक्षिण अमेरिकी राष्ट्र पनामाको चाग्रेस नदीलाई नै उदाहरणका रुपमा लिन सकिन्छ । चाग्रेसबारे धेरैलाई खासै जानकारी छैन, तर यो नदी निकै महत्वपूर्ण छ । किनभने यसैले पनामा नहरमा पानीको अटुट प्रवाह गर्दछ र यो नहरमार्फत् एसिया र अमेरिकी देशबीच हुने व्यापारको करिब ५० प्रतिशत कारोबार हुन्छ ।

आगामी सय वर्षसम्म यो नहरमा पानीको बहावमा कुनै कमी नआउने देखिएको छ । तर मध्यअमेरिकामा असुरक्षा उत्पन्न भयो भने यसमा संकट आउने अवश्यम्भावी छ । यस्तो भए यसको प्रभाव विश्वव्यापी अर्थतन्त्रमा पर्नेछ ।

द्वन्द्वग्रस्त क्षेत्रमा जलस्रोत र यसमा जोडिएका जलाधारको सुरक्षाप्रति सामूहिक चासो रहेको स्पष्ट भइसकेको छ । साथै सुरक्षा चासो कसरी सम्बोधन गर्ने त्यतिकै अस्पष्टता छ । औषधि र खाद्यान्नजसरी द्वन्द्वग्रस्त क्षेत्रमा पानी वितरण गर्न सकिन्न ।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिका प्राविधिकले इराक, सिरिया र युक्रेनजस्ता राष्ट्रमा खानेपानीका पाइप र भण्डारमा भएका क्षतिको निरन्तर जाँच र मर्मत गरिरहेका हुन्छन् । तर यस्ता द्वन्द्वग्रस्त देशका सरकार र विद्रोहीबीच उनीहरूले मध्यस्थता पनि गर्नु पर्छ, जुन निकै कठिन र झन्झटिलो हुने गर्छ । खानेपानी प्रणालीको पुनस्र्थापना र मर्मतसम्भारको राम्रो उपाय आवश्यक अधिकारप्राप्त टोली यस्ता क्षेत्रमा लैजाने अनुमति दुवै पक्षबाट लिनु हो ।

तर यो उपायका लागि मार्गप्रशस्त गर्न राष्ट्र संघीय सुरक्षा परिषद्ले जलस्रोतलाई मानवीय रणनीतिक स्रोतका रुपमा घोषणा गर्नुपर्छ र खानेपानीका स्रोत तथा पूर्वाधारको सुरक्षाका लागि प्रस्ताव २२८६ झैँ नयाँ प्रस्ताव नै पारित गर्नु अत्यावश्यक हुन्छ । सुरक्षा परिषद्ले गत मेमा सशस्त्र द्वन्द्वमा चिकित्सा उपचारका पूर्वाधार सुरक्षासम्बन्धी प्रस्ताव २२८६ पारित गरेको थियो ।

दीर्घकालीन रुपमा एकभन्दा बढी देश समेट्ने जलस्रोत प्रणालीको सुरक्षा र संरक्षणका लागि क्षेत्रीय सुरक्षा व्यवस्था स्थापित गर्नु आवश्यक हुन्छ । सामूहिक संरक्षणका आधारमा सहकार्ययुक्त व्यवस्थापनबाट नै कहिलेकाहीं प्रतिस्पर्धा र द्वन्द्वको स्रोत बन्न जाने जलस्रोत शान्ति र सहकार्यको सहजकर्ताका रुपमा अगाडि आउनेछ ।

गणतन्त्र कंगोका राष्ट्रपति डेनिस सासो-नुगुसो अहिले यस्तै अभियानमा लागेका छन् । उनी कंगोको जलाधार क्षेत्रको विकास र संरक्षणमा समर्पित हुनेगरी ‘ब्ल्यू फन्ड' स्थापना गर्नेतर्फ आठ देशका सरकारको समूह गठन गर्न सक्रिय छन् ।

उनको प्रयास सफल भए अस्थिरताको जगमा उभिएको त्यस क्षेत्रमा कोषको रकम जलवायु परिवर्तनबाट उत्पन्न समस्या समाधान गर्न, नदीमा आधारित रोजगारीको सम्भावना पहिल्याउन र जलाधार क्षेत्रको सामूहिक सुरक्षामा खर्च गरिनेछ । दुई महिना अघिमात्र माराकासमा सम्पन्न अफ्रिकी शिखर सम्मेलनमा अफ्रिकी महादेशको रुपान्तरणका लागि सुझाइएका चार प्रमुख धारणामध्ये कोष स्थापना एउटा प्रमुख साधनको रुपमा स्वीकारिएको थियो ।

विश्व जलस्रोत दिवसका अवसरमा गत मार्च महिनामा जोर्डनका राजकुमार हसन बीन तलाल र मैले विश्वका साझा नदीको जलाधार क्षेत्रका लागि मार्सल कोष स्थापना गर्न आह्वान गरेका थियौं । कंगो जलाधार क्षेत्रका लागि ब्ल्यू फन्ड त्यही दिशातर्फको एउटा कदम हो ।

अहिले विश्वका २ सय ६३ वटा साझा नदी जलाधार तथा ताल संरक्षणका लागि त्यस्तै कोष तत्काल आवश्यक भइसकेको छ । यो निकै ठूलो चुनौती हो, तर जलस्रोतका कारण सिर्जना हुनसक्ने द्वन्द्वलाई समयमै सम्बोधन गरी शान्ति कायम गर्न यसमा लगानी बढाउनुको विकल्प छैन । —रासस (वासलेकर स्ट्राटेजिक फोरसाइट ग्रुपका अध्यक्ष हुन् ।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.