धूमधामसाथ सरस्वती पूजा

धूमधामसाथ सरस्वती पूजा

जनकपुरधामः श्रीपञ्चमीका अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना धूमधामसाथ गरिएको छ । जनकपुरसहित मिथिलाञ्चलमा सरस्वती पूजा गरिएको हो । जनकपुरमा सरस्वती पूजा मनोरम रूपले मनाउने गरिन्छ ।

यहाँ राम चोक, महावीर चोक, रामानन्द चोक, मुरली चोकसहित सरकारी तथा निजी विद्यालयहरूमा विद्याकी देवी सरस्वतीको माटोको प्रतिमा स्थापना गरी धूमधामसँग पूजा गरिन्छ । विद्यार्थी बिहानैदेखि पूजापाठमा लाग्ने गर्छन् ।

पूजाको तयारीस्वरूप विद्यार्थी एक महिना अघिदेखि चन्दा उठाउने र समूह बनाएर रकम जम्मा गर्ने गर्छन् । त्यो पैसाले माटोको प्रतिमा किन्ने गर्छन् । प्रतिमा पनि हरेक वर्ष भव्य बनाउने गरिन्छ । स्थानीय कुम्हालेहरू एक महिना पहिलादेखि नै सरस्वतीको प्रतिमा बनाउन व्यस्त हुन्छन् ।

जनकपुरको कुम्भकार कुटीबाट हरेक वर्षझैं यस वर्ष पनि लाखौंको सरस्वती प्रतिमा बिक्री गरिएको छ । यस वर्ष सरस्वती माताको माटोको प्रतिमा पाँच हजार देखि ७५ हजार रुपैयाँसम्ममा बिक्री गरिएको कुम्हालेहरूले बताए ।

पछिल्लो समय सरस्वती पूजामा डीजे बजाएर होहल्ला गर्ने, भड्किला गीतहरू बजाएर अशान्ति फैलाउने गुनासा बढेपछि यस वर्ष स्थानीय प्रशासले पूजाका नाममा उद्दण्डता फैलाउने काम गरेमा कारबाही गर्ने चेतावनी दिएको थियो ।

प्रशासनको कडाइपछि केही हदसम्म भड्किलो क्रियाकलापमा कमी आएको छ । सरस्वती पूजाका अवसरमा विद्यालयहरूमा सांस्कृतिक कार्यक्रम आयोजना गर्नुका साथै प्रतिमा राखेर बनाइएका पण्डालहरूमा समेत विद्यार्थीले नाचगान तथा सांस्कृतिक कार्यक्रम गरेका छन् ।

सरस्वती पूजाको अर्थ विद्या आर्जनमा मन लगाउनु भए पनि पछिल्लो समयमा यसलाई फेसन सोका रूपमा विद्यार्थीले लिन थालेका छन् । यसमा युवा समूहले बढीभन्दा बढी अभद्रता प्रस्तुत गरेर यसको मान्यता नै परिवर्तन गरिदिएकोप्रति साहित्यकार डा. राजेन्द्र विमल आपत्ति व्यक्त गर्छन् । अभिभावकले आआफ्ना बालबालिकालाई यसको महत्व बुझाएर सात्विकताको पाठ सिकाउनुपर्ने विमलको भनाइ छ ।

सरस्वती पूजाकै अवसरमा देशैभरका विद्यालयमा पूजापाठ गरिएको छ । बुधबार काठमाडौं, भक्तपुर, ललितपुरलगायत देशैभरका शैक्षिक प्रतिष्ठानमा विद्यार्थी पुगेर विद्याकी देवी सरस्वतीको पूजाआजा गरेका थिए । विद्यार्थीले आजको दिनलाई विशेष रूपमा मनाउने गर्छन् । सरस्वती पूजा अर्थात् श्रीपञ्चमीका अवसरमा ससाना बालबालिकालाई अक्षरारम्भ गराउने चलन छ ।

आजको दिन अक्षरारम्भ गराए शैक्षिक पाइलामा उत्तम हुने मान्यता छ । यही अवसरलाई विद्यालयहरूले पनि बालबालिका भर्नामा विशेष छुटको सूचना टाँसेर विद्यार्थी भर्ना अभियानलाई तीव्र पारेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.