एनसीसीको वार्षिक ब्याज ६.५ प्रतिशत
काठमाडौः नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘एनसीसी उत्सव बचत खाता' सञ्चालनमा ल्याएको छ ।
वार्षिक ६.५ ब्याज दिने गरी ल्याएको यस बचत खातामा डेबिट कार्ड निःशुल्क प्रदान गरिनुका साथै बैंकको ९६ वटै शाखाबाट निःशुल्क अन्तर शाखा कारोबार पनि गर्न सकिनेछ । साथै निक्षेपकर्ताको १० हजारसम्मको निःशुल्क औषधोपचार बिमा पनि गरिनेछ ।
बचत खातामा ब्याजदर बढ्न नसकेको भन्ने गुनासो आइरहेका बेला बैंकले बचत खातामा ६.५ प्रतिशत ब्याजदर प्रदान गरेर बचतकर्तालाई बचत गर्न अझ बढी अभिपे्ररित गरेको छ । साथै, यस बैंकले एक सय २० दिनको मुद्दती खाता खोल्ने ग्राहकलाई वार्षिक १२ प्रतिशत ब्याज दिने गरी नयाँ मुद्दती खाता पनि सञ्चालनमा ल्याएको जनाएको छ ।
२०७३ पुस १७ गतेदेखि बैंकमा अन्य चारवटा राष्ट्रियस्तरका विकास बैंक (इन्फ्रास्ट्रक्चर, एपेक्स, सुप्रिम र इन्टरनेसनल डेभलपमेन्ट बैंक) गाभिइ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ९६ वटा शाखा सञ्जाल तथा ६१ वटा एटीएमबाट यस बैंकले बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।